News Summary
Generated by OK AI. Editorially reviewed.- मल किन्न भारत गएका सर्लाहीका दुई नेपाली किसान पक्राउ परेको महिना दिनभन्दा बढी भए पनि अझै थुनामुक्त हुन सकेका छैनन्।
- न्यायाधीश बिदामा रहेकाले सुनुवाइ सरेपछि उनीहरू थप एक साता थुनामा बस्नुपर्ने भएको छ र अर्को पेशी साउन २० गतेका लागि तोकिएको छ।
- रिहाइका लागि परराष्ट्र मन्त्रालय र नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत कूटनीतिक पहल भइरहेको कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाले जानकारी दिए।
१५ साउन, काठमाडौं । मल किन्न जाँदा भारतमा पक्राउ परेका दुई नेपाली किसान अझै थुनामुक्त भएका छैनन् । शुक्रबारका लागि तोकिएको पेशीमाथि सुनुवाइ नभएपछि उनीहरू अझै एक हप्ता नछुट्ने पक्कापक्की जस्तो भएको हो ।
बलरा–५, सर्लाहीका सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह सितामढी जिल्लाको सोनवर्षाबाट १७ असारमा पक्राउ परेका थिए ।
त्यसको भोलिपल्टै जेल पठाइएको थियो । उनीहरूको रिहाइको माग राखेर दर्ता भएको निवेदनको पेशी निर्धारित दिनमा हुन सकेन ।
सुरेशप्रसादका छोरा अविनाश सिंह खेतमा हाल्न मल किन्न गएका आफ्नो बुबा र ठूलो बुबामाथि अपराधीलाई जस्तो व्यवहार भएको बताउँछन् ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले ४६ किलोग्रामको एक बोरा डीएपी र ४६ किलोग्रामको एक बोरा युरिया मल नेपाल ल्याउन लागेको आरोपमा पक्राउ परेको अविनाशले जानकारी दिए ।
‘केही घण्टाभित्र मल लिएर फर्कन्छौं भनेर जानु भएको थियो । महिना दिनभन्दा धेरै भइसक्यो बुबा र ठूलो बुबा अझै छुट्नु भएन,’ अविनाशले अनलाइनखबरसँग भने, ‘न खेतमा हाल्न मल पाइयो, न बुवाहरू आउनु भयो । घरमा सबैको बिचल्ली भइसक्यो ।’
सुरेशप्रसाद र नागेन्द्रप्रसादका वकिलले न्यायाधीश बिदामा भएकाले सुनुवाइ सरेको बताएका छन् । अर्को पेशी साउन २० गतेका लागि तोकिएको छ । त्यसदिन पनि छुट्छ भन्नेमा पनि आफन्तहरू ढुक्क हुन सकेका छैनन् ।
‘त्यो दिन पनि सुनुवाइ अर्को कुनै बहानाले सर्ने हो कि ?’ अविनाशको चिन्ता छ । वकिल खर्चले पनि ठूलो भएको उनी बताउँछन् । रिहाइका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्ने उनको अपिल छ ।
अविनाश भन्छन्, ‘उहाँहरूलाई तस्करलाई जस्तो व्यवहार भइरहेको छ । नेपाल सरकारले पहल गरे छिटो छुट्नु हुन्थ्यो कि !’
परराष्ट्र मन्त्रालय नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत पहल भइरहेको बताउँछन् । भारतका लागि नेपाली कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा रिहाइका लागि भारतको विदेश मन्त्रालयमार्फत कुराकानी भइरहेको बताउँछन् ।
‘भारतको विदेश मन्त्रालयमार्फत् निरन्तर संवादमा छौं । प्रहरीसँग पनि कुरा भएको छ,’ कार्यवाहक राजदूत थापा भन्छन्, ‘अदालतमा पुगिसकेको विषय भएकाले प्रक्रिया लामो भएको भन्ने जानकारी पाएका छौं ।’
नेपाल र भारतका सीमावासीहरू किनमेलका लागि बोर्डर वारपार गर्नु अनौठो विषय होइन । दुई देशका नागरिक बीच सम्बन्ध ‘रोटीबेटी’को सम्बन्धले परिचित छ । तर मल किनेर फर्कन लागेकै आरोपमा पक्राउ परेका किसान कम्तीमा पाँच दिन थुनामा रहने निश्चित भइसकेको छ ।
भारतका लागि पूर्व राजदूत नीलाम्बर आचार्य किसानको रिहाईका लागि सरकारले प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिन्छन् ।
उनी भन्छन्, ‘आफ्नो नागरिक त्यसरी पक्राउ परिसकेपछि सरकारले किन पक्राउ परे ? कसरी रिहाइ गर्ने भनेर प्रभावकारी तरिकाले पहल गर्नुपर्दछ ।’
प्रतिक्रिया 4