News Summary
Generated by OK AI. Editorially reviewed.- अर्घाखाँचीमा हिन्दु र मुस्लिम समुदायका युवाहरूले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सन्धिखर्कमा संयुक्त सद्भाव कार्यक्रम सम्पन्न गरेका छन्।
- तराईका केही जिल्लामा देखिएको तनावप्रति चिन्ता व्यक्त गर्दै युवाहरूले आपसी भाइचारा र राष्ट्रिय एकताको बलियो सन्देश प्रवाह गरेका छन्।
- कार्यक्रममा सहभागी नसिब खानले भने, ‘हामी सबै नेपाली हौँ र हाम्रो धर्म फरक भए पनि सम्बन्ध, सम्मान र सहअस्तित्व एउटै हो।’
१६ साउन, अर्घाखाँची । अर्घाखाँचीमा हिन्दु र मुस्लिम समुदायका युवाहरूले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्दै शनिबार सन्धिखर्कस्थित शान्ति बगैंचामा सद्भाव कार्यक्रम सम्पन्न गरेका छन् ।
तराई–मधेशका केही जिल्लामा पछिल्लो समय देखिएका सामाजिक तथा साम्प्रदायिक तनावका घटनाप्रति चिन्ता व्यक्त गर्दै अर्घाखाँचीका जेन्जी युवाहरूले जिल्लामा आपसी भाइचारा, मेलमिलाप र सद्भाव कायम रहेको सन्देश दिन संयुक्त रूपमा कार्यक्रम आयोजना गरेका हुन् ।
हिन्दु र मुस्लिम समुदायका युवाहरूले एकअर्काले लगाउने परम्परागत टोपी साटासाट गरे, अङ्कमाल गरे र एउटै स्थानमा बसेर आपसी सम्मान तथा विश्वासको उदाहरण प्रस्तुत गरेका छन् । सहभागीहरूले धर्म फरक भए पनि सबै नेपालीको साझा पहिचान आपसी सम्मान, सहिष्णुता र एकता भएको बताएका थिए ।
युवाहरूले कुनै पनि प्रकारको धार्मिक वा साम्प्रदायिक द्वन्द्वले समाजलाई कमजोर बनाउने भएकाले सबै समुदायबीचको सद्भाव अझ बलियो बनाउन आवश्यक रहेको धारणा राखेका थिए ।
उनीहरूले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट फैलाइने भ्रम र घृणाको राजनीतिभन्दा माथि उठेर एकअर्काको संस्कार, संस्कृति र विश्वासको सम्मान गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका सहभागी युवा नसिब खानले अर्घाखाँचीमा सबै समुदायबीच सदियौँदेखि कायम रहेको भाइचारालाई अझ मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
‘हामी सबै नेपाली हौँ। हाम्रो धर्म फरक हुन सक्छ, तर हाम्रो सम्बन्ध, सम्मान र सहअस्तित्व एउटै हो। अहिले देशका केही स्थानमा देखिएका घटनाले हामीलाई सचेत बनाएको छ । त्यसैले हामीले ‘हामी सँगै छौं’ भन्ने सन्देश दिन यो कार्यक्रम गरेका हौं,’ उनले भने ।
सहभागी युवाहरूले धार्मिक विविधता नेपालको शक्ति भएको उल्लेख गर्दै कुनै पनि समुदायप्रति विभेद, घृणा वा हिंसालाई स्वीकार गर्न नसकिने स्पष्ट पारे। उनीहरूले शान्ति, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबै नागरिकलाई सकारात्मक भूमिका खेल्न आग्रह गरेका छन् ।
प्रतिक्रिया 4