News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सांसद हरि पन्तले वीरगञ्जको नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछिको आन्दोलनप्रति सदनमा गम्भीर चासो व्यक्त गरेका छन्।
- सांसद पन्तले उक्त घटनाको गहन अध्ययन गरी दोषीलाई कडा कारबाही गर्न र निर्दोष व्यक्ति पक्राउ परेका भए रिहा गर्न सरकारसँग माग गरेका छन् ।
- सरकारमा परिवर्तनको महसुस गर्न नपाएको बताउँदै पन्तले मन्त्री र सचिवहरूबीच समन्वयको अभाव रहेको भन्दै सदनमा असन्तुष्टि जनाएका छन्।
१४ साउन, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि पन्त (बुद्धिप्रसाद)ले आफूले सरकारमा परिवर्तन महसुस गर्न नपाएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तोमा जनताले कसरी परिवर्तनको महसुस गर्न पाउलान् भनेर प्रश्न गरेका हुन् ।
प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले गत शनिबार वीरगञ्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचाररत बिरामीको मृत्यु भएको विषय उठाए । त्यसपश्चात उत्पन्न तनावपूर्ण स्थिति, डाक्टरमाथि भएको हातपात र त्यसपछि देशैभरका चिकित्सकहरू आन्दोलित भएको घटनाको विषय सदनमा राखे ।
‘यस घटनाक्रममा कहाँ–कहाँ कस-कसबाट कसरी–कसरी गल्ती र लापरबाही हुन पुगेको छ, ती सबैको मिहीन अनि गहन रूपमा अध्ययन गरी देखिएका दोषीहरूलाई कडा भन्दा कडा कारबाहीको लागि जोडदार माग गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु’ उनले भने ।
शोक सन्तप्त परिवारजनमा गहिरो संवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले पक्राउ परेका व्यक्ति निर्दोष भए उनको रिहाइको माग गरे ।
घटनापछि वीरगञ्जका चिकित्सकहरू आन्दोलित भएर जिल्ला प्रशासन कार्यालयमा बसेको वार्ता भाँडिएसँगै उनीहरू जिल्लाका प्रमुखसँग वार्तामा नबस्ने अडान लिएपश्चात् आफू सोमबारदेखि नै स्वास्थ्यमन्त्रीसँग निरन्तर टेलिफोन संवादमा रहेको बताए ।
‘मंगलबारको भेटपछि मन्त्रीज्यू त्यसै दिन एउटा टोली लिएर वीरगञ्ज जाने कुरो थियो । लगत्तै मन्त्रीज्यूको विराटनगर भ्रमण परेपछि उहाँले स्वास्थ्य सचिवको नम्बर दिएर समन्वय गर्न भन्नुभयो र त्यसपछि म गृह र स्वास्थ्य सचिवहरूसँग निरन्तर टेलिफोन संवादमा थिएँ । फोन कहिले उठ्थे कहिले उठ्दैन थिए अनि म्यासेज पनि गर्थेँ’ सांसद पन्तले भने ।
त्यसैबीचमा आफूले उनीहरूसँग निरन्तर संवादको क्रममा कहिले चिठी पठाएको उल्लेख गर्दै उनले थपे, ‘कहिले नाम आएको छैन, कहिले गृहले स्वास्थ्यतिर देखाउने, कहिले स्वास्थ्यले गृहतिर देखाउने हुँदै गर्दा म स्वयम्ले जेनजी आन्दोलनको जग अनि परिवर्तनको नारामा बनेको यो सरकारमा परिवर्तन महसुस गर्न पाइनँ । जनताले कसरी परिवर्तन महसुस गर्न पाउलान् र सभामुख महोदय ।’
प्रतिक्रिया 4