१६ साउन, काठमाडौं । अमेरिकाको स्यान डिएगोमा शुक्रबार बिहान मरिन कर्प्सको एफ-३५बी फाइटर जेट मिरामार एयर बेस नजिकै दुर्घटनाग्रस्त भएको छ।
दुर्घटनापछि विमानमा लागेको आगोलाई दमकलकर्मीहरूले निभाएका छन्। मरिन कर्प्सका अनुसार, पाइलट समयमै ‘इजेक्ट’ गरेर सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका छन्। उनलाई सामान्य चोट लागेको छ र उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
अधिकारीहरूले यस दुर्घटनालाई ‘क्लास ए मिसह्याप’ घोषणा गरेका छन्। यो सैन्य विमान दुर्घटनाहरूको सबैभन्दा गम्भीर श्रेणी हो।
यसमा विमान पूर्ण रूपमा नष्ट हुने, २० लाख डलर भन्दा बढीको नोक्सान हुने वा कुनै सैनिकको मृत्यु हुने जस्ता अवस्थाहरू पर्दछन्। एउटा एफ-३५बी फाइटर जेटको मूल्य करिब १०९ मिलियन डलर रहेको बताइन्छ।
किन विशेष छ एफ-३५बी ?
एफ-३५बी अमेरिकाको निकै अत्याधुनिक र राडारको आँखा छल्न सक्ने ‘स्टेल्थ’ फाइटर जेट हो। यसको सबैभन्दा ठूलो विशेषता भनेको यो निकै छोटो दुरीबाट उडान भर्न सक्छ र हेलिकप्टर जस्तै सिधै तल ओर्लन (भर्टिकल ल्यान्डिङ गर्न) पनि सक्छ।
यसको प्रयोग अमेरिकी मरिन कर्प्स, नौसेना र वायुसेनाले गर्दछन्। पछिल्लो एक महिनामा अमेरिकी मरिन कर्प्सको एफ-३५बी सँग जोडिएको यो दोस्रो ठूलो दुर्घटना हो।
यसअघि वासिङ्टनमा पनि एउटा एफ-३५बी जेट दुर्घटनाग्रस्त भएको थियो। अहिले यस नयाँ दुर्घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको छ।
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4