+
+
Shares

चीनको चासोपछि सरकारले रद्द गर्‍यो तिब्बती अध्ययन सम्मेलन

सरकारको निर्देशनमा भदौ पहिलो साताका लागि निर्धारित इन्टरनेसनल एसोसिएसन फर टिबेटन स्टडिज (आईएफटीए) सम्मेलन रद्द भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते १९:३६
सन् २०२२ मा चेक रिपब्लिकमा भएको सम्मेलन/फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारको निर्देशनमा भदौ पहिलो साता काठमाडौंमा हुने तय भएको इन्टरनेसनल एसोसिएसन फर टिबेटन स्टडिजको १७ औं सम्मेलन रद्द भएको छ ।
  • सम्मेलनका स्थानीय आयोजक डा. सागरराज शर्माले नेपाल सरकारको आग्रहमा कार्यक्रम स्थगित गरिएको पुष्टि गरेका छन् ।
  • सम्मेलन रद्द हुँदा ३९ देशका ७२० जना प्रतिनिधिको सहभागिता रहने कार्यक्रम अब नेपालमा नहुने भएको छ ।

२० साउन, काठमाडौं । सरकारको निर्देशनमा भदौ पहिलो साताका लागि निर्धारित इन्टरनेसनल एसोसिएसन फर टिबेटन स्टडिज (आईएटीए) सम्मेलन रद्द भएको छ ।

सरकारको आग्रहमा सम्मेलन स्थगित भएको स्थानीय आयोजक मध्येका एक काठमाडौं विश्वविद्यालय अन्तर्गतको हिमालय सेन्टर फर एसियन स्टडिज (हिकास) निर्देशक डा. सागरराज शर्माले जानकारी दिए ।

‘नेपाल सरकारको आग्रहमा सम्मेलन नगर्ने भएका छौं,’ डा. शर्माले अनलाइनखबरसँग भने ।

काठमाडौंमा हुने भनिएको आईएएफटीएको १७ औं सम्मेलनको आयोजना हिकास र सेन्टर फर बुद्धिस्ट स्टडिज राङजुङ येसे इन्स्टिच्युटले गर्न लागेको थियो ।

चीन सरकारको दबाबपछि निर्वासित सरकार केन्द्रीय तिब्बती प्रशासन (सीटीए) ले आफ्नो प्रतिनिधि नपठाउने निर्णय गरेको थियो ।

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले परराष्ट्र मन्त्रालयका अधिकारीहरूलाई भेटेर सम्मेलनका बारेमा चासो राखेका थिए । विशेष गरी दलाइ लामाका प्रतिनिधिहरू नेपाल आउने र तिब्बती मामिलाका विषयमा यो सम्मेलनमा बहस हुन सक्ने सम्भावना औंल्याउँदै चिनियाँ राजदूत चाङले नेपाली अधिकारीहरूसँग चासो राखेका थिए ।

सम्मेलन नगर्दा छिमेकी देशहरूलाई समेत सहज भएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

७ भदौदेखि १३ भदौसम्म चल्ने भनिएको सम्मेलनमा ३९ देशका ७२० जना प्रतिनिधि सहभागी हुने निश्चित भएको थियो । अब यो सम्मेलन नेपालमा नहुने भएको छ ।

१९७७ मा स्विट्जरल्यान्डमा पहिलो पटक आयोजित यो सम्मेलन बेलायत, अमेरिका, जर्मनी, जापान, नर्वे, अष्ट्रिया, अमेरिका, नेदरल्यान्ड्स, क्यानडा, मंगोलिया, फ्रान्स र चेक रिपब्लिकामा सम्पन्न भइसकेका छन् । नेपालमा भने यो पहिलो पटक हुन लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?