News Summary
Generated by OK AI. Editorially reviewed.- राप्रपाले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीमाथि कडा कारबाही र पीडितलाई राहत प्रदान गर्न माग गरेको छ।
- अध्यक्ष राजेन्द्र लिङ्देनले प्रेस विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई क्षतिपूर्ति तथा घाइतेको निःशुल्क उपचार गर्न सरकारसँग जोडदार माग गरेका छन्।
- राप्रपाले तराई–मधेस क्षेत्रमा बढ्दो साम्प्रदायिक विवाद रोक्न र घटनाको छानबिन गर्न सर्वपक्षीय समिति गठन गरेर दीर्घकालीन समाधान खोज्न सरकारलाई आग्रह गरेको छ।
१२ साउन, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा हालै भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीमाथि कडा कारबाही र पीडितलाई राहतको माग गरेको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनामा एक युवाको मृत्यु भएको र केही व्यक्ति घाइते भएकोमा दु:ख व्यक्त गरेका छन्।
उनले मृतकका परिवारलाई राहत, क्षतिपूर्ति र न्याय दिलाउन तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
राप्रपाले घटनाको सत्यतथ्य, निष्पक्ष, स्वतन्त्र र पारदर्शी रूपमा छानबिन गरी हिंसा भड्काउने, हत्या, आगजनी वा सामाजिक सद्भाव बिथोल्ने जो-कोहीलाई पनि कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने स्पष्ट पारेको छ।
दण्डहीनताको संस्कृतिले यस्ता घटनालाई थप प्रोत्साहन गर्ने भएकाले दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने अध्यक्ष लिङ्देनले उल्लेख गरेका छन्। विशेषगरी तराई–मधेस क्षेत्रमा चाडपर्व वा धार्मिक अवसरका बेला बारम्बार तनाव र साम्प्रदायिक विवाद उत्पन्न हुने गरेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
धार्मिक संवेदनशीलतामाथि भइरहेको प्रहार, सुरक्षा व्यवस्थाको कमजोरी र प्रशासनिक उत्तरदायित्वको गहिरो अध्ययन गरी दीर्घकालीन समाधान खोज्न राप्रपाले सरकारसँग आग्रह गरेको छ।
यस्ता घटना सधैँका लागि अन्त्य गर्न सर्वपक्षीय समिति बनाएर तत्काल संवाद थाल्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिने सुनिश्चितता प्रदान गर्न सरकारसँग माग गरिएको छ।
प्रतिक्रिया 4