+
इंग्ल्यान्ड क्रिकेट :

इंग्ल्यान्डको टेस्ट टोलीको मुख्य प्रशिक्षकमा स्टेफन फ्लेमिङ नियुक्त, जो रुट फेरि कप्तान

२०८३ साउन  १४ गते १६:२६ २०८३ साउन १४ गते १६:२६

टेस्ट टिम प्रशिक्षक ब्रेन्डन म्याकलमलाई यसै महिनाको सुरुआतमा लगातार खराब नतिजा र मैदानबाहिर भएका केही घटनाका कारण पदबाट हटाइएको थियो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • न्युजिल्यान्डका पूर्वकप्तान स्टेफन फ्लेमिङ इंग्ल्यान्डको टेस्ट क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
  • जो रुट पुनः इंग्ल्यान्ड टेस्ट टोलीको कप्तान बनेका छन्, उनी देशका लागि सर्वाधिक टेस्ट जित दिलाउने कप्तान हुन् ।
  • फ्लेमिङले भने, 'विश्व क्रिकेटमा यो सबैभन्दा प्रतिष्ठित प्रशिक्षकीय पदहरूमध्ये एक हो, यो जिम्मेवारी पाउँदा म गौरवान्वित महसुस गरिरहेको छु ।'

१४ साउन, काठमाडौं । न्युजिल्यान्डका पूर्वकप्तान स्टेफन फ्लेमिङ इंग्ल्यान्डको टेस्ट क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त भएका छन्  । यस्तै जो रुट पुनः टेस्ट टोलीको कप्तान बनेका छन् ।

५३ वर्षीय फ्लेमिङले पहिलो पटक कुनै पनि राष्ट्रिय टोलीको प्रशिक्षक बनेका हुन् । उनले यसअघि कुनै पनि राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिएनन् ।

तर उनले १७ वर्षसम्म मुख्य प्रशिक्षकका रूपमा चेन्नई सुपर किंग्स लाई नेतृत्व गर्दै टोलीलाई कीर्तिमानी पाँच पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि दिलाएका थिए ।

टेस्ट टिम प्रशिक्षक ब्रेन्डन म्याकलमलाई यसै महिनाको सुरुआतमा लगातार खराब नतिजा र मैदानबाहिर भएका केही घटनाका कारण पदबाट हटाइएको थियो । यद्यपी उनी इङ्ल्यान्डको सीमित ओभर (ह्वाइट–बल) टोलीका मुख्य प्रशिक्षकका रूपमा भने यथावत् रहनेछन् ।

यस्तै टेस्ट टोलीको कप्तानमा पुनरागमन गरेका ३५ वर्षीय रुटले सन् २०१७ देखि २०२२ सम्म टेस्ट टोलीको कप्तानी गरेका थिए । उनले ६५ टेस्टमध्ये २७ खेलमा इंग्ल्यान्डलाई जित दिलाउँदै देशका लागि सर्वाधिक टेस्ट जित हासिल गर्ने कप्तानको कीर्तिमान बनाएका छन् ।

मुख्य प्रशिक्षक नियुक्त भएपछि फ्लेमिङले आफू यो जिम्मेवारी पाउँदा अत्यन्त उत्साहित भएको बताए ।

उनले भने, ‘विश्व क्रिकेटमा यो सबैभन्दा प्रतिष्ठित प्रशिक्षकीय पदहरूमध्ये एक हो । यो जिम्मेवारी पाउँदा म गौरवान्वित महसुस गरिरहेको छु ।’

फ्लेमिङले अगस्ट १९ देखि पाकिस्तानविरुद्ध सुरु हुने टेस्ट शृंखलामा भने टोलीको जिम्मेवारी सम्हाल्ने छैनन् । त्यस अवधिमा सहायक प्रशिक्षक मार्कस ट्रेसकोथिकले नै कार्यवाहक मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् ।

फ्लेमिङ केही समय आफ्नो परिवारसँग न्युजिल्यान्डमा बिताएपछि यसै समरको अन्त्यतिर बेलायत जानेछन् । त्यसपछि उनी डिसेम्बरमा हुने दक्षिण अफ्रिका भ्रमणको टेस्ट शृंखलाको तयारीमा जुट्नेछन् ।

पुनः कप्तानी सम्हालेका रुटले फ्लेमिङसँग काम गर्ने अवसर आफूका लागि ठूलो प्रेरणा भएको बताए ।

उनले भने, ‘फ्लेमिङले लामो समयदेखि आफू असाधारण नेतृत्व क्षमता भएका र खेलबारे गहिरो ज्ञान राख्ने व्यक्ति भएको प्रमाणित गरिसकेका छन् । उहाँसँग मिलेर काम गर्न र विजयी वातावरण निर्माण गर्न योगदान दिन म उत्साहित छु ।’

बीबीसीबाट

इंग्ल्यान्ड क्रिकेट स्टेफन फ्लेमिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय