+
+
Shares

नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिबाट मुटुको तीन वटा भल्भको शल्यक्रिया

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते १६:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महाराजगन्जस्थित मनमोहन सेन्टरमा मिनिमली इन्भेसिभ कार्डियाक सर्जरी विधिबाट मुटुको ३ वटा भल्भ परिवर्तन गर्ने दुर्लभ शल्यक्रिया सम्पन्न भएको छ।

१३ साउन, काठमाडौं । महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मुटुको जटिल र दुर्लभ शल्यक्रिया गरिएको छ । ‘मिनिमली इन्भेसिभ कार्डियाक सर्जरी–मिक्स’ विधिबाट पहिलो पटक मुटुका ३ वटा भल्भको शल्यक्रिया गरिएको हो ।

काठमाडौंका ५२ वर्षीय पुरुषको साउन ५ गते शल्यक्रिया भएको कार्डियाक सर्जन डा‍. अनिल भट्टराईले जानकारी दिए । शल्यक्रियाको नेतृत्व डा‍‍.भट्टराईले नै गरेका थिए । बिरामी साउन ११ गते अस्पतालबाट डिस्चार्ज भएका छन् ।

डा.भट्टराईका अनुसार ती बिरामी करिब ६–७ महिनाअघि अस्पताल आएका थिए । उनमा श्वास फेर्न गाह्रो हुने, धेरै स्वाँस्वाँ हुने, छिटो थाकाइ लाग्ने जस्ता समस्या लिएर जाँचका लागि आएको थिए । परीक्षण गर्दा उनका मुटुका तीन वटा भल्भमा क्षति पुगेको देखियो । उतिबेला नै शल्यक्रिया गर्ने भनिए पनि विभिन्न समस्या भएर मिति सर्दै आएको थियो ।

डा.भट्टराईका अनुसार यो प्रविधि अन्य खालको शल्यक्रियामा प्रयोग हुँदै आएको भए पनि ३ वटा भल्भको शल्यक्रियमा पहिलो पटक प्रयोग भएको हो । उनका अनुसार बिरामीको दुई वटा  भल्भ फेरिएको र  एउटा मर्मत गरिएको हो ।

यो प्रविधि प्रयोग नगर्दा छाती चिरेर ठूलो घाउ बनाउनुपर्ने हुन्थ्यो । बिरामीलाई निको हुन बढी समय लाग्थ्यो । ‘मिक्स’ विधिबाट शल्यक्रिया गर्दा अहिले काखीमुनि सानो प्वाल मात्रै बनाइएको थियो । यसमा बिरामी छिटो निको हुने र शल्यक्रियापछिका संक्रमणको जोखिम समेत कम हुन्छ ।

नेपालकै अस्पतालमा अत्याधुनिक प्रविधिबाट जटिल शल्ययक्रिया हुनु मुटु उपचारमा नयाँ फड्को भएको डा.भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?