+
+
Shares

चालु आर्थिक वर्षका कार्यक्रम परिणाममुखी बनाउन उद्योगमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते १६:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उद्योगमन्त्री गौरीकुमारी यादवले चालु आर्थिक वर्षका कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न मातहतका निकायलाई निर्देशन दिएकी छिन् ।
  • मन्त्री यादवले सेवा प्रवाहलाई छिटो र पारदर्शी बनाउन मन्त्रालयअन्तर्गतका सबै सेवालाई तत्काल अनलाइन प्रणालीमा रूपान्तरण गर्न निर्देशन दिइन् ।
  • चाडपर्व नजिकिएसँगै मन्त्री यादवले बजार अनुगमनलाई प्रभावकारी बनाई कालोबजारी नियन्त्रण गर्न विशेष प्राथमिकताका साथ काम गर्न निर्देशन दिएकी छिन् ।

१४ साउन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले चालु आर्थिक वर्षका कार्यक्रमलाई सुरुदेखि नै प्राथमिकताका साथ कार्यान्वयनमा लैजान मन्त्रालय तथा मातहत निकायलाई निर्देशन दिएकी छिन् ।

आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले समयमै लक्ष्य हासिल गर्न सबै निकायले परिणाममुखी ढंगले काम गर्नुपर्नेमा जोड दिइन् ।

मन्त्री यादवले कम्पनी रजिष्ट्रार कार्यालय र उद्योग विभागका सेवा अनलाइन प्रणालीमा गइसकेको उल्लेख गर्दै मन्त्रालयअन्तर्गत अझै डिजिटल हुन बाँकी रहेका सबै सेवालाई तत्काल अनलाइन प्रणालीमा रूपान्तरण गर्न निर्देशन दिइन् । सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन आवश्यक प्रक्रिया अघि बढाउन उनले सचिव तथा विभागीय प्रमुखहरूलाई आग्रह गरिन् ।

उनले सुशासन सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गर्दै मन्त्रालय, विभाग तथा मातहतका कार्यालयमा सुशासनका विषयमा कुनै सम्झौता नगर्न निर्देशन दिइन् । पूर्ण इमान्दारिता, पारदर्शिता र जिम्मेवारीका साथ काम गर्नुपर्नेमा उनले विशेष जोड दिइन् ।

चाडपर्व नजिकिँदै गएको उल्लेख गर्दै मन्त्री यादवले बजार अनुगमनलाई थप प्रभावकारी बनाउन, उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न तथा कालोबजारी नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिइन् ।

त्यसैगरी, औद्योगिक वातावरण निर्माण, व्यापार विस्तार तथा मन्त्रालयको समग्र प्रगतिका लागि आवश्यक नीतिगत सहजीकरण गर्न आफू सधैँ तयार रहेको बताउँदै उनले सबै कर्मचारी तथा निकायलाई समन्वय र प्रतिवद्धताका साथ काम गर्न आग्रह गरिन् ।

मन्त्रालयका प्रवक्ता सहसचिव नेत्र प्रसाद सुवेदीका अनुसार बैठकमा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति, बजेट कार्यान्वयन, मन्त्रालय तथा मातहतका निकायका उपलब्धि, शासकीय सुधारका १०० कार्यसूचीको प्रगति तथा आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको थियो ।

समीक्षा क्रममा मन्त्रालयले गत आर्थिक वर्षमा हासिल गरेको उपलब्धि तथा आगामी आर्थिक वर्षका लक्ष्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै महाशाखा, विभाग तथा मातहतका निकायबीच नियमित समन्वय र नतिजामुखी कार्यसम्पादनमा जोड दिइएको प्रवक्ता सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?