News Summary
Generated by OK AI. Editorially reviewed.- बिहारको बाँकीपुर विधानसभा उपनिर्वाचनमा जन सुराज पार्टीका प्रशान्त किशोरले भाजपाका नीरज कुमारलाई १९ हजार २४६ मतको अन्तरले पराजित गर्दै शानदार जित हासिल गरेका छन्।
- मध्य प्रदेशको दतियामा कांग्रेसका घनश्याम सिंहले भाजपाका उम्मेदवार आशुतोष तिवारीलाई ६ हजार १६ मतले हराउँदै लगातार दोस्रो पटक जित सुनिश्चित गरेका छन्।
- गुजरातको मन्जलपुर विधानसभा सिटमा भाजपाका सतेन्द्रभाइ पटेलले कांग्रेसका भिखाभाइ रबारीलाई ३० हजार ६३० मतको फराकिलो अन्तरले पराजित गर्दै आफ्नो वर्चस्व कायम राखेका छन्।
१८ साउन, काठमाडौं । भारतको बिहार, मध्य प्रदेश र गुजरात राज्यका तीनवटा विधानसभा सिटमा भएको उपनिर्वाचनको परिणाम सार्वजनिक भएको छ। जसमा सबैभन्दा बढी चासोको केन्द्र बनेको बिहारको बाँकीपुर सिटमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर (पीके) ले शानदार जित हासिल गरेका छन्।
यसका साथै, मध्य प्रदेशको दतियामा कांग्रेस र गुजरातको मन्जलपुरमा भारतीय जनता पार्टी (भाजपा) ले जित हात पारेका छन्।
प्रशान्त किशोरले भत्काए भाजपाको गढ
चुनावी रणनीतिकारबाट राजनीतिज्ञ बनेका प्रशान्त किशोरले आफ्नो चुनावी परीक्षामै ठूलो सफलता हात पारेका छन्। उनले बिहारको बाँकीपुर विधानसभा सिटमा भाजपाका उम्मेदवार नीरज कुमारलाई १९ हजार २४६ भोटको फराकिलो अन्तरले पराजित गरेका हुन्।
किशोरले कुल ६३ हजार ९४६ भोट प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी भाजपाका नीरज कुमारले ४४ हजार ७०० भोट मात्रै पाए। बान्कीपुर सिटलाई भाजपाको बलियो गढ मानिँदै आइएको थियो।
भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन यही सिटबाट लगातार ५ पटक विधायक बनेका थिए। उनी राज्यसभामा निर्वाचित भएपछि यो सिट खाली भएको थियो।
जितपछि प्रतिक्रिया दिँदै प्रशान्त किशोरले भने, ‘म विधायक बन्दैमा बाँकीपुर रातारात बेङ्गलोर त बन्दैन, तर तपाईंहरूले आगामी दुई-तीन महिनामै यहाँ केही सुधार पक्कै देख्नुहुनेछ।’
उनले थपे, ‘बाँकीपुरका जनताले भाजपा नेतृत्वलाई स्पष्ट सन्देश दिएका छन्- कृपया बिहारका लागि एक जना राम्रो व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गर्नुहोस् । बिहारीहरू केवल मजदुर बन्नका लागि जन्मिएका होइनन्।’
मध्य प्रदेशको दतियामा कांग्रेस विजयी
मध्य प्रदेशको दतिया विधानसभा सिटमा भएको उपनिर्वाचनमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले लगातार दोस्रो पटक भाजपालाई पराजित गरेको छ। कांग्रेस उम्मेदवार घनश्याम सिंहले भाजपाका आशुतोष तिवारीलाई ६ हजार १६ भोटले हराएका हुन्।
यस सिटमा भाजपाले आफ्ना पूर्व गृहमन्त्री नरोत्तम मिश्राको टिकट काटेर आशुतोष तिवारीलाई उम्मेदवार बनाएको थियो।
तर तिवारी आफ्नै पार्टीका प्रभावशाली नेता मिश्राको मतदान केन्द्रमा समेत पराजित भए। मतदान केन्द्र नम्बर १२१ मा कांग्रेसले २९१ भोट पाउँदा भाजपाले २६४ भोट मात्रै पायो।
गुजरातको मन्जलपुरमा भाजपाको वर्चस्व कायम
गुजरातको वडोदरास्थित मन्जलपुर विधानसभा सिटमा भने भारतीय जनता पार्टीले आफ्नो वर्चस्व कायम राखेको छ। भाजपाका उम्मेदवार सतेन्द्रभाइ (सतीश) पटेलले कांग्रेसका भिखाभाइ रबारीलाई ३० हजार ६३० भोटको भारी अन्तरले पराजित गरे।
यी तीनवटै सिटका लागि गत जुलाई ३० मा मतदान भएको थियो। प्रशान्त किशोरको पार्टीले पहिलो चुनावमै भाजपाको किल्ला भत्काएपछि पटनास्थित जन सुराज पार्टीको कार्यालयमा खुसीयाली मनाइएको छ। उता वडोदरामा भाजपाका कार्यकर्ताहरूले गरबा नृत्य गर्दै जितको उत्सव मनाएका छन् भने भोपालमा कांग्रेसले पनि जितको खुसीयाली मनाएको छ।
प्रतिक्रिया 4