News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाका पूर्वस्वास्थ्य विज्ञ सल्लाहकार डा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त भएका छन् ।
- राजनीतिक निकटताका आधारमा नियुक्ति दिइएको भन्दै मेरिटोक्रेसी र निष्पक्षताको सरकारी दाबीमाथि प्रश्न उठेको छ ।
- नवनियुक्त अध्यक्ष प्याकुरेलले स्वास्थ्य बीमा कार्यक्रमलाई नागरिकमैत्री र प्रभावकारी बनाउन अहोरात्र खटिने प्रतिबद्धता जनाए।
१४ साउन, काठमाडौं । रास्वपाका पूर्वस्वास्थ्य विज्ञ सल्लाहकार डा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्ष नियुक्त भएका छन् । बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
सरकारले सार्वजनिक प्रतिस्पर्धामार्फत नेतृत्व चयन गरिएको दाबी गरे पनि अन्ततः रास्वपाकै पूर्वस्वास्थ्य सल्लाहकारलाई जिम्मेवारी दिइएपछि मेरिटोक्रेसी र निष्पक्ष नियुक्तिको सरकारी दाबीमाथि प्रश्न उठेको छ ।
डा. प्याकुरेल रास्वपाका पूर्व स्वास्थ्य तथा जनसंख्या विभागका सल्लाहकार (स्वास्थ्य विज्ञ सल्लाहकार) हुन् । उनलाई २०८० असोजमा रास्वपाले स्वास्थ्य तथा जनसंख्या विभागको सल्लाहकारमा मनोनित गरेको थियो। विभाग प्रमुख त्यतिबेला सांसद डा. तोसिमा कार्की थिइन्।
राजनीतिक हस्तक्षेप अन्त्य गर्ने प्रतिबद्धता जनाएको दलले आफ्नै निकट व्यक्तिलाई बोर्डको नेतृत्वमा पुर्याएको भन्दै आलोचना सुरु भएको छ। गत असार ३० गते अध्यक्ष छनोटका लागि गठित सिफारिस समितिले पाँच जनाको अन्तिम सूची सार्वजनिक गरेको थियो । उक्त सूचीमा डा. प्याकुरेलसँगै निजन उपाध्याय, महेश सुवेदी, सुमनचन्द्र गुरुङ र सिमृन काफ्ले अन्तर्वार्तामा सहभागी भएका थिए ।
सरकारले हालै जारी गरेको स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीहरूको छनोट, सिफारिस तथा नियुक्ति सम्बन्धी कार्यविधि, २०८३ अनुसार अध्यक्ष बन्न मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा न्यूनतम सात वर्षको अनुभव अनिवार्य छ ।
डा. प्याकुरेलले उक्त प्रक्रिया पूरा गरेको सरकारको दाबी छ । तर प्रक्रिया पूरा हुनु मात्रै पर्याप्त नभई नियुक्ति निष्पक्ष र प्रभावमुक्त हुनुपर्ने भन्दै सरोकारवालाले प्रश्न उठाएका छन् ।
अहिले स्वास्थ्य बीमा कार्यक्रम इतिहासकै कठिन मोडबाट गुज्रिरहेको छ । दाबी भुक्तानीमा ढिलाइ, सेवा प्रवाहमा समस्या, अस्पतालहरूको असन्तुष्टि र नागरिकको घट्दो विश्वासका कारण स्वास्थ्य बीमा कार्यक्रम निरन्तर संकटमा पर्दै आएको छ ।
२०७२ चैत २५ गते कैलालीबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले देशभरका ४२५ प्रथम सेवा विन्दु स्वास्थ्य संस्थामार्फत सञ्चालनमा छ । तर सेवा विस्तारसँगै कार्यक्रमको वित्तीय दिगोपन, बीमा नवीकरणको दर बढाउने, निजी तथा सरकारी अस्पतालको सहभागिता सुदृढ बनाउने र नागरिकको विश्वास पुनःस्थापित गर्ने चुनौती झन् जटिल बन्दै गएको छ ।
रास्वपाले आफ्नो घोषणापत्रमा स्वास्थ्य बीमालाई सामाजिक सुरक्षाको मुख्य आधार बनाउने, सबै स्वास्थ्यसम्बन्धी सामाजिक सुरक्षा कार्यक्रमलाई एकद्वार प्रणालीमा ल्याउने, औषधि, उपचार तथा मानसिक स्वास्थ्य सेवासमेत बीमाभित्र समेट्ने प्रतिबद्धता जनाएको थियो । तर नेतृत्व चयनमै राजनीतिक निकटतालाई प्राथमिकता दिएको आरोप लागेपछि घोषणापत्रका प्रतिबद्धता र व्यवहारबीचको अन्तरमाथि प्रश्न उठ्न थालेको छ ।
अब नवनियुक्त अध्यक्ष डा. प्याकुरेलका लागि सबैभन्दा ठूलो चुनौती राजनीतिक नियुक्तिको आरोपलाई कार्यसम्पादनबाट गलत सावित गर्नु हुनेछ । पदभार ग्रहण गर्दै डा.प्याकुरेलले स्वास्थ्य क्षेत्रलाई बिरामी तथा नागरिक केन्द्रित बनाउने आधारका रूपमा स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने दाबी गरे ।
उनले स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न नियामक निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै स्वास्थ्य बीमाले त्यसको ‘मियो’ का रूपमा काम गर्न सक्ने धारणा राखे ।
स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र उत्तरदायित्व बढाउन स्वास्थ्य बीमा प्रणालीलाई अझ सुदृढ बनाउनु अपरिहार्य रहेको उनको भनाइ छ । डा. प्याकुरेलले स्वास्थ्य बीमा कार्यक्रम देशकै सबैभन्दा ठूलो सामाजिक सुरक्षा कार्यक्रममध्ये एक भएको उल्लेख गर्दै यसले हाल करिब २ करोड –९० लाख जनसंख्यालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा समेट्ने क्षमता राखेको बताए ।
सरकारले आगामी तीन वर्षभित्र करिब ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने लक्ष्य लिएको स्मरण गराउँदै उनले उक्त लक्ष्य हासिल गर्न आफू सकारात्मक सोच, प्रतिबद्धता र परिणाममुखी कार्यशैलीका साथ अघि बढ्ने बताए ।
‘स्वास्थ्य बीमा सुधारका लागि नेपाल सरकारले ममाथि गरेको विश्वासप्रति म कृतज्ञ छु,’ उनले भने, ‘मेरो नेतृत्वमा बोर्डका सम्पूर्ण कर्मचारी र सरोकारवालासँग सहकार्य गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, विश्वसनीय र नागरिकमैत्री बनाउने गरी अहोरात्र खटिनेछौं ।’
उनले स्वास्थ्य बीमा बोर्डलाई सफल बनाउन सरकार, स्वास्थ्य सेवा प्रदायक, स्थानीय तह, निजी क्षेत्र तथा अन्य सबै सरोकारवालाबीच बलियो सहकार्य र समन्वय अपरिहार्य रहेको बताए ।
नवनियुक्त अध्यक्ष डा. प्याकुरेलले आफूलाई स्वास्थ्य बीमा बोर्डको नेतृत्वको जिम्मेवारी प्रदान गरेकोमा प्रधानमन्त्री, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय तथा छनोट तथा सिफारिस समितिप्रति आभार व्यक्त गर्दै नागरिकले सहज, गुणस्तरीय र भरपर्दा स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहने बताए ।
प्रतिक्रिया 4