News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरी र सिरहाको तनाव नेपालगञ्जमा फैलिन नदिन शनिबार स्थानीय प्रशासन, धर्मगुरु र नागरिक समाजको सहभागितामा सद्भाव र्याली आयोजना गरिएको छ।
- बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले अफवाहका आधारमा सामाजिक सद्भाव खलबल्याउने कुनै पनि गतिविधिमा संलग्न नहुन सबैमा आग्रह गरेका छन्।
- विगतका हिंसाबाट पाठ सिकेको नेपालगञ्जले शान्ति र सद्भाव कायम राख्न अन्तरधार्मिक संवाद तथा सहकार्यलाई निरन्तर प्राथमिकता दिँदै आएको छ।
१७ साउन, नेपालगञ्ज । शनिबार बिहान नेपालगञ्जको बीपी चोकमा विभिन्न धर्मका गुरु, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षाकर्मी, नागरिक समाजका अगुवा र उद्योगी–व्यवसायी एकै ठाउँमा जम्मा भए।
उनीहरू त्यहाँ कुनै उत्सव मनाउन भेला भएका थिएनन्। सुनसरी र सिरहामा देखिएको तनावको बाछिटा नेपालगञ्जसम्म नआओस् भन्ने साझा सन्देश लिएर सडकमा निस्किएका थिए।
बीपी चोकबाट सुरु भएको सद्भाव र्याली वीरेन्द्र चोकसम्म पुग्यो। र्याली छोटो थियो, तर यसले बोकेको सन्देश नेपालगञ्जको इतिहाससँग जोडिएको थियो- हिंसाले पटक–पटक घाइते बनाएको शहर फेरि यसको सिकार हुन चाहँदैन।
जिल्ला प्रशासन कार्यालय बाँकेको संयोजनमा आयोजित र्यालीमा स्थानीय तह, राजनीतिक दल, सुरक्षा निकाय, धार्मिक अगुवा, नागरिक समाज, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए। शुक्रबार बसेको सर्वपक्षीय बैठकले र्याली आयोजना गर्ने निर्णय गरेको थियो।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा १० साउनमा सुरु भएको विवादले उग्र रूप लिएपछि पूर्वी तराईका केही जिल्लामा तनाव फैलिएको थियो। त्यहाँको घटनापछि नेपालगञ्जमा पनि अफवाह र उत्तेजक गतिविधिले पुरानो घाउ बल्झाउने हो कि भन्ने चिन्ता बढेको छ।
त्यसैले स्थानीय प्रशासनले सर्वदलीय तथा सर्वपक्षीय बैठकसँगै सुरक्षा निगरानी बढाएको जनाएको छ। धर्मगुरु र नागरिक समाजका अगुवाहरू पनि समुदायस्तरमा संवाद गरिरहेका छन्।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले कुनै घटना वा अफवाहका आधारमा सामाजिक सद्भाव खलबल्याउने गतिविधिमा संलग्न नहुन आग्रह गरे।
‘सत्यतथ्यमा आधारित सूचनामा मात्रै विश्वास गरौं,’ उनले भने, ‘शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न प्रशासन, राजनीतिक दल, नागरिक समाज र सबै समुदायबीच सहकार्य आवश्यक छ।’
हिंसाले सिकाएको पाठ
नेपालगञ्जका लागि सामाजिक सद्भाव भाषणमा दोहोर्याइने शब्दमात्र होइन। यो त शहरका नागरिकले हिंसा, आगजनी, तोडफोड र त्रासबीच सिकेको पाठ हो।
२०५४ सालपछि नेपालगञ्जले पटक–पटक सामुदायिक तनाव सामना गरेको छ। २०६३ सालको हिंसा कसैको नियन्त्रणमा रहेन। एक युवकको ज्यान गयो, धेरै घाइते भए र ठूलो भौतिक क्षति भयो।
घटनाको सुरुआत राजनीतिक विवादबाट भए पनि अफवाह फैलिएसँगै यसले पहाडे–मधेसी र हिन्दु–मुस्लिम समुदायबीचको हिंसात्मक भिडन्तको रूप लिएको थियो। घटनाबारे प्रकाशित खोज पत्रकारिता केन्द्रको विस्तृत अध्ययनले पनि समयमै प्रशासनिक हस्तक्षेप नहुँदा राजनीतिक विवाद सामुदायिक हिंसामा बदलिएको उल्लेख गरेको छ।
त्यही घटनापछि प्रशासन र नागरिक समाजको पहलमा हिन्दु, मुस्लिम, बौद्ध, शिख र इसाई धर्मगुरुलाई समेटेर अन्तरधार्मिक सञ्जाल बनाइएको थियो।
बागेश्वरी मन्दिरका मूलमहन्त चन्द्रनाथ योगी अध्यक्ष र मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरी उपाध्यक्ष रहेको सञ्जालमा इसाई, बौद्ध र शिख धर्मगुरु पनि जोडिए।
हिंसापछिका कठिन दिनमा उनीहरू एकअर्काको मोटरसाइकलमा बसेर शहर घुम्थे। विभिन्न समुदायका बस्तीमा पुगेर शान्ति र संयमताको अपिल गर्थे। परिस्थिति तनावपूर्ण हुँदा उनीहरूको संयुक्त उपस्थितिले समुदायलाई आश्वस्त बनाउँथ्यो।
पछि यही सञ्जाल ‘अन्तरधार्मिक तथा सामाजिक सद्भाव समिति’का रूपमा सक्रिय भयो। समितिले प्रशासन र सुरक्षा निकायसँग समन्वय गरेर धार्मिक पर्व मनाउने स्थान, समय र मार्गसमेत तय गर्न सहयोग गर्दै आएको छ।
पर्वले जोडेको सम्बन्ध
नेपालगञ्जमा दशैं र ईदका अवसरमा हिन्दु तथा मुस्लिम समुदायका अगुवाले शुभकामना साटासाट गर्ने पुरानो परम्परा छ। ईद मिलन, होली मिलनलगायत कार्यक्रमले समुदायबीचको सम्बन्धलाई नजिक बनाएका छन्।
तर पछिल्ला वर्षमा साना विवादलाई धार्मिक रंग दिने, सामाजिक सञ्जालमार्फत अपुष्ट सूचना फैलाउने र समुदायलाई उत्तेजित बनाउने प्रवृत्तिले चुनौती थपेको धर्मगुरुहरू बताउँछन्।
मूलमहन्त योगी नेपालगञ्जको सद्भाव भत्काउने प्रयास सफल हुन नदिने बताउँछन्।

‘सदियौँदेखि हामी हिन्दु–मुस्लिम नभनी मिलेर बसेका छौं र मिलेरै बस्न चाहन्छौं,’ उनी भन्छन्, ‘कसैले आफ्नो स्वार्थका लागि यहाँका जनतालाई भिडाउने कोसिस गरिरहेका छन्। हामी त्यस्तो हुन दिँदैनौं। सहिष्णुता र सद्भाव कायम राख्छौं।’
मौलाना अब्दुल जब्बार मन्जरी पनि हिंसाको विकल्प संवाद मात्रै भएको बताउँछन्।
‘सुनसरी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्छ। पीडित परिवारलाई राहत र न्याय दिनुपर्छ,’ उनी भन्छन्, ‘हिंसाले दुःख र पीडाबाहेक केही दिँदैन। वार्ताको टेबुलमा बसेर शान्ति र सद्भावका लागि पहल गरौं।’
उनले हिन्दु र मुस्लिम समुदायबीच परस्पर आदर र सम्मान कायम राख्न आग्रह गरे।
‘दशैं र ईद दुवैमा सबै समुदाय रमाउन सक्ने वातावरण बनाऔं,’ मन्जरी भन्छन्, ‘कसैको ज्यान गए नेपालीकै जान्छ। कसैको क्षति भए समग्र देशकै क्षति हुन्छ।’
र्यालीले मात्रै पुग्दैन
सद्भाव र्यालीले तत्काल शान्तिको सन्देश दिए पनि नेपालगञ्जका नागरिक समाजका अगुवा राज्यको दायित्व यतिमै पूरा नहुने बताउँछन्।
विगतका हिंसापछि छानबिन समिति गठन भए, प्रतिवेदन तयार भए र विभिन्न सुझाव दिइए। तर प्रतिवेदन कार्यान्वयन तथा हिंसाका आधारभूत कारण सम्बोधन भएको अनुभूति स्थानीयले गर्न पाएका छैनन्।
सीमावर्ती र धार्मिक–सांस्कृतिक विविधता भएको नेपालगञ्जको सुरक्षा व्यवस्थापनका लागि अनुभवी प्रशासनिक तथा सुरक्षा नेतृत्व आवश्यक हुने पूर्वडीआईजी एवं सुरक्षाविद् हेमन्त मल्ल बताउँछन्।
‘आन्तरिक सुरक्षालाई घटना भइसकेपछि मात्रै हेर्ने विषय बनाउनु हुँदैन,’ उनी भन्छन्, ‘संवेदनशील जिल्लामा अधिकारी खटाउँदा अनुभव, क्षमता र कार्यसम्पादनलाई प्राथमिकता दिनुपर्छ। नियमित सुरक्षा विश्लेषण र समुदायसँगको संवाद पनि उत्तिकै आवश्यक हुन्छ।’
मल्ल सामाजिक सद्भावमा असर पार्न सक्ने गतिविधि पहिचान गर्न राज्यको पूर्वतयारी कमजोर रहेको बताउँछन्। धार्मिक संस्थामा विदेशबाट आउने रकमको पारदर्शिता तथा गुरुकुल, गुम्बा, मदरसालगायत सबै धार्मिक शिक्षालयका शिक्षक, पाठ्यक्रम र गतिविधिको समान कानुनी मापदण्डमा अनुगमन हुनुपर्ने उनको भनाइ छ।
तर यस्तो अनुगमन कुनै धर्म वा समुदायलाई शंकाको घेरामा राख्ने गरी नभई सबैलाई समान रूपमा लागू हुने स्पष्ट कानुनी व्यवस्थाका आधारमा हुनुपर्ने देखिन्छ।
सद्भाव संकटअघिकै अभ्यास
नेपालगञ्जको अनुभवले हिंसा सुरु भएपछि सुरक्षाकर्मी परिचालन गर्नु मात्र पर्याप्त नहुने देखाएको छ। अफवाह फैलिनुअघि सही सूचना, समुदायबीच अविश्वास बढ्नुअघि संवाद र भीड बन्नुअघि जिम्मेवार नेतृत्वको उपस्थिति आवश्यक हुन्छ।
शनिबारको र्यालीले संकट समाप्त भएको घोषणा गरेको होइन। सुनसरी र सिराहाका घटनाबाट सिर्जित चिन्ता नेपालगञ्जमा अझै छ। तर हिंसाको इतिहास बोकेको शहरले यसपटक डरभित्रैबाट संवाद र सहकार्यको बाटो रोजेको छ।
मूलमहन्त योगी र मौलाना मन्जरी एउटै र्यालीमा हिँड्नु आफैंमा नेपालगञ्जले वर्षौंको अभ्यासबाट विकास गरेको सद्भावको प्रतीक हो।
किनकि यो शहरले बुझेको छ- सद्भाव हिंसा भड्किएपछि सम्झिने नारा होइन, हिंसा भड्किन नदिन हरेक दिन अभ्यास गरिने संस्कार हो।
प्रतिक्रिया 4