News Summary
Generated by OK AI. Editorially reviewed.- कुमारी बैंकले आफ्ना ग्राहकलाई डिजिटल सेवा दिन प्रविधि कम्पनी कुराकानी अनलाइनसँग सहकार्य गरेको छ।
- बैंकको मोबाइल एपमा ईसिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिटका सेवा एकीकृत गरी नेपाली रुपैयाँमै भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ।
- यी सेवाहरूले विदेश यात्रा गर्ने नेपाली र विद्यार्थीलाई सिम परिवर्तन वा विदेशी मुद्रा भुक्तानीको झन्झटबाट मुक्त गराउने बैंकले जनाएको छ।
१३ साउन, काठमाडौं । कुमारी बैंक र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन (निम्बज)बीच ग्राहकलाई थप नवीन तथा डिजिटल सेवा उपलब्ध गराउने उद्देश्यले सहकार्य भएको छ ।
उक्त सहकार्यसँगै निम्बजका अन्तर्राष्ट्रिय डेटा (ईसिम) तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट (आईडीपी) सम्बन्धी सेवाहरू कुमारी बैंकको मोबाइल बैंकिङ एपमा एकीकृत गरिएको छ ।
यस सहकार्यपछि कुमारी बैंकका ग्राहकले अब मोबाइल बैंकिङ एप मार्फत नै सहज रूपमा अन्तर्राष्ट्रिय डेटा ईसिम प्याकेज खरिद गर्न तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिटका लागि आवेदन दिन सक्नेछन् ।
विदेश यात्रा गर्ने नेपाली, उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा व्यवसायिक प्रयोजनका लागि नियमित रूपमा विदेश आवतजावत गर्ने ग्राहकहरूका लागि यी सेवाहरू विशेष रूपमा उपयोगी हुने छन् ।
‘ईसिम सेवाले ग्राहकहरूलाई विदेश पुगेपछि स्थानीय सिम कार्ड खरिद गर्न, सिम परिवर्तन गर्न वा विभिन्न नेटवर्क सेवाको खोजीमा समय खर्च गर्नुपर्ने झन्झटबाट मुक्त गर्दै सहज रूपमा डेटा सेवा प्रयोग गर्न सक्षम बनाउनेछ’ बैंकले एक विज्ञप्तिमा भनेको छ ‘त्यस्तै आईडीपी सेवाले अन्तर्राष्ट्रिय ड्राइभिङ अनुमति प्राप्त गर्ने प्रक्रियालाई थप सरल, छिटो तथा व्यवस्थित बनाउँदै ग्राहकहरूलाई आवश्यक सेवा डिजिटल माध्यमबाट प्राप्त गर्न सहयोग पुर्याउनेछ ।’
यस सेवाको अर्को महत्वपूर्ण विशेषता भनेको ग्राहकले ईसिम तथा आईडीपी सेवा कुमारी बैंक मोबाइल बैंकिङ एपमार्फत नेपाली रुपैयाँमा नै भुक्तानी गर्न सक्ने सुविधा रहेको छ ।
‘यसले अन्तर्राष्ट्रिय सेवा उपयोगका लागि विदेशी मुद्रा भुक्तानीका वैकल्पिक माध्यम खोज्नुपर्ने आवश्यकता कम गर्नुका साथै सम्पूर्ण प्रक्रिया थप सहज, सुरक्षित र ग्राहकमैत्री बनाउनेछ’ बैंकले भनेको छ ‘यसबाट ग्राहकको समय, लागत तथा श्रमको बचत हुनुका साथै अन्तर्राष्ट्रिय स्तरका सेवाहरू स्वदेशमै बसेर प्राप्त गर्न सकिनेछ ।’
प्रतिक्रिया 4