+
+
Shares

सर्वदलीय बैठकमा प्रचण्ड : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते ९:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनसरीको तनाव समाधानका लागि प्रधानमन्त्रीलाई तत्काल सर्वदलीय संवाद र सहमतिको पहल गर्न आग्रह गर्नुभएको छ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीको सर्वदलीय बैठकमा प्रचण्डले राष्ट्रिय संवेदनशीलताका विषयमा सरकार अझ जिम्मेवार, सक्रिय र प्रभावकारी बन्नुपर्ने धारणा राख्नुभयो।
  • प्रचण्डले बल प्रयोग समस्याको दीर्घकालीन समाधान नहुने भन्दै संवाद र सहमतिको माध्यमबाट सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई आह्वान गर्नुभयो।

१३ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा देखिएको तनाव समाधानका लागि प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुधबार बोलाएको सर्वदलीय बैठकमा बोल्दै प्रचण्डले संवेदनशील अवस्थामा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्नुपर्ने बताए ।

उनको सचिवालयका अनुसार प्रचण्डले बैठक आयोजना गरेकोमा रास्वपा सभापति लामिछानेलाई धन्यवादसमेत दिएका छन्।

‘विगतमा भूकम्प, बाढी-पहिरोजस्ता विपद्का बेला होस् वा संविधान निर्माणजस्तो जटिल प्रक्रियामा, हामीले साझा सहमति र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेका थियौँ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै सचिवालयले भनेको छ, ‘आज पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारी आवश्यक छ।’

उनले राष्ट्रिय महत्त्वका संवेदनशील विषयमा रास्वपा नेतृत्वको सरकार साझा समाधानतर्फ अग्रसर हुन नसकेको भन्दै प्रश्न उठाए। सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील हुनुपर्ने उनको भनाइ थियो।

प्रचण्डले संसद्‌मा सरकारको प्रस्तुति पनि अपेक्षाअनुसार प्रभावकारी नदेखिएको बताएका छन्।

‘बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन सक्दैन,’ उनले भने, ‘संवाद, सहमति र राजनीतिक समझदारीमार्फत नै परिस्थितिलाई सहज बनाउन सकिन्छ।’

उनले आफ्नो पार्टीले सुनसरी घटनाबारे आधिकारिक धारणा सार्वजनिक गरिसकेको र स्थानीय तहमा संयमता तथा सामाजिक सद्भाव कायम राख्न पार्टी पंक्तिलाई आन्तरिक निर्देशनसमेत दिएको जानकारी गराए।

घटनास्थलमा स्थानीय व्यक्तिसँगै बाहिरबाट वातावरण भड्काउन खोज्ने तत्त्वसमेत सक्रिय हुन सक्ने भएकाले सबै पक्ष उच्च सतर्क रहनुपर्ने प्रचण्डको भनाइ छ।

‘यो राजनीतिक तिक्तता बढाउने समय होइन, राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय हो,’ उनले भने, ‘घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्छ।’

प्रचण्डले सरकार, राजनीतिक दल र सरोकारवाला पक्षलाई सामाजिक सद्भाव, शान्ति र आपसी विश्वासलाई केन्द्रमा राखेर एकजुट रूपमा अगाडि बढ्न आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?