१४ साउन, काठमाडौं । सीमा विवादबारे दिएको अभिव्यक्तिमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग विपक्षी दलहरूले जवाफ खोजेको ६० दिन पुग्यो । ६० औं दिन पनि विपक्षी दलहरूले बिहीबार प्रतिनिधिसभामा यो विषय उठाए ।
नेपाली कांग्रेसकी सांसद बासना थापाले कहिलेसम्म प्रधानमन्त्रीसँग जवाफ मागिरहने हो भनेर प्रश्न गरिन् । सीमा विवादबारे आफैँले दिएको विवादास्पद अभिव्यक्तिमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताइन् ।
नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले राष्ट्रयता विरोधी अभिव्यक्ति व्यक्त भएको भनेर आपत्ति जनाइन् । विवादित अभिव्यक्ति सच्याउन आग्रह गरिन् ।
नेपाली कम्युनिस्ट पार्टीका नेता गोपाल शर्माले प्रधानमन्त्री बालेनबाट संसदीय मर्यादा ख्याल नभएको बताए । ‘प्रधानमन्त्रीले विवादिन अभिव्यक्ति नसच्याउँदासम्म हाम्रो विरोध जारी रहन्छ’ सांसद शर्माले भने ।
जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा सांसदहरूको प्रश्न लिएर जवाफ दिएका थिए । त्यसक्रममा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पनि सीमा विवादको विषय उठाए । राईको प्रश्न थियो, ‘कालापानी, लिपुलेक, लिपियाधुराको समस्या निकै लामो समयदेखि चल्दै आएको छ र अन्य सीमामा थुप्रै समस्या छन् । त्यो सीमामा सरकार छ भन्ने आम नागरिकले कहिले अनुभूति गर्न सक्छन् ?’
जवाफमा प्रधानमन्त्री बालेनले ‘डिप्लोमेटिक रूपमा टेबल टक’ गरेरै समस्या समाधान गर्ने पुरानै बताए । यहाँनेर प्रधानमन्त्री बालेनले नेपालको तर्फबाट समेत भारतीय भूमि मिचिएको विषय थाहा लागेको सुनाए ।
‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ प्रधानमन्त्री बालेनले भने, ‘त्यही भएर दुइटै देशले अध्ययन गरेर हामीले मिचेको छौं, उहाँहरूले मिच्नु भएको छ । के छ ? त्यसलाई बसेर एउटा साथीको रूपमा समाधान गर्ने हामीले सोच राखेका छौं ।’
प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति लगत्तै विपक्षी दलहरूले विरोध गरे । नेपालबाट भारतको जमिन मिचिएको प्रधानमन्त्रीको अभिव्यक्तिको तथ्य मागे । ‘सम्माननीय प्रधानमन्त्रीले नेपालको तर्फबाट पनि भारतको भूमि मिचिएको रहेछ भन्नुभयो । कहाँनेर मिचिएको हो यसबारे छिटोभन्दा छिटो अवगत गराइयोस्’ ‘कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सोही दिन भनेकी थिइन्, ‘यो गम्भीर विषय हो । प्रधानमन्त्रीले दुई देशको सीमाबारे बोलेको यो सत्य हो भने राख्न पर्यो । यदि यो सही होइन भने रेकर्डबाट हटाइयोस् ।’
यो विषयमा प्रधानमन्त्री बालेन फेरि बोल्न तयार भएनन् । यसकारण विपक्षी दलहरूले जेठ १७ देखि नै यो विषयलाई लिएर प्रतिनिधिसभामा विरोध गर्दै आएका छन् । यो विषयमा कि तथ्य दिनुपर्ने नभए माफी मागेर संसदीय रेकर्डबाट हटाउनुपर्ने विपक्षी दलहरूको माग रहेको छ ।
यस्तो माग राखेर बैठक सुरु भए लगत्तै विपक्षीले विरोध गर्न थालेको ६० दिन भयो । जेठ महिनाको १४ दिन, असार महिनाको ३२ दिन र साउन महिनाको १४ दिन सम्म विपक्षी दलहरूले सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्तिमा जवाफ मागिरहेका हुन् ।
प्रतिक्रिया 4