News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली रक ब्यान्ड ‘१९७४ एडी’ आफ्नो प्रतीक्षित ‘रक यात्रा २’ टुरअन्तर्गत पहिलोपटक पोर्चुगलको लिस्बनमा सांगीतिक प्रस्तुति दिएको छ।
- लिस्बनमा आयोजित तीन घण्टे कन्सर्टमा १५ सयभन्दा बढी दर्शक सहभागी भएका थिए भने ब्यान्डले आफ्ना चर्चित गीतहरूमार्फत दर्शकलाई मनोरञ्जन गराएको छ।
- ब्यान्डका म्यानेजर अनुज कार्कीले विश्वभरका नेपालीलाई संगीतमार्फत जोड्ने उद्देश्यसहित युरोपका विभिन्न देशमा कन्सर्ट गरिने योजना रहेको जानकारी दिएका छन्।
लिस्बन (पोर्चुगल) । नेपाली रक ब्यान्ड ‘१९७४ एडी’ पहिलोपटक पोर्चुगलमा गुञ्जिएको छ । ब्यान्डले युरोपमा थालेको आफ्नो प्रतीक्षित ‘रक यात्रा’ टूरअन्तर्गत यो प्रसिद्ध सांगीतिक समूह यहाँ प्रस्तुत भएको हो ।
लिस्बन कन्सर्टमा १५ सय भन्दा धेरैजना दर्शक सहभागी थिए । ३ घण्टा चलेको कन्सर्ट ‘तिमीलाई पिरती’ र ‘सम्बोधन’ गीतबाट सुरु भएको थियो । त्यसपछि ब्यान्डले आफ्ना चर्चित गीतसँगै दर्शकलाई झुमायो ।
‘पहिलो शोमै दर्शकको उत्साहजनक उपस्थिती पाएपछि उत्साहित छौं’ ब्यान्डका म्यानेजर अनुज कार्कीले भने ।
उनका अनुसार ‘रक यात्रा २’ भ्रमणको उद्देश्य संसारभर छरिएका नेपालीलाई नेपाली संगीतमार्फत जोड्नु हो । पोर्चुगलबाट सुरु भएको यो यात्रा युरोपका विभिन्न देशसम्म पुग्ने उनले बताए ।

पोर्चुगलपछि ब्यान्डले अगस्ट ८ मा डेनमार्क, अगस्ट ९ मा फ्रान्स, अगस्ट १५ मा पोल्यान्ड, अगस्ट २० मा माल्टा र अगस्ट २३ मा बेल्जियममा प्रस्तुति दिने तालिका छ । ‘आइ पपर्स’ को सहकार्यमा १९७४ एडीले युरोपका विभिन्न ठाउँमा सांगीतिक प्रस्तुति दिँदै छ ।
‘युरोपका नेपाली दर्शकबाट पाएको ऊर्जा र मायाले आगामी कन्सर्ट अझ विशेष हुने विश्वास छ,’ कार्कीले भने । हाल ब्यान्डमा निराकार याक्थुम्बा, सञ्जय श्रेष्ठ, एड्रिन प्रधान, फिरोज स्याङ्देन, मनोजकुमार केसी र मनोज सिंह सदस्य छन् ।
प्रतिक्रिया 4