News Summary
Generated by OK AI. Editorially reviewed.- वीरगञ्जको नारायणी अस्पतालमा कुटपिटमा परेका डा. प्रमोद रामको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ र उहाँको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको छ ।
- डा. रामको टाउकोमा चोट लागेकाले चिकित्सकहरूले उहाँलाई विशेष निगरानीमा राखेर उपचार गरिरहेका छन् ।
- नारायणी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोध गर्दै चिकित्सकहरू दोषीमाथि कारबाही र सुरक्षाको माग गर्दै आन्दोलित भएका छन् ।
१२ साउन, काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा कुटपिटमा परेका चिकित्सक डा. प्रमोद रामको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था अहिले स्थिर रहे पनि पूर्ण रूपमा सामान्य भने भइसकेको छैन ।
ट्रमा सेन्टरका एक उच्च अधिकारीले दिएको जानकारीअनुसार डा. रामको टाउकोमा चोट लागेको छ । उनको सीटी स्क्यान गरिएको छ भने टाउकोको चोटकोलाई ध्यानमा राख्दै चिकित्सकहरूले विशेष निगरानीमा राखेर उपचार गरिरहेका छन् ।
उपचारमा संलग्न एक चिकित्सकले भने, ‘उहाँको अवस्था अहिले स्थिर छ । अत्यधिक आत्तिनुपर्ने अवस्था छैन, तर पूर्ण रूपमा सामान्य पनि भन्न मिल्दैन । टाउकोमा चोट भएकाले केही समय निगरानीमा राखेर उपचार गरिरहेका छौं ।’
ती चिकित्सकका अनुसार टाउकोको चोटका कारण बिरामीको अवस्था समयअनुसार परिवर्तन हुन सक्ने भएकाले चिकित्सकीय सतर्कता अपनाइएको छ । यसबारे विस्तृत स्वास्थ्य विवरण सार्वजनिक नगर्न अस्पताल प्रशासनबाट निर्देशन रहेकाले थप जानकारी खुलाइएको छैन ।
गत शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पतालमा तोडफोड गर्नुका साथै ड्युटीमा रहेका डा. राममाथि कुटपिट गरेका थिए । घटनामा घाइते भएका उनलाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको हो ।
उक्त घटनापछि नारायणी अस्पतालका चिकित्सकहरूले अस्पतालभित्र आफूहरू असुरक्षित भएको भन्दै आकस्मिक कक्ष बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।
उनीहरूले दोषीमाथि तत्काल कानुनी कारबाही, स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्नुपर्ने तथा अस्पतालमा शान्तिपूर्ण उपचारको वातावरण कायम गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिक्रिया 4