१६ साउन, बुटवल । नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद सफिकउर रहमानले नेपाल र बंगलादेशबीच पर्यटन प्रवर्द्धनका साझा कार्यक्रम आवश्यक रहेको बताएका छन् ।
बुद्ध जन्मस्थल लुम्बिनीसहित रुपन्देहीका पर्यटकीय स्थलको भ्रमणका क्रममा शनिबार पाल्पाको बसन्तपुर पुगेका राजदुत रहमानले लुम्बिनी क्षेत्रमा पर्यटन विकासको प्रचूर सम्भावना रहेको बताएका हुन् ।
नेपाल भ्रमण गर्नेमध्ये चौथो ठूलो संख्या बंगलादेशका पर्यटक रहेको उल्लेख गर्दै राजदूत रहमानले यो संख्या थप वृद्धि गर्न आफूले पहल गर्ने बताए ।
‘लुम्बिनी र बुद्धसँग जोडिएका ऐतिहासिक सम्पदाहरूसँगै प्राकृतिक हिसाबले रमणीय हिल स्टेसनहरू विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य हुन्’, उनले भने, ‘दीगो पर्यटनका लागि नेपाल र बंगलादेशबीच दुबै देशको पर्यटन प्रवर्द्धन हुनेगरी साझा पर्यटन कार्यक्रम बनाउन सकिन्छ ।’
राजदूत रहमानले बुटवल र सिंगो रुपन्देहीले पूर्वाधार विकासमा तीव्र रूपमा फड्को मारेको आफूले जानकारी पाएको बताउँदै उनले भविष्यमा यहाँ पर्यटन, कृषि र साना तथा मझौला व्यवसायको राम्रो सम्भावना रहेको बताए ।
राजदूत रहमानले नेपाल-बङ्गलादेशबीच जनस्तरमा समेत सम्बन्ध विस्तार भइरहेको पनि बताए ।
राजदूत रहमानलाई लुम्बिनी केलबकारका लगानीकर्ता तेजप्रसाद बिक, अपरेसन म्यानेजर डीएन कायस्थ सैंजूले स्वागत गरेका थिए ।
प्रतिक्रिया 4