News Summary
Generated by OK AI. Editorially reviewed.- थापाथलीमा तारको गुजुल्टोमा आगलागी भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले बुधबार बिहान घटनास्थलको स्थलगत निरीक्षण गर्नुभयो ।
- मन्त्री श्रेष्ठले जोखिमपूर्ण तारको तत्काल व्यवस्थापन गर्न र दीर्घकालीन रूपमा समस्या समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।
- नागरिकको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै राजधानीका विभिन्न स्थानमा अव्यवस्थित तार व्यवस्थापनको अभियानलाई थप तीव्रता दिइने मन्त्री श्रेष्ठले बताउनुभयो ।
१३ साउन, काठमाडौं । थापाथली क्षेत्रमा अव्यवस्थित रूपमा गुजुल्टिएर रहेका विद्युत् तथा दूरसञ्चारका तारमा मंगलबार राति आगलागी भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले तत्काल समाधानका लागि सम्बन्धित निकायसँग समन्वय सुरु गरेका छन् ।
आगलागीका कारण स्थानीय बासिन्दाको सुरक्षा र जनधनमा पर्न सक्ने जोखिमलाई दृष्टिगत गर्दै मन्त्री श्रेष्ठ बुधबार बिहान घटनास्थल पुगेर स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा उनले यस्ता अव्यवस्थित तारले जुनसुकै बेला ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले समस्या समाधानमा ढिलाइ गर्न नहुने बताए ।
नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक संस्था, काठमाडौं महानगरपालिका तथा अन्य सम्बन्धित निकायबीच आवश्यक समन्वय अघि बढाइएको छ । मन्त्री श्रेष्ठले सम्बन्धित निकायलाई जोखिमपूर्ण अवस्थामा रहेका तारहरूको तत्काल व्यवस्थापन गर्न र दीर्घकालीन रूपमा तार व्यवस्थापनको कार्ययोजना कार्यान्वयन गर्न निर्देशन दिए ।
मन्त्री श्रेष्ठले नागरिकको सुरक्षा सरकारको उच्च प्राथमिकता भएको उल्लेख गर्दै यस्ता समस्याको स्थायी समाधानका लागि सबै सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको बताए । उनले राजधानीका विभिन्न क्षेत्रमा वर्षौंदेखि गुजुल्टिएर रहेका तारलाई व्यवस्थित बनाउने अभियानलाई थप तीव्रता दिइने समेत स्पष्ट पारे ।
स्थानीयवासीले पनि थापाथलीसहित राजधानीका अन्य क्षेत्रमा अव्यवस्थित तार व्यवस्थापनको कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।
प्रतिक्रिया 4