News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल विद्युत् प्राधिकरणले साउन १ गतेपछिको विद्युत् उपभोगमा मात्र ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने निर्णय गरेको छ ।
- असार मसान्तसम्मको विद्युत् खपतमा भ्याट नलाग्ने र यसअघि असुल गरिएको भ्याट रकम भदौ महिनाको बिलमा समायोजन गरिने प्राधिकरणले जनाएको छ ।
- मिटर रिडिङको प्राविधिक समस्याका कारण असार र साउनको विद्युत् खपत छुट्याउने विषयमा प्राधिकरणले आन्तरिक छलफल गरिरहेको छ ।
१२ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले साउन १ गतेदेखि भएको विद्युत् उपभोगमा मात्रै ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने स्पष्ट पारेको छ । यसको अर्थ साउन महिनामा खपत भएको विद्युत् महसुल तिर्दा भदौमा मात्रै उपभोक्ताले भ्याट तिर्नुपर्नेछ ।
यसअघि प्राधिकरणले असारमा खपत भएको विद्युतको बिल साउनमा जारी गर्दा पनि भ्याट असुल्न थालेपछि चौतर्फी विरोध भएको थियो । त्यसपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निर्देशनमा प्राधिकरणले आन्तरिक राजस्व विभागसँग कानुनी व्याख्या मागेको थियो ।
राजस्व विभागले साउन १ गतेदेखि भएको विद्युत् उपभोगमा मात्रै भ्याट लाग्ने स्पष्ट गरेपछि प्राधिकरणले पनि सोहीअनुसार कार्यान्वयन गर्ने जनाएको हो । यसअघि भ्याट तिरिसकेका उपभोक्ताको रकम भने भदौ महिनाको बिलमा समायोजन गरिने प्राधिकरणले जनाएको छ ।
तर, विभागको स्पष्टीकरणपछि अर्को व्यवहारिक समस्या भने देखिएको छ । प्राधिकरणले प्रत्येक महिनाको विद्युत् खपतको मिटर रिडिङ अर्को महिनाको पहिलो सातातिर गर्ने भएकाले असार र साउनको खपत छुट्याउने आधार तत्काल उपलब्ध छैन ।
अर्थात्, साउनमा मिटर रिडिङ गर्दा त्यसमा असार महिनाको अन्तिम दिनसम्मको खपत र साउन १ गतेपछि मिटर रिडिङ हुने दिनसम्मको खपत मिसिएको हुन्छ । हालको बिलिङ प्रणालीले यी दुई अवधिको विद्युत खपत स्वतः छुट्याउने व्यवस्था नगरेकाले असारमा कति र साउनमा कति विद्युत् खपत भयो भन्ने निर्धारण गर्न समस्या देखिएको हो ।
असार र साउनमा मिटर रिडिङ गर्दासम्मको खपत छुट्याउन नसकिने हुँदा रिडिङ गर्दासम्मको युनिटलाई असारकै मान्ने वा के गर्ने भन्ने विषयमा भने प्राधिकरण नै अन्यौलमा देखिएको छ ।
प्राधिकरणका एक अधिकारीका अनुसार यही विषयमा अहिले आन्तरिक छलफल भइरहेको छ । ‘रिडिङको हिसाबले समस्या देखिएको छ । एउटै रिडिङमा असार र साउन दुवै महिनाको खपत समेटिन्छ । अहिलेको प्रणालीले असार र साउनको खपत छुट्टाछुट्टै निकाल्ने सुविधा दिँदैन । त्यसैले यसलाई व्यवहारिक रूपमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ ती अधिकारीले भने ।
उनका अनुसार असार महिनाको खपतमा भ्याट नलाग्ने विषय स्पष्ट भइसकेको छ । अब साउन १ गतेपछि भएको वास्तविक विद्युत उपभोगमा मात्रै भ्याट लागु हुने व्यवस्था मिलाइनेछ ।
सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ५० युनिटभन्दा बढी विद्युत् उपभोग गर्ने उपभोक्ताको महसुलमा ५ प्रतिशत भ्याट लगाउने व्यवस्था गरेको थियो । आर्थिक विधेयकले पनि साउन १ गतेदेखि मात्रै उक्त व्यवस्था लागु हुने स्पष्ट गरेको छ । तर, प्राधिकरणले असारमा खपत भएको विद्युतमा समेत भ्याट समावेश गरेपछि विवाद उत्पन्न भएको थियो ।
विरोध बढेपछि ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले कर कार्यान्वयनका क्रममा उपभोक्तामाथि अतिरिक्त आर्थिक भार पर्न नहुने भन्दै कानुनी र व्यवहारिक दुवै पक्ष स्पष्ट गरी समाधान गर्न निर्देशन दिएका थिए ।
सोही निर्देशनअनुसार प्राधिकरणले आन्तरिक राजस्व विभागसँग असार महिनामा खपत भएको विद्युतको बिल साउनमा जारी हुँदा भ्याट लाग्ने वा नलाग्ने विषयमा औपचारिक राय मागेको थियो । साथै, न्यूनतम चार्ज तथा डिमान्ड चार्जमा पनि भ्याट लाग्ने वा नलाग्नेबारे स्पष्ट धारणा मागिएको थियो ।
विभागले दिएको रायअनुसार २०८३ असार ३२ गतेसम्मको विद्युत खपतको बिल साउन वा त्यसपछि जारी भए पनि उक्त अवधिसम्मको खपतमा भ्याट लाग्ने छैन । यसअघि असुल गरिएको भ्याटलाई अग्रिम भुक्तानी मानी भदौ महिनाको बिलमा समायोजन गरिनेछ ।
यस्तै, प्राधिकरणले स्वीकृत महसुल दर (ट्यारिफ) अनुसार लिने न्यूनतम चार्ज र डिमान्ड चार्ज पनि विद्युत् सेवा वापतकै शुल्क भएकाले साउन १ गतेदेखि भएको विद्युत उपभोगमा ती शुल्कमा समेत ५ प्रतिशत भ्याट लाग्ने विभागले स्पष्ट पारेको छ ।
प्रतिक्रिया 4