१२ साउन, विराटनगर । दुई समुदायबीचको विवादले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका ९ स्थानीय तहमा कर्फ्यू जारी गरेको छ ।
इटहरी उपमहानगरपालिका वडा नं. १६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका वडा नं. १ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, इनरुवा नगरपालिका, दुहबी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, देवानगञ्ज गाउँपालिका, हरिनगर गाउँपालिका तथा बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा कर्फ्यू जारी गरेको हो ।
मंगलबार बेलुका ९ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि जिल्ला सुरक्षा समितिको बैठकको निर्णयपछि प्रमुख जिल्ला अधिकारी इन्द्रदेवप्रसाद अर्यालले कर्फ्यू आदेश जारी गरेका हुन् ।
प्रशासनका अनुसार कर्फ्यू अवधिभर तोकिएका क्षेत्रमा कुनै पनि व्यक्तिको आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्ना लगायतका गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ ।
आदेश उल्लंघन गर्ने व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही हुने भनिएको छ ।
प्रतिक्रिया 4