+
+
Shares

पुरबहादुर गुरुङ : हिमालमै हुर्किए, हिमालमै अस्ताए

हिमालमै हुर्किएका उनी ३७ वर्षको उमेरमै हिमालमै अस्ताए । ‘ब्रोड पिक’ हिमाल आरोहणका लागि उनी तीन हप्ता अघि नेपालबाट पाकिस्तान गएका थिए । अब कहिलै नफर्किने गरी उतै अस्ताएका छन् ।

विकास मरहट्टा विकास मरहट्टा
२०८३ साउन १५ गते २०:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तानस्थित ८०४७ मिटर उचाइको ब्रोड पिक हिमाल आरोहणका क्रममा नेपाली पर्वतारोही पुरबहादुर गुरुङको निधन भएको छ ।
  • अल्पाइन क्लब अफ पाकिस्तान र नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसनले हिमपहिरोमा परी उनको मृत्यु भएको पुष्टि गरेका छन् ।
  • १० पटक सगरमाथा आरोहण गरिसकेका ३७ वर्षीय गुरुङले आठ हजार मिटर अग्ला १२ वटा हिमालको सफल आरोहण गरिसकेका थिए ।

१५ साउन, गोरखा । पाकिस्तानस्थित ८०४७ मिटर उचाईको ‘ब्रोड पिक’ आरोहणको क्रममा चर्चित पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को मृत्यु भएको पुष्टि भएको छ ।

अल्पाइन क्लब अफ पाकिस्तानले यसको पुष्टि गरेको हो । क्लबका अनुसार चार जना जनाको शव भेटिएको थियो ।

त्यसमध्ये ओमानी आरोही नधिरा अल हारथी र नेपाली आरोही पुरबहादुर गुरुङको पहिचान भएको क्लबले जनाएको छ ।

अल्पाइन क्लव पाकिस्तानी पर्वतारोहणको आधिकारिक निकाय निकाय समेत हो । यता, नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनले समेत युक्तको सो हिमपहिरोमा परी ज्यान गएको पुष्टि गरेको छ ।

एसोसिएसनले सामाजिक सञ्जालमा श्रद्धाञ्जली पोष्ट राख्दै उनको निधनको पुष्टि गरेको हो । एसोसिएसनले उनको निधनमा दु:ख व्यक्त गरेको छ ।

को हुन युक्त ?

उत्तरी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा जन्मेका उनको बाल्यकाल हिमालकै काखमा बित्यो । सन् १९८९ सालमा जन्मेका उनको ब्रिटिस सेनामा भर्ती हुने सपना थियो । सशस्त्र द्वन्द्वका कारण सपना अधुरै राखेर बाल्यकालमै उनी मनाङको होटलमा काम गर्न पुगे । टेकिङ गाइडहरूसँग उनको सम्पर्क बढ्यो । गाइड बन्ने रहर बोकेर काठमाडौं झरे ।

‘सन् २००९ मा पोर्टरको रूपमा काम सुरु गर्नुभएको थियो,’ उनका सहकर्मी तुलसिङ गुरुङले भने, ‘बिस्तारै क्याम्पिङ ग्रुपका लागि किचन हेल्परको रूपमा काम गर्न थाल्नुभयो ।’

क्रमश: सहयोगी गाइड, ट्रेक गाइड हुँदै प्लानिङ गाइडको रुपमा काम गर्न थालेको तुलसिङले बताए । उनका अनुसार गत डिसेम्बरमा मात्र युक्तले इन्टरनेशनल माउन्टेन गाइड पास गरेका छन् ।

‘नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघमार्फत इन्टरनेशनल माउन्टेन गाइड पास गर्नुभएको थियो, तर आज यस्तो दु:खद खबर सुन्नुपर्‍यो,’ उनले भने ।

लाप्राकमै जन्मिएका तुलसिङ उक्त संघका अध्यक्ष समेत हुन् ।

गुरुङ समुदायबाट सबैभन्दा धेरै सगरमाथा आरोहण गर्ने युक्त नै थिए । हालसम्म उनले दश पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।

पहिलोपटक उनले सन् २०११ मा सगरमाथा चढेका थिए । त्यस्तै उनले ८ हजार मिटर उचाइको १२ वटा हिमालको सफल आरोहण गरिसकेका छन् ।

‘संसारभर ८ हजार मिटर उचाइको कुल १४ वटा हिमाल छन्, तीमध्ये आठ वटा नेपालमै पर्छ,’ तुलसिङले भने, ‘दुई वटा बाहेक बाँकी सबै उहाले चढिसक्नुभयो ।’

पाकिस्तानको माउन्ट केटू हिमाल २४ घण्टाभित्र आरोहण गरेर उनले कीर्तिमान समेत कायम गरेका थिए । हिमालमा फसेका पर्यटकको उद्धारमा समेत उनी खटिन्थे ।

हिमालमै हुर्किएका उनी ३७ वर्षको उमेरमै हिमालमै अस्ताए । ‘ब्रोड पिक’ हिमाल आरोहणका लागि उनी तीन हप्ता अघि नेपालबाट पाकिस्तान गएका थिए । अब कहिलै नफर्किने गरी उतै अस्ताएका छन् ।

गुरुङको सम्झनामा नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनले दिएको श्रद्धाञ्जली । 

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?