+
+
Shares

आन्दोलनरत पक्षसँग मौखिक सहमति, खुल्यो बीपी राजमार्ग

गत जेठ ११ गते स्थानीय र वन प्रशासनसँग भएको विवादमा झुठा मुद्दा लगाइएको भन्दै स्थानीय सुकुमवासी तथा अव्यवस्थित बसोवासीहरुले सडक चक्काजाम गरेका थिए ।

विजय कुमार सिंह विजय कुमार सिंह
२०८३ साउन १६ गते १४:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महोत्तरीको बर्दिबास नगरपालिका–३ मा स्थानीयद्वारा अवरुद्ध बीपी राजमार्ग आन्दोलनरत पक्षसँगको मौखिक सहमतिपछि सञ्चालनमा आएको छ ।
  • जेठ ११ गतेको घटनामा झुठा मुद्दा दर्ता गरिएको भन्दै स्थानीयले सडक चक्काजाम गरी विरोध जनाएका थिए ।
  • प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र प्रहरी उपरीक्षक श्यामकुमार सारु मगरले आन्दोलनरत पक्षसँग समन्वय गरेपछि राजमार्ग खुलेको हो ।

१६ साउन, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानीमा प्रदर्शनकारीले अवरुद्ध गरेको बीपी राजमार्ग सञ्चालनमा आएको छ ।

आन्दोलनरत पक्षसँग मौखिक सहमति भएपछि बिहानदेखि अबरुद्ध राजमार्ग सञ्चालनमा आएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

गत जेठ ११ गते स्थानीय र वन प्रशासनसँग भएको विवादमा झुठा मुद्दा लगाइएको भन्दै स्थानीय सुकुमवासी तथा अव्यवस्थित बसोवासीहरुले सडक चक्काजाम गरेका थिए ।

जेठ ११ गते साँझ कालापानीस्थित वन क्षेत्रमा रहेको बस्ती खाली गराउन सूचना जारी गर्न वन कर्मचारीहरू आएको भन्दै स्थानीयले उनीहरूलाई राति १२ बजेसम्म नियन्त्रणमा राखेका थिए ।

सो क्रममा बर्दिबास नगरपालिका–३, कालापानीमा डिभिजन वन कार्यालयको बा.२ झ २७४९ नम्बरको सरकारी गाडीमा आगजनी समेत गरिएको थियो ।

त्यसबेला घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिने, घटनामा घाइते भएकाहरूको उपचार राज्यले गर्ने र घटनामा कसैविरुद्ध मुद्दा चलाएर धरपकड नगर्ने विषयमा स्थानीय प्रशासनसँग सहमति भएको थियो । तर, प्रहरीले अहिले घटनामा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएपछि स्थानीय पुन: आक्रोशित बनेका छन् ।

उक्त प्रकरणमा चारजनामाथि झुठा मुद्दा लगाइएको भन्दै बुधबार कालापानीमा बसेको सर्वदलीय बैठकले आरोपीहरु निर्दोष रहेकोले तीन दिनभित्र मुद्दा फिर्ताका लागि स्थानीय प्रशासनलाई अल्टिमेटम दिएको थियो ।

तीनदिने अल्टिमेटम शुक्रबार सकिएपछि स्थानीय सुकुमवासी तथा अव्यवस्थित वसोवासीहरु शनिबार बिहानैदेखि राजमार्ग अवरुद्ध पार्दै आन्दोलनमा उत्रिएका थिए ।

राजमार्ग अवरुद्ध भएपछि प्रमुख जिल्ला अधिकारी यादव र जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकुमार सारु मगरले कालापानी पुगेर आन्दोलनरत पक्षसँग समन्वय गरेपछि राजमार्ग खुलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?