+
+
Shares

टेकुको फोहोरबाट ऊर्जा परियोजना दुई महिनाभित्र पुन: सञ्चालनमा ल्याउने समझदारी

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते १०:०२

१९ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुस्थित लामो समयदेखि बन्द रहेको फोहोरबाट ऊर्जा परियोजना पुन: सञ्चालनमा ल्याउने तयारी गरेको छ । परियोजनाको पुन:स्थापना र दिगो सञ्चालनका लागि काठमाडौं महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी) बीच समझदारी भएको छ ।

समझदारीपत्रमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र एईपीसीका कार्यकारी निर्देशक नवराज ढकालले हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार परियोजनालाई आगामी दुई महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । परियोजनाको पुन:स्थापनाका लागि आवश्यक वित्तीय स्रोत विश्व बैंकको सहयोगमा केन्द्रले सञ्चालन गरिरहेको मिनी ग्रिड ऊर्जा पहुँच कार्यक्रम मार्फत व्यवस्थापन गरिने एईपीसीले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलबीच हालै भएको भेटमा परियोजना यही वर्ष सञ्चालनमा ल्याउने तथा काठमाडौंका सडकबत्तीको व्यवस्थापन र मर्मतसम्भारबारे छलफल भएको थियो ।

समझदारीपत्रमा हस्ताक्षरका अवसरमा कार्यवाहक प्रमुख डंगोलले परियोजनाको काम निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्दै भविष्यमा पनि महानगरपालिका र केन्द्रबीच यस्ता आयोजनामा सहकार्यलाई निरन्तरता दिने बताइन् ।

एईपीसीका कार्यकारी निर्देशक ढकालले परियोजना पुन: सञ्चालनका लागि आवश्यक तयारी पूरा भइरहेको जानकारी दिँदै विश्व बैंकको सहयोगबाट आवश्यक बजेट सुनिश्चित गरिएको बताए । आगामी दिनमा पनि फोहोरबाट ऊर्जा लगायतका नवीकरणीय ऊर्जा परियोजनामा महानगरसँग सहकार्यलाई निरन्तरता दिइने उनले बताए ।

समझदारीपत्रले परियोजनाको पुनर्निर्माण, सञ्चालन, हस्तान्तरण र दीर्घकालीन व्यवस्थापनका लागि दुवै पक्षको भूमिका र जिम्मेवारी स्पष्ट गरेको छ ।

युरोपियन युनियनको करिब १ करोड ८० लाख रुपैयाँ सहयोगमा निर्माण भएको उक्त परियोजना केही समय सञ्चालनमा आएपछि बन्द भएको थियो ।

एईपीसीका अनुसार विश्व बैंकको सहयोगमा सन् २०१४ देखि सञ्चालन भएको ‘नवीकरणीय ऊर्जा विस्तार कार्यक्रम–विस्तारित बायोग्यास आयोजना’ अन्तर्गत नगरपालिकाको फोहोरबाट ऊर्जा परियोजना र ठूला व्यावसायिक बायोग्यास प्लान्टमा सहयोग गर्दै आएको छ । हाल उक्त कार्यक्रम मिनी ग्रिड ऊर्जा पहुँच कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेको छ । यसअन्तर्गत हालसम्म सात वटा नगरपालिकामा फोहोरबाट ऊर्जा परियोजना कार्यान्वयन भइसकेका छन् भने २० भन्दा बढी ठूला व्यावसायिक बायोग्यास परियोजनाले सहयोग प्राप्त गरेका छन् ।

केन्द्रले देशभर नगर फोहोरबाट ऊर्जा परियोजना र व्यावसायिक बायोग्यासको सम्भाव्यता अध्ययन गरिसकेको जनाएको छ । साथै हरित जलवायु कोषमा पेश गर्न ४८ मिलियन अमेरिकी डलर बराबरको परियोजना प्रस्ताव अर्थ मन्त्रालयको सहमतिको प्रक्रियामा रहेको र पेरिस सम्झौताको दफा ६.२ अन्तर्गत फोहोरबाट ऊर्जामा आधारित कार्बन परियोजना विकासको काम पनि अघि बढाइएको केन्द्रले जनाएको छ ।

केन्द्रले संस्थागत, सामुदायिक तथा व्यावसायिक क्षेत्रका फोहोरबाट ऊर्जा उत्पादन गर्ने बायोग्यास परियोजनालाई प्रवर्द्धन गर्न साना, मझौला र ठूला बायोग्यास प्लान्ट निर्माणका लागि आशयपत्र आह्वान गरिसकेको जनाएको छ । काठमाडौं उपत्यकालगायत शहरी क्षेत्रमा कुहिने फोहोर व्यवस्थापनमा यस्ता परियोजनाले योगदान पुर्‍याउनुका साथै बायोग्यास र जैविक मल उत्पादनमार्फत चक्रीय अर्थतन्त्रलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?