+
+
Shares

अर्घाखाँचीमा २० जना बाँदर हेरालाका लागि आवेदन आह्वान

मासिक १२ हजार ५०० रुपैयाँ पारिश्रमिक, उमेर १८ देखि ४५ वर्षसम्म

डिभिजन वन कार्यालयले जारी गरेको सूचनाअनुसार हेरालाका लागि सम्बन्धित बाँदर प्रभावित क्षेत्रको स्थायी बासिन्दा हुनुपर्ने, उमेर १८ देखि ४५ वर्षभित्र हुनुपर्ने तथा वन, वन्यजन्तु र जैविक विविधता संरक्षणमा रुचि भएको हुनुपर्नेछ ।

प्रेमनारायण आचार्य प्रेमनारायण आचार्य
२०८३ साउन ६ गते २०:१७

६ साउन, अर्घाखाँची  । अर्घाखाँचीमा बाँदरबाट मकै जोगाउन २० जना बाँदर हेराला नियुक्त गरिने भएको छ । डिभिजन वन कार्यालय अर्घाखाँचीले सूचना प्रकाशित गर्दै बाँदर प्रभावित क्षेत्रमा हेराला नियुक्त गर्न आवेदन आह्वान गरेको हो ।

जिल्लाका बाँदरबाट अति प्रभावित २६ वटा क्षेत्रमा वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन गरिरहेका समूहहरूको लागत साझेदारीमा यो कार्यक्रम सञ्चालन गरिनेछ ।

नियुक्त गरिएका हेरालाले बाँदरको नियमित निगरानी गर्ने, किसानलाई समयमै सूचना दिने, बालीमा भएको क्षतिको अभिलेख राख्ने तथा मानवीय र वातावरणमैत्री तरिकाले बाँदरलाई खेतीयोग्य क्षेत्रबाट प्राकृतिक बासस्थानतर्फ धपाउने जिम्मेवारी पाउनेछन् ।

डिभिजन वन कार्यालयले जारी गरेको सूचनाअनुसार हेरालाका लागि सम्बन्धित बाँदर प्रभावित क्षेत्रको स्थायी बासिन्दा हुनुपर्ने, उमेर १८ देखि ४५ वर्षभित्र हुनुपर्ने तथा वन, वन्यजन्तु र जैविक विविधता संरक्षणमा रुचि भएको हुनुपर्नेछ ।

सामुदायिक वन, वन हेराला, नर्सरी हेराला वा यस्तै प्रकृतिको काममा अनुभव भएका व्यक्तिलाई प्राथमिकता दिइने डिभिजन वन कार्यालयका प्रमुख नारायणदेव भट्टराईले बताएका छन् ।

हेरालाहरूको साउन १० गतेदेखि असोज १० गतेसम्म (दुई महिना) रहनेछा। उनीहरूले मासिक १२ हजार ५०० पारिश्रमिक प्राप्त गर्नेछन् । इच्छुक नागरिकले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र कार्यालय समयमा आवश्यक कागजातसहित निवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

डिभिजन वन कार्यालयका सुचना अधिकारी केशव खड्काका अनुसार पछिल्ला वर्षहरूमा बाँदरका कारण मकै, तरकारी तथा फलफूल बालीमा ठूलो क्षति हुँदै आएको छ ।

बाँदरको समस्यालाई न्यूनीकरण गर्दै किसानको उत्पादन जोगाउने, मानव–वन्यजन्तु द्वन्द्व कम गर्ने तथा सहअस्तित्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले हेरालु नियुक्तिको कार्यक्रम सुरु गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?