+
+
Shares

सरकारी विधेयकमा रास्वपाबाटै संशोधन प्रस्ताव दर्ता

सरकारी विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्नेमा रास्वपाका सांसद् ६ जना रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १७ गते १७:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सेवा दल विधेयक २०८३ माथि १४ जना सांसदले ७८ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
  • रास्वपा, कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीका सांसदले विधेयकका प्रावधानमाथि विभिन्न संशोधन पेस गरेका हुन् ।
  • विद्यालयमा विद्यार्थीलाई अनुशासित बनाउने र राष्ट्र सेवामा खटाउन सक्ने कानूनी व्यवस्थाका लागि सरकारले यो विधेयक संसद्मा प्रस्तुत गरेको छ ।

१७ साउन, काठमाडौं । राष्ट्रिय सेवा दल विधेयक २०८३ मा सत्तारुढ दल रास्वपाबाट समेत संशोधन प्रस्ताव दर्ता भएको छ । यो विधेयकमाथि ७८ वटा संशोधन प्रस्ताव दर्ता भएको छ । १४ जना सांसदले राष्ट्रिय सेवा दल विधेयकमाथि संशोधनको सूचना पेस गरेका हुन् ।

सरकारी विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्नेमा रास्वपाका सांसद् ६ जना रहेका छन् ।

क्रान्तिशिखा धिताल, लिमा अधिकारी (आचार्य), रन्जु न्यौपाने, सुशील खड्का, नितिमा भण्डारी (कार्की) र डा. तोसिमा कार्कीले संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

यसबाहेक कांग्रेसका तीन जना नरेन्द्र कुमार केरुङ, रेनुका काउँचा र गंगालक्ष्मी अवालको संशोधन प्रस्ताव दर्ता भएको छ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका दुई/दुई जनाले संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

जसमा नेकपा एमालेका कृपाराम राना र गुरु प्रसाद बराल, नेपाली कम्युनिस्ट पार्टीका गणेश बहादुर विश्वकर्मा र परशुराम तामाङ रहेका छन् ।

नेपालको संविधानको धारा ५१ को खण्ड (क) (राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीति) को क्र.सं (६) मा राष्ट्रिय आवश्यकता अनुरूप नागरिकलाई राष्ट्रको सेवा गर्न तत्पर र सक्षम बनाउने नीति राज्यले अवलम्बन गर्ने उल्लेख छ । यही संवैधानिक व्यवस्थामा टेकेर सरकारले सरकारले यो विधेयक ल्याएको हो ।

विधेयकको उद्देश्य अन्तर्गत भनिएको छ, ‘विद्यालयमा अध्ययनरत विद्यार्थीमा देश प्रेम, जनसेवा, राष्ट्रिय एकताको भावना जगाई नैतिक र अनुशासित बनाउन तथा राष्ट्रिय आवश्यकताको आधारमा जुनसुकै नेपाली नागरिकलाई तालिम दिन र तालिम प्राप्त गरेका व्यक्तिलाई स्वयं सेवकका रुपमा राष्ट्र सेवामा खटाउन सक्ने गरी कानूनी व्यवस्था गर्न आवश्यक परेकोले प्रस्तुत विधेयक संघीय संसदमा पेश गर्नु परेको हो ।’

विधेयकअनुसार विद्यार्थीलाई राष्ट्र सेवाभाव विकास गरी स्वयंसेवकको रूपमा सहभागी गराउन सक्षम जनशक्ति तयार गर्ने प्रयोजनका लागि तालिम प्रदान गर्न एक राष्ट्रिय सेवा दल रहनेछ ।

काठमाडौं उपत्यकामा सेवा दलको मुख्यालय र आवश्यकता अनुसार विभिन्न स्थानमा सेवा दलको शिक्षालय रहनेछ ।

सेवा दलको काम, कर्तव्य र अधिकार अन्तर्गत भनिएको छ, ‘विद्यार्थीलाई अनुशासित, बफादार, इमान्दार, स्वाभिमानी बनाउँदै राष्ट्रप्रेम, जनताप्रति सेवाभाव तथा राष्ट्रिय एकताको भावना जागृत गराउने र नेतृत्व क्षमताको विकास गराउने ।’

विकास निर्माण कार्यमा सहयोग पुर्याउन सक्ने स्वयंसेवक समूह तयार गर्ने, विशेष परिस्थितिमा स्वयंसेवकको रुपमा तोकिए बमोजिम परिचालन हुनसक्ने जनशक्ति तयार गर्ने यो विधेयकको उद्देश्य छ ।

राष्ट्रिय सेवा दलको तालिम अवधिभरको लागि आवश्यक पर्ने प्रशिक्षक बहालवाला सैनिकबाट खटाइनेछ ।

नेपाली सेनाको सम्बन्धित निकाय, शिक्षा समन्वय निकाय र स्थानीय तहका निकायसँग समन्वय गरी विद्यालय छनोट गरिनेछ । प्रधानमन्त्री सेवा दलको प्रमुख संरक्षक र रक्षामन्त्री संरक्षक हुनेछन् ।

यी प्रस्तावित प्रावधानहरूमा सांसदहरूले संशोधन प्रस्ताव राखेका हुन् ।

के–के छन् संशोधन प्रस्ताव ?

रास्वपाकी सचेतक क्रान्तिशिखा धितालले राष्ट्रिय आवश्यकता भन्नाले नेपाल सरकार, मन्त्रिपरिषद्ले संघीय संसद्को दुवै सदनको स्वीकृति लिई तोकेको, समयावधि किटान गरिएको र सार्वजनिक रूपमा अधिसूचना प्रकाशित गरिएको परिस्थिति वा अवस्था सम्झनुपर्ने भनेर लेख्ने प्रस्ताव गरेकी छन् ।

यस्तो घोषणा एकपटकमा नब्बे दिनभन्दा बढी अवधिको हुने छैन भने प्रष्ट लेख्नुपर्ने उनको प्रस्ताव पनि छ ।

सांसद लिमा अधिकारी (आचार्य)ले यो विधेयकसँग सम्बन्धित कामको समन्वयको जिम्मेवारी रक्षा मन्त्रालयलाई नभएर शिक्षा तथा खेलकुद मन्त्रालयलाई दिने प्रस्ताव राखेकी छन् ।

उनले आफ्नो प्रस्तावमा लेखेकी छन्, ‘सेवा दलको तालिम सञ्चालनका लागि आवश्यक पर्ने प्रशिक्षकहरू रक्षा मन्त्रालयले निर्धारण गरेको मापदण्डबमोजिम नेपाली सेनाका अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका अधिकारी तथा तालिमप्राप्त नागरिक प्रशिक्षक सम्मिलित एक संयुक्त संयन्त्रबाट खटाइनेछ र प्रशिक्षकहरूको कम्तीमा ४० प्रतिशत भाग शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा तोकिएका गैर–सैनिक विज्ञ वा तालिमप्राप्त नागरिक प्रशिक्षक हुनेछन् ।’

सांसद नरेन्द्र कुमार केरुङले राष्ट्रिय आवश्यकता भन्नाले प्राकृतिक विपद्, महामारी, वा संघीय संसद्ले घोषणा गरेको आपतकालीन अवस्था जस्ता परिस्थितिमा मात्र सीमित रहेर मन्त्रिपरिषद्ले तोकेको परिस्थिति वा अवस्था सम्झनुपर्ने भनेर लेख्नुपर्ने प्रस्ताव गरेका छन् ।

साथै यस्तो परिस्थिति तोक्नुअघि संघीय संसद्को सम्बन्धित समितिलाई पूर्वजानकारी दिनुपर्ने उनको प्रस्ताव छ ।

रास्वपाकी सचेतक धितालले दफा १९ को संशोधन गरेर नयाँ लेख्ने प्रस्ताव गरेकी छन् ।

यसमा ‘राष्ट्रिय आवश्यकताको आधारमा तालिम दिने र राष्ट्र सेवामा खटाउन सक्ने’ व्यवस्था छ ।

जसमा ‘नेपाल सरकार, मन्त्रिपरिषद्ले विशेष परिस्थिति, युद्ध वा आन्तरिक द्वन्द्वको समयमा दफा १४ बमोजिम योग्य नभएका अठार वर्ष उमेर पूरा भएका नेपाली नागरिकलाई सेवा दलमार्फत तालिम दिन सक्नेछ’ भनेर लेख्ने उनको प्रस्ताव छ ।

‘तालिम अठार वर्षभन्दा कम उमेरका व्यक्तिलाई कुनै पनि अवस्थामा दिइने छैन’ भनेर प्रस्ट लेख्नुपर्ने बताएकी छन् ।

यससम्बन्धी निर्णय संघीय संसद्को दुवै सदनसमक्ष पन्ध्र दिनभित्र पेस गर्नुपर्ने र संसद्ले अस्वीकृत गरेमा त्यस्तो निर्णय स्वत: निष्क्रिय हुने’ भनेर पनि लेख्ने उनको प्रस्ताव रहेको छ ।

अब यी संशोधनहरू र विधेयक एकै ठाउँमा राखेर दफावार छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?