+
+
Shares

पाँचथरमा ५ वर्षमा बाढीपहिरोले ४८ जनाको मृत्यु, ९ बेपत्ता

जलवायु परिवर्तनसँगै वर्षा हुने ढाँचा फेरिँदै जाँदा पाँचथरमा बाढी–पहिरोबाट हुने क्षति जारी छ । तर जोखिम न्यूनीकरणका दीर्घकालीन पूर्वतयारी र पूर्वाधार निर्माण अझै पर्याप्त हुन सकेको छैन ।

गिरिराज बाँस्कोटा गिरिराज बाँस्कोटा
२०८३ साउन १२ गते ११:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाँचथरमा बर्खासँगै आएको बाढी र पहिरोले फालेलुङ र याङवरक गाउँपालिकामा चार परिवार विस्थापित भएका छन् भने सिंगो बस्ती जोखिममा परेको छ ।
  • पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिश कर्णले भन्नुभयो, ‘विस्थापित परिवारलाई विद्यालयमा सुरक्षित राखिएको छ र धेरै ठाउँमा जमिन भासिएको छ ।’
  • जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा बाढी र पहिरोमा परी ४८ जनाको मृत्यु भएको छ भने ८८९ परिवार प्रभावित भएका छन् ।

१२ साउन, पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरमा बर्खा लागेसँगै बाढी र पहिरोको त्रास दोहोरिन थालेको छ । वर्षा हुने ढाँचा बदलिँदै जाँदा मानवीय क्षतिसँगै सडक, पुल, खेतीयोग्य जमिन र पशुपालनमा समेत ठूलो असर परिरहेको छ ।

यस वर्ष पनि फालेलुङ र याङवरक गाउँपालिका सबैभन्दा बढी प्रभावित बनेका छन् । फालेलुङ गाउँपालिका–५ लुङ्मादिनमा गएको पहिरोका कारण चार परिवार विस्थापित भएका छन् भने सिंगो बस्ती नै जोखिममा परेको स्थानीय बताउँछन् ।

‘विस्थापित परिवारलाई विद्यालयमा सुरक्षित राखिएको छ । धेरै ठाउँमा जमिन भासिएको छ,’ पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिश कर्णले अनलाइनखबरसँग भने ।

पाँच वर्षमा ४८ जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय पाँचथरको तथ्यांकअनुसार पछिल्ला पाँच आर्थिक वर्षमा बाढी–पहिरोका कारण ४८ जनाले ज्यान गुमाएका छन् भने ९ जना अझै बेपत्ता छन् ।

सबैभन्दा ठूलो क्षति आर्थिक वर्ष २०७८/७९ मा भएको थियो । त्यस वर्ष मात्रै ३५ जनाको मृत्यु भएको थियो । विशेषगरी मिक्लाजुङ गाउँपालिका सबैभन्दा बढी प्रभावित बनेको थियो । सोही वर्ष तीन परिवार विस्थापित भएका थिए भने १५ जना घाइते भएका थिए ।

त्यसपछि आर्थिक वर्ष २०७९/८० मा तीन, २०८१/८२ मा आठ र २०८२/८३ मा दुई जनाको मृत्यु भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

मानवीय क्षतिसँगै पाँच वर्षमा ८८९ परिवार बाढी–पहिरोबाट प्रभावित भएका छन् । तीमध्ये ३७६ परिवार विस्थापित भएका छन् ।

सडक र पुल बारम्बार बग्दै, खेती र पशुपालनमा पनि ठूलो असर

बाढी–पहिरोले खेतीयोग्य जमिन, अलैँची बारी तथा पशुपालन क्षेत्रमा पनि वर्षेनि क्षति पुर्‍याइरहेको छ ।

पाँचथरको फालेलुङ–५ लुङ्मादिनमा आइतबार गएको पहिरो

कृषि ज्ञान केन्द्र पाँचथरका सूचना अधिकारी केशरबहादुर मरातीका अनुसार पछिल्ला वर्षहरूमा विशेषगरी खेतबारी र अलैँची खेतीमा बढी क्षति पुगेको छ ।

उनका अनुसार पछिल्ला पाँच वर्षमा बाढी–पहिरोका कारण दुई हजार ३९८ पशुचौपाया मरेका छन् ।

बाढी–पहिरोले जिल्लाको भौतिक पूर्वाधारलाई पनि निरन्तर क्षति पुर्‍याइरहेको छ ।

२०८१ सालमा हेवाखोलामा रहेको मेची राजमार्गको मोटरेबल पुल बाढीले बगाएको थियो । त्यसपछि निर्माण गरिएको बेलिब्रिज पनि २०८२ सालमा पुन: बाढीले बगाएपछि अहिले त्यहाँ मोडुलर पुल जडान गरिएको छ ।

मेची राजमार्गका विभिन्न खण्डमा पटक–पटक क्षति पुगेको छ भने पाँच वर्षमा मोटरेबल र झोलुङ्गे गरी ३४ वटा पुलमा क्षति पुगेको तथ्यांक छ । हेवाखोलाका अधिकांश मोटरेबल पुल बाढीले बगाएको छ । यस्तै, पुष्पलाल मध्यपहाडी लोकमार्गका विभिन्न स्थानका पुलहरू पनि बाढीको चपेटामा परेका छन् ।

जलवायु परिवर्तनसँगै वर्षा हुने ढाँचा फेरिँदै जाँदा पाँचथरमा बाढी–पहिरोको क्षति जारी छ । तर जोखिम न्यूनीकरणका दीर्घकालीन पूर्वतयारी र पूर्वाधार निर्माण अझै पर्याप्त हुन सकेको छैन ।

लेखक
गिरिराज बाँस्कोटा

बाँस्कोटा अनलाइनखबरका पाँचथर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?