News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डले आफ्नो २६औँ वार्षिकोत्सवका अवसरमा साउन २२ देखि २७ गतेसम्म १० वटा पुराना नेपाली फिल्म प्रदर्शन गर्ने भएको छ ।
- नेपाली चलचित्रको ऐतिहासिक विरासत संरक्षण गर्न बोर्डको हलमा 'आमा', 'सिन्दुर' र 'परिवर्तन' लगायतका ऐतिहासिक चलचित्र देखाइने निर्णय गरिएको छ ।
- सीमित सिट क्षमताका कारण इच्छुक दर्शकहरूलाई अग्रिम रूपमा आफ्नो सिट सुरक्षित गर्न बोर्डले आग्रह गरेको छ ।
काठमाडौं । चलचित्र विकास बोर्डले २६औँ वार्षिकोत्सवका अवसरमा ‘ओल्ड इज गोल्ड’ शीर्षकमा पुराना नेपाली फिल्मको प्रदर्शन गर्ने भएको छ ।
नेपाली भाषाका चलचित्रको ऐतिहासिक विरासतको संरक्षण, प्रवद्र्धन तथा नयाँ पुस्तालाई पुराना फिल्मसँग परिचित गराउने उद्देश्यले साउन २२ गतेदेखि २७ गतेसम्म बोर्डको हलमा प्रदर्शन गर्न लागिएको हो ।
सो अवसरमा त्यस्ता १० फिल्म देखाइने भएको छ । तत्कालीन शाही नेपाली चलचित्र संस्थानबाट निर्माण भएका तथा बोर्डको चलचित्र संग्रहालयमा डिजिटाइज गरी सुरक्षित राखिएका फिल्मलाई पुनः प्रस्तुत गर्न लागिएको हो ।
पहिलो दिन साउन २२ गते शुक्रबार दिउँसो १२ बजे हिरासिंह खत्री निर्देशित ‘आमा’ प्रदर्शन हुनेछ । साउन २३ गते शनिबार बिहान ११ बजे प्रकाश थापा निर्देशित ‘सिन्दुर’ र दिउँसो २ बजे हिरासिंह खत्री निर्देशित ‘परिवर्तन’ देखाइनेछ ।
साउन २४ गते आइतबार बिहान ११ बजे प्रकाश थापा निर्देशित ‘मनको बाँध’ तथा दिउँसो २ बजे प्रदीप रिमाल निर्देशित ‘के घर के डेरा’ प्रदर्शन हुनेछ । साउन २५ गते सोमबार दिउँसो १२ बजे प्रेमबहादुर बस्न्यात निर्देशित ‘कुमारी’ देखाइने कार्यक्रम छ ।
त्यसैगरी, साउन २६ गते मंगलबार बिहान ११ बजे लक्ष्मीनाथ शर्मा निर्देशित ‘शान्तिदीप’ र दिउँसो २ बजे हिरासिंह खत्री निर्देशित ‘हिजो आज भोलि’ प्रदर्शन हुनेछन् ।
अन्तिम दिन साउन २७ गते बुधबार बिहान ११ बजे लक्ष्मीनाथ शर्मा निर्देशित ‘बदलिँदो आकाश’ तथा दिउँसो २ बजे प्रकाश थापा निर्देशित ‘जीवनरेखा’ देखाइनेछ ।
एउटा मात्र चलचित्र प्रदर्शन हुने दिन शो दिउँसो १२ बजे सुरु हुनेछ भने दुई चलचित्र प्रदर्शन हुने दिन पहिलो शो बिहान ११ बजे र दोस्रो शो दिउँसो २ बजे सञ्चालन हुनेछ । सिट सीमित भएकाले इच्छुक दर्शकलाई अग्रिम रूपमा सिट सुरक्षित गर्न बोर्डले आग्रह गरेको छ ।
प्रतिक्रिया 4