News Summary
Generated by OK AI. Editorially reviewed.- नेविसंघ मधेश प्रदेशले सुनसरी लगायतका स्थानमा भएका पछिल्ला घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ ।
- अध्यक्ष मनिषकुमार यादवले राज्य संयन्त्रको बल प्रयोगबाट नागरिकको ज्यान जानु गम्भीर विषय भएको उल्लेख गर्दै दोषीलाई संरक्षण गर्ने प्रयास स्वीकार्य नहुने चेतावनी दिएका छन् ।
- संघले नागरिकलाई उत्तेजना र साम्प्रदायिक घृणा फैलाउने गतिविधिबाट टाढा रहन आग्रह गर्दै सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अपिल गरेको छ ।
१५ साउन, जनकपुरधाम । नेपाल विद्यार्थी संघ (नेविसंघ) मधेश प्रदेशले सुनसरी लगायतको स्थानमा भएको पछिल्ला घटनाप्रति दु:ख व्यक्त गर्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको छ ।
नेविसंघ मधेश प्रदेशका अध्यक्ष मनिषकुमार यादवद्वारा जारी प्रेस विज्ञप्तिमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
विज्ञप्तिमा लोकतान्त्रिक राज्यमा नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको उल्लेख गर्दै विवाद समाधानका लागि संवाद र कानुनी प्रक्रिया अपनाउनुपर्ने अवस्थामा राज्य संयन्त्रको बल प्रयोगबाट नागरिकको ज्यान जानु गम्भीर विषय भएको जनाइएको छ।
संघले घटनालाई दबाउने, तथ्य लुकाउने, दोषीलाई संरक्षण गर्ने वा औपचारिक छानबिनको नाममा जनतालाई भ्रममा राख्ने कुनै पनि प्रयास स्वीकार्य नहुने चेतावनी दिएको छ ।
राज्य शक्तिको दुरुपयोग गर्ने जो कोहीलाई पनि कानुन बमोजिम कारबाही गर्नुपर्ने र त्यसमा सरकार असफल भए राजनीतिक तथा नैतिक जिम्मेवारी सरकारले नै बहन गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
नेविसंघले नागरिकलाई कुनै पनि उत्तेजना, अफवाह तथा जातीय, धार्मिक वा साम्प्रदायिक घृणा फैलाउने गतिविधिबाट टाढा रहन आग्रह गरेको छ ।
कुनै पनि घटनाको बहानामा सामाजिक सद्भाव, राष्ट्रिय एकता र भाइचारामाथि आघात पुग्ने गतिविधि नगर्न सबै पक्षलाई अपिल गरिएको छ।
विज्ञप्तिमार्फत अध्यक्ष यादवले देशभरका विद्यार्थी समुदायलाई पनि सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सक्रिय भूमिका खेल्न आग्रह गरेका छन् ।
प्रतिक्रिया 4