१५ साउन, काठमाडौं । खानी तथा खनिज पदार्थ विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले यो विधेयक बिहीबार प्रतिनिधिसभामा दर्ता गरेका हुन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले संघीय शासन प्रणाली अनुरूप खानी तथा खनिज पदार्थसम्बन्धी अधिकार तथा जिम्मेवारी स्पष्ट गर्न विधेयक ल्याइएको बताएकी छन् ।
उनका अनुसार खानी तथा खनिज पदार्थको संरक्षण, अन्वेषण तथा उत्खनन कार्यलाई व्यवस्थित, वैज्ञानिक तथा दिगो बनाउने सरकारको उदेश्य छ ।
‘साधारण निर्माणमुखी खनिज, रणनीतिक तथा सामरिक महत्वका खनिज तथा रेडियोधर्मी खनिज पदार्थसम्बन्धी विशेष व्यवस्था गर्न’ विधेयक ल्याइएको विधेयकमा उल्लेख छ ।
खनिज, खनिज क्षेत्रको वैज्ञानिक नक्सांकन, भौगर्भिक सर्वेक्षण तथा भूकम्प मापन सम्बन्धी कार्यलाई कानूनी आधार प्रदान गर्न, खनिज क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण गरी उद्योग तथा पूर्वाधार विकासमा सहयोग पुर्याउने विधेयकको उदेश्य छ ।
खनिज कार्यमा पारदर्शिता, जवाफदेहिता तथा नियमनलाई प्रभावकारी बनाउन तथा गैरकानूनी खनिज कार्य, अवैध उत्खनन एवं राजस्व चुहावट नियन्त्रण गर्न विद्यमान खानी तथा खनिज पदार्थसम्बन्धी कानूनलाई संशोधन, एकीकरण तथा समयानुकूल बनाउने भनिएको छ ।
प्रतिक्रिया 4