१९ साउन, काठमाडौं । संसदीय समितिले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशमाथि महाभियोग दबाब आएको भन्दै चिन्ता व्यक्त गरेका तीन अन्तर्राष्ट्रिय संस्थालाई छलफलका लागि बोलाएको छ ।
प्रतिनिधिभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले ती संस्थाका प्रतिनिधिलाई छलफलका लागि बोलाएको हो ।
एमनेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्टले केही समयअगाडि सर्वोच्च अदालतका न्यायाधीशलाई राजीनामाको दबाब दिँदै नदिए महाभियोग लगाउने भन्दै धम्की दिइएको भन्दै वक्तव्य निकालेका थिए ।
सोही विषयमा छलफल गर्न ती संस्थाहरूलाई समितिमा बोलाएको समितिका सभापति समीक्षा बाँस्कोटाले जानकारी दिइन् । उनका अनुसार बुधबार बिहान साढे ९ बजे छलफल गर्ने गरी ती संस्थाका प्रतिनिधिलाई बोलाइएको छ ।
समिति बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम र महिला बालबालिका, लैङ्गिक तथा यौनिकअल्पसंख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीलाई पनि डाँकिएको छ । उक्त बैठकमा न्याय परिषद्का सचिव पनि बोलाइएको सभापति बाँस्कोटाले जानकारी दिइन् ।
तीन ख्यातिप्राप्त अन्तराष्ट्रिय मानवअधिकारवादी संस्थाले न्यायालयप्रति चासो राख्दै विज्ञप्ति निकालेपछि रास्वपा सांसद यज्ञमणि न्यौपानले यो विषयमा समितिमा छलफलको माग गरेर निवेदन दिएका थिए ।
समिति सभापति बाँस्कोटाले नेपालको न्यायलयप्रति अन्तराष्ट्रिय संस्थाहरूले देखाएको चासोबारे केही दिनअघि नै बैठक गर्ने सोच बनाएको भएपनि सुनसरी र मधेशमा भएका घटनाले ढिलाइ भएको बताइन् ।
प्रतिक्रिया 4