+
+
Shares

प्यान लिएर बिल जारी गर्न आन्तरिक राजस्व विभागले गरायो सचेत

कुनै व्यवसायीले हालसम्म प्यान नलिई व्यवसाय सञ्चालन गर्दै आएको भए अब नम्बर लिएर बिल जारी गर्न विभागले सचेत गराएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते २०:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आन्तरिक राजस्व विभागले सबै व्यवसायीलाई अनिवार्य स्थायी लेखा नम्बर लिई कारोबारको बिल जारी गर्न सचेत गराएको छ।
  • सरकारले कर अनुपालन बढाउन चालु आर्थिक वर्षदेखि सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुनेको संख्या करिब ११ लाख पुगेको छ।
  • एक सय रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गर्ने उपभोक्ताले बिल प्रविष्ट गरी दैनिक एक लाख र पन्ध्र दिनमा १० लाख रुपैयाँसम्म उपहार पाउन सक्नेछन्।

१९ साउन, काठमाडौं । आन्तरिक राजस्व विभागले सबै व्यवसायीलाई अनिवार्य स्थायी लेखा नम्बर (प्यान) लिन र बिल जारी गर्न सचेत गराएको छ ।

चालु आर्थिक वर्ष २०८३/८४ बाट सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु गरेको छ । सोही अनुसार कुनै व्यवसायीले हालसम्म प्यान नलिई व्यवसाय सञ्चालन गर्दै आएको भए अब नम्बर लिएर बिल जारी गर्न विभागले सचेत गराएको हो ।

वस्तु तथा सेवा खरिदबिक्रीमा बिजक लिनेदिने संस्कृति विकास गरी कर अनुपालन बढाउन, वास्तविक कारोबार अभिलेखन प्रोत्साहन गर्न र वस्तु तथा सेवा खरिद गर्दा उपभोक्तालाई अनिवार्य बिजक लिन उत्प्रेरित गर्न करदाता प्रोत्साहन उपहार सुरु गरिएको हो । विभागले उपभोक्तालाई समेत बिल अनिवार्य लिन भनेको छ ।

करदाता उपहार प्रोत्साहन कार्यक्रमका लागि योग्य कारोबार संख्या सोमबारसम्म करिब ११ लाख नजिक पुगेको छ । आन्तरिक राजस्व विभागका अनुसार सोमबार मध्याह्न १२ बजेसम्म यस्तो उपभोक्ता कारोबार संख्या १० लाख ८२ हजार ६ सय २२ पुगेको छ ।

यसमा क्यूआरबाट गरिएको कारोबार र नगद कारोबार गरी अपलोड गरिएको बिल संख्यासमेत समावेश छ । उपहार घोषणा हुनु अघिसम्म नगद कारोबारमा उपभोक्ताले प्राप्त गरेको भौतिक बिजक अझै पनि पठाउन सकिने भएकाले यो संख्या बढ्ने अनुमान विभागले गरेको छ ।

विभागका सूचना अधिकारी केशव रघुवंशीका अनुसार १ देखि १५ साउनसम्म क्यूआरबाट कारोबार गरेका १० लाख ७४ हजार ७ सय ९६ कारोबार उपहार कार्यक्रमका लागि योग्य छन् ।

यस्तै शनिबारदेखि खुला गरिएको भौतिक बिल अपलोड गर्ने सुविधामा पनि उल्लेख्य मात्रामा उपभोक्ता सहभागी छन् ।

विभागले पहिलो १५ दिन (साउन १ देखि १५ सम्म) मा १५ जनालाई दैनिक १/१ लाख र एक जनालाई बम्परमा १० लाख रुपैयाँ पुरस्कार दिने गरी छिट्टै उपहार घोषणा गर्दै छ ।

पहिलो प्रोत्साहन कार्यक्रम १६ साउनमा सार्वजनिक गर्ने घोषणा गरिए पनि प्राविधिक तयारी नपुगेका कारण केही ढिलाइ भएको विभागको भनाइ छ ।

विभागले पहिलो प्रोत्साहन उपहार घोषणा गर्ने अघिल्लो दिनसम्म नगद कारोबार गरेर बिल लिएका उपभोक्तालाई आफ्नो बिल प्रणालीमा प्रविष्ट गर्न अनुरोध गरेको छ ।

विभागले शनिबारदेखि करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा ल्याएको छ । चालु आव बजेटमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई प्रोत्साहन गर्न करदाता प्रोत्साहन कार्यक्रम घोषणा गरेका थिए ।

कार्यक्रम अन्तर्गत १ सय रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता प्रोत्साहन कार्यक्रममा सहभागी हुन सक्छन् । जसलाई सरकारले हरेक दिन एक जनालाई कर कट्टी गरेर १ लाख र १५–१५ दिन गरेर महिनामा दुई जनालाई बम्परमा १०–१० लाख उपहार दिने छ । बम्पर उपहारको १० लाख नगदमा भने करकट्टी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?