News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल विद्युत् प्राधिकरणको पोल भाडा बक्यौता असुली प्रक्रिया वर्ल्डलिंक कम्युनिकेसन्सले भुक्तानी अघि बढाएसँगै औपचारिक रूपमा सुरु भएको छ ।
- वर्ल्डलिंकले स्वघोषणा र संयुक्त प्रमाणीकरणका आधारमा कर कट्टी गरी यसअघिको दोहोरो भुक्तानी समायोजन गर्दै बाँकी बक्यौता रकम बुझाएको हो ।
- ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले सेवा प्रदायकले कानुन बमोजिमको शुल्क भुक्तानी गर्नु दायित्व भएको बताउँदै यो कदमलाई सकारात्मक सुरुवातका रूपमा उल्लेख गरे ।
१४ साउन, काठमाडौं । लामो समयदेखि रोकिएको नेपाल विद्युत् प्राधिकरणको विद्युत् पोल भाडा बक्यौता असुली प्रक्रिया सुरु भएको छ ।
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले विद्युत् प्राधिकरण अन्तर्गत वितरण तथा ग्राहक सेवा निर्देशनालय, बागमती प्रदेश डिभिजनल कार्यालय मार्फत पोल भाडा बक्यौता भुक्तानी प्रक्रिया सुरु गरेको हो ।
वर्ल्डलिंकले आर्थिक वर्ष २०८२/८३ को स्वघोषणाका आधारमा निर्धारण गरिएको पोल भाडा रकममध्ये कर कट्टीपछि भुक्तानी प्रक्रिया अघि बढाएको हो ।
कम्पनीले २०८१/८२ का हकमा संयुक्त रूपमा गरिएको पोल तथा डीबी बक्सको प्रमाणीकरणका आधारमा हिसाब मिलान गरी यसअघि भएको दोहोरो भुक्तानी समेत समायोजन गर्दै बाँकी रकम भुक्तानी गरेको जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राज्यको पूर्वाधार उपयोग गर्ने सबै सेवा प्रदायकले कानुन अनुसार तिर्नुपर्ने शुल्क समयमै भुक्तानी गर्नु दायित्व भएको बताएका छन् ।
उनले वर्ल्डलिंकबाट सुरु भएको भुक्तानी प्रक्रिया सकारात्मक सुरुवात भएको उल्लेख गर्दै अन्य सेवा प्रदायकले पनि कानुन बमोजिम आफ्नो दायित्व पूरा गर्ने विश्वास व्यक्त गरे ।
मन्त्री श्रेष्ठले सरकार विधिको शासन र कानुनको निष्पक्ष कार्यान्वयनमा प्रतिबद्ध रहेको स्पष्ट पार्दै कार्यान्वयन क्रममा देखिने व्यावहारिक समस्या समाधान कानुनको सीमाभित्र रहेर गरिने बताए ।
त्यस्तै कानुन कार्यान्वयनलाई अनावश्यक राजनीतिक रङ दिने वा भ्रम सिर्जना गर्ने प्रयासप्रति सचेत रहनुपर्ने उल्लेख गर्दै उनले सबैका लागि समान रूपमा कानुन कार्यान्वयन हुने सरकारको नीति रहेको बताए ।
प्रतिक्रिया 4