News Summary
Generated by OK AI. Editorially reviewed.- आर्या निशान्त हालै 'मिस नेपाल इन्टरनेसनल २०२६' घोषित भएकी छन् र उनले मधेश प्रदेशबाट दोस्रोपटक यो उपाधि प्राप्त गरेकी हुन् ।
- उनले २५ नोभेम्बरमा जापानमा आयोजना हुने 'मिस इन्टरनेसनल' प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै आफ्नो उत्कृष्ट प्रस्तुति दिने बताएकी छिन् ।
- शिक्षामा समान पहुँचको एजेन्डा बोकेकी आर्याले आफ्नो जितलाई मुलुकको प्रतिष्ठा उँचो राख्ने ठूलो जिम्मेवारीका रूपमा लिएको बताइन् ।
काठमाडौं । मधेश प्रदेशले दोस्रोपटक ‘मिस नेपाल’ प्राप्त गरेको छ । निकिता चाण्डक ‘मिस नेपाल वर्ल्ड’ बनेको केही वर्षपछि आर्या निशान्त गतसाता ‘मिस नेपाल इन्टरनेसनल २०२६’ घोषित भएकी छन् ।
मृदुभाषी र मिजासिलो स्वभावकी आर्या फेसन मोडल र शैक्षिक अभियन्ता हुन् । २५ नोेभेम्बरमा जापानमा आयोजना हुने ‘मिस इन्टरनेसनल’को अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उनले मुलुकको प्रतिनिधित्व गर्नेछिन् ।
अनलाइनखबरसँग कुरा गर्दै उनले ‘मिस नेपाल’को ताज जितेपछि आफ्नो टाउकोमा उत्तरदायित्वको भार थपिएको बताइन् । आफूमाथि मुलुकको प्रतिष्ठालाई अन्तर्राष्ट्रिय मञ्चमा ऊँचो बनाउन जिम्मेवारी बढेको उनी बताउँछिन् ।
‘ताज मेरो टाउकोमा आएपछि एकछिन त सपनामै छु कि जस्तो लाग्यो’ उनले भनिन्, ‘ठूलो दायित्व थपिएको महसुस गरेँ । म अन्तर्राष्ट्रिय मञ्चमा नेपाल भनेर चिनिनेछु । त्यसमा गर्व पनि हुन्छ र ठूलो भार पनि हो ।’
आफू उत्कृष्ट दिन आफू प्रतिस्पर्धामा उत्रिएको उनको भनाइ छ । ‘म तुलना नगरिकन आफ्नो बेस्ट दिने र अपेक्षा नगर्ने भनेर गएकी हुँ । यो भाग्यको कुरा हो । मैले रिजल्टमा फोकस गरिन । नजितेपनि दुःखी मनले फर्किन्नथे । जितेकोमा खुसी छु’ उनी भन्छिन् ।
‘मिस नेपाल ‘बनेपछि सुन्ने र हेर्न चाहने दर्शकको आयाम बढ्ने उनको बुझाइ छ । उपाधि जितेपनि आफ्नो व्यक्तिगत स्वभावमा कुनै फेरबदल नआउने उनको भनाइ छ तर, मुलुकलाई प्रतिनिधित्व गर्ने दायित्व थपिएको उनी बताउँछिन् ।

‘मिस नेपाल’को ताज हीराले भरिएको मात्र ताज नभएको बरु सबै नेपालीको अपेक्षा यसमा जोडिएको उनको भनाइ छ । ‘यो हीराले भरिएको ताज मात्र होइन कि सबै नेपालीको अपेक्षा यसमा हुनेछ । अन्तर्राष्ट्रिय मंचमा जाँदा सबैलाई चित्त बुझाउने गरि प्रतिनिधित्व गर्नुपर्नेछ’ उनी भन्छिन् ।
जापानमा हुने ‘मिस इन्टरनेनसल’को मञ्चमा आफूले नेपाललाई सगरमाथा र बुद्धको मात्र देश नभएर यहाँको मूल्यलाई बुझाउने प्रयास गर्ने बताइन् । ‘नेपाललाई सगरमाथा, बुद्धको देश मात्र होइन, नेपाली हामी मिलनसार छौं, अतिथिलाई भगवान मान्छौं, गोरखाको देश पनि हो भन्ने कुरा बुझाउन चाहन्छु’ भन्छिन्, ‘म आफ्नो व्यक्तित्वमा पनि ती भ्यालु देखाउने प्रयास गर्नेछु ।’
अघिल्ला ‘मिस नेपाल’को व्यक्तित्वले आफू प्रभावित र प्रेरित भएको उनी बताउँछिन् । ‘अवश्य पनि, मिस नेपाल मुलुकको ब्यूटी पेजेन्टमध्ये सबैभन्दा ठूलो प्लाटफर्म हो । मिस नेपाल बनेर जो महिला आउनुहुन्छ, उहाँको पर्सनालिटीमा पनि झल्किन्छ कि उहाँ मिस नेपाल हो भनेर । यसकारण मैले पेजेन्ट्री ज्वाइन गरेकी हुँ’ उनले भनिन् ।
अडिसन दिँदादेखि ताज जित्दासम्मको यात्रामा आफूले सिकेको सबैभन्दा ठूलो कुरा हार नमान्नु रहेको उनको बुझाइ छ । ‘कहिलेकाहिँ जीवनमा चुनौती धेरै हुन्छ । गल्ती भएमा, बिग्रिएमा आफ्नो मन दुखाउनु हुँदैन । हरेक दिन उठ्नूस र आफ्नो उत्कृष्टता दिने प्रयास गर्नूस’ उनको सुझाव छ ।
अडिसनपछिको राउन्डमा आफू स्टेजमा ढलेको बताउँदै उनले ढल्नु समस्या नरहेको बताइन् । ‘ढल्नु समस्या होइन, ढलेर पुनः उठ्नु महत्वपूर्ण हो । उठेर हिँड्न सक्नु नै जित हो’ उनको कथन छ ।
निकिता चाण्डक, श्रृंखला खतिवडा लगायतका पूर्व नेपालको कामबाट आफू प्रभावित भएको उनी बताउँछिन् । ‘उहाँहरूले जति माया पाउनुभयो र अन्तर्राष्ट्रिय प्लाटफर्ममा नाम फैलाउनुभयो, उहाँहरूको यात्राले मलाई प्रेरणा दिएको छ’ उनी भन्छिन् ।
बिजनेस फाइनान्सकी विद्यार्थी आर्या शिक्षामा समान पहुँच पुर्याउने कार्यमा अघि बढ्न चाहन्छिन् । ‘मिस नेपालबाहेक मेरो सपना भनेको शिक्षामा समान पहुँच पुर्याउन काम गर्नु हो । गैरनाफामूलक ढंगले बिजनेस गर्न चाहन्छु’ उनी भन्छिन् ।
उनले मिस इन्टरनेसनलको प्रतिस्पर्धामा संयुक्त राष्ट्रसंघले निर्धारण गरेका १७ वटा सह्रसाब्दी विकास लक्ष्यअन्तर्गत गुणस्तरीय शिक्षाको एजेन्डा उठाउने बताउँछिन् । अन्त्यमा उनले अहिलेको युवा पुस्तालाई सुझाव दिइन्- आफ्नो जीवनको रेखा आफै कोर्नुस, अवसरलाई क्यास गर्नूस, हार नमान्नू, सपना पूरा हुन्छ ।’


प्रतिक्रिया 4