News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले जनकपुरमा आन्दोलनरत पक्षसँग सुरक्षा अवस्था र सामाजिक सद्भावका विषयमा दोस्रो चरणको वार्ता सुरु गरेको छ।
- गृहमन्त्री सुधन गुरुङ र मुख्यमन्त्री कृष्णप्रसाद यादवसहितका प्रतिनिधि वार्तामा सहभागी भई समाधान खोज्ने प्रयास गरिरहेका छन्।
- तराईका जिल्लाहरूमा हिंसात्मक झडपमा तीन युवाको मृत्यु भएपछि चर्किएको आन्दोलनलाई शान्त पार्न वार्ता केन्द्रित रहेको छ।
१६ साउन, जनकपुरधाम । सरकारले जनकपुरमा आन्दोलनरत पक्षसँग दोस्रो चरणको वार्ता सुरु गरेको छ । वार्तामा तीनै सरकारको प्रतिनिधि रहेका छन् ।
गृहमन्त्री सुधन गुरुङ, मधेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादव, मधेशका अर्थमन्त्री युवाराज भट्टराई, गृहमन्त्री फकिरा महतो, रास्वपा सांसद मनिष झा लगायत वार्तामा सहभागी छन् ।
यसअघि आजै दिउँसो पहिलो चरणको वार्ता भए पनि सहमति जुट्न सकेको थिएन ।
गत साउन १० गते सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा परी दुई युवकको मृत्यु भएपछि तराईका जिल्लाहरूमा प्रदर्शन र आन्दोलन चर्किएको थियो ।
सोही क्रममा सिरहामा दुई समूहबीचको विवादले उग्र रूप लिँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर थप एक जना युवाको ज्यान गएको थियो ।
आन्दोलनलाई शान्त पार्न र सुरक्षा अवस्थाको प्रत्यक्ष अनुगमन गर्न गृहमन्त्री गुरुङ यतिबेला मधेशका जिल्लाहरूमा छन् ।
वार्ताका माध्यमबाट केही स्थानको माहोल क्रमिक रूपमा शान्तिपूर्ण बन्दै गएको छ ।
प्रशासनले केही जिल्लाहरूबाट कर्फ्यु हटाए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा भने अझै पूर्ण रूपमा हटाएको छैन ।
सरकारले वार्ता र संवादका माध्यमबाटै सामाजिक सद्भाव कायम राख्दै समस्याको समाधान खोज्ने प्रयास गरिरहेको सरकारी पक्षले बताएको छ ।
प्रतिक्रिया 4