News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले पूर्ण सिलिन्डर ग्यास वितरण शुरू गरेपछि काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा खाना पकाउने ग्यासको गम्भीर अभाव सिर्जना भएको छ।
- ग्यास नपाउँदा सर्वसाधारण डिलर र सप्लायरकोमा घण्टौँ लाइन बस्न बाध्य भएका छन् भने यसबाट विद्यार्थी र साना परिवार बढी प्रभावित भएका छन्।
- नेपाल आयल निगमले बजारमा ग्यासको अभाव नरहेको दाबी गरे पनि डिलर सञ्चालकहरूले माग बढेका कारण समस्या देखिएको बताएका छन्।
१७ साउन, काठमाडौं । बजारमा भरी सिलिन्डर ग्यास (१४.२ किलो) पठाउन थालिएसँगै खाना पकाउने ग्यासको आपूर्ति प्रणालीमा समस्या देखिएको छ ।
नेपाल आयल निगमले बजारको मागभन्दा बढी नै ग्यास आयात भइरहेको दाबी गरे पनि उपभोक्ताहरू भने खाली सिलिन्डर बोकेर डिलरहरूमा लाइन लाग्न बाध्य छन् ।
यसअघि पनि बजारमा ग्यास अभाव चर्किएपछि आयल निगमले २०८२ फागुन अन्तिमतिरबाट आधामात्र भरिएको (७.१ किलो) सिलिन्डर बेच्ने व्यवस्था मिलाएको थियो । फेरि ३१ असारदेखि लागू हुने गरी निगमले सम्पूर्ण ग्यास उद्योगीहरूलाई पूरा तौलको सिलिन्डर बिक्री गर्न निर्देशन दिएको थियो । निगमको सोही निर्देशनअनुसार अहिले बजारमा पूरा तौलका सिलिन्डर गइरहेका छन् ।
भारतबाट ग्यासको आयात पनि पूर्ण क्षमतामा भइरहेको निगमले दाबी गरेको छ । तर, बजारको वास्तविक दृश्य भने निगमको दाबीभन्दा ठिक उल्टो छ ।
टोल–टोलमा रहेका ग्यास डिपोहरूमा ग्यास नपाएपछि उपभोक्ताहरू सीधै उद्योगमा धाउन थालेका छन् । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको ‘नेपाल ग्यास उद्योग’ को वितरण कक्षबाहिर रित्तो सिलिन्डर लिएर पालो पर्खिरहेका सयौं सर्वसाधारणको लामो लाइन लागेको छ ।

लाइनमा बसेका उपभोक्ताहरूले बाहिरका पसल र डिलरहरूमा ग्यास खोज्दा कतै नभेटिएपछि बाध्य भएर उद्योगकै वितरण केन्द्रमा आउनुपरेको गुनासो गरेका छन् ।
सहज रूपमा ग्यास नपाइने र डिलरहरूले रित्तो हात फर्काउने अवस्था आएपछि बजारमा कृत्रिम अभाव सिर्जना गरिएको उपभोक्ताको आरोप छ । यस विषयमा सम्बन्धित सरकारी निकायले तत्काल कडा अनुगमन गर्नुपर्ने माग उपभोक्ताहरूले गरेका छन् ।
आयल निगमले भने बजारमा हल्ला फैलिए जस्तो ग्यास तथा अन्य कुनै पनि पेट्रोलियम पदार्थको अभाव नरहेको भन्दै सर्वसाधारणलाई आश्वस्त पार्ने प्रयास गर्दै आएको छ ।
हिजो शनिबारदेखि निगमले डिलरकहाँ ग्यास नपाएका उपभोक्ताको सहजताका लागि भन्दै टेकुस्थित पुरानो कार्यालयमा नेपाल, एचपी, एभरेस्ट, सुगम र श्रीराम ब्रान्डको ग्यास बिक्री थालेको छ । तर, त्यहाँ पनि उपभोक्ता लाइन लागेका छन् । टेकुबाट पनि ग्यास नपाइएको उपभोक्ताको गुनासो छ ।
थप तस्वीरहरू–














प्रतिक्रिया 4