News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा निधन भएका निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकारसँग माग गरेकी छन् ।
- सांसद रानामगरले पुर्जाले आफ्नो साहसिक विश्वकीर्तिमानमार्फत विश्वभर नेपालको पहिचान गराउन महत्त्वपूर्ण योगदान दिएको उल्लेख गरिन् ।
- पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल छ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए ।
१९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परेर ज्यान गुमाएका नेपाली आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेकी छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।
गत बिहीबार आरोहणका क्रममा हिमपहिरोमा परेर बेपत्ता भएका पुर्जाको शव सोमबार भेटिएको थियो । सांसद रानामगरले पुर्जाले आफ्नो साहसिक विश्वकीर्तिमानमार्फत नेपाललाई विश्वभर चिनाउन महत्त्वपूर्ण योगदान दिएको बताइन् ।
उनले पुर्जासहित ब्रोड पिकमा हिमपहिरोमा परि ज्यान गुमाएमाहरूमा हार्दिक श्रदाञ्जली समेत व्यक्त गरिन् ।
उनले भनिन्, ‘निर्मल पुर्जाले संसारभर नेपाललाई चिनाउन सफल हुनुभएको छ । त्यस्तो व्यक्तिलाई राज्यले राष्ट्रिय विभूतिको रूपमा लिनुपर्छ भन्ने कुराको माग गर्न चाहन्छु ।’
पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए । विश्वको १२ औँ अग्लो हिमाल ब्रोड पिकलाई आरोहणका लागि अत्यन्त चुनौतीपूर्ण हिमालमध्ये एक मानिन्छ ।
प्रतिक्रिया 4