News Summary
Generated by OK AI. Editorially reviewed.- कालीकोटको पताँला अस्पतालमा कार्यरत मेडिकल अफिसर डा. अली हैदर र स्टाफ नर्स शान्ता गिरीमाथिअस्पतालभित्रै हातपात भएको छ।
२२ साउन, काठमाडौं । कालीकोटमा डाक्टर र नर्समाथि अस्पतालभित्रै हातपात भएको छ । पताँला गाउँपालिका वडा–९ थिर्पुमा रहेको पताँला अस्पतालमा मेडिकल अफिसर डा.अली हैदर रैन र स्टाफ नर्स शान्ता गिरीमाथि आक्रमण भएको हो ।
अस्पतालभित्र इन्टरनेट चलाउन आएका स्थानीय व्यक्तिहरूले शुक्रबार दिउँसो १ः५० बजेतिर आफूहरूमाथि हातपात गरेको डा.अलीले जानकारी दिए ।
अस्पतालका प्रशासन प्रमुख सिनियर अहेब अधिकृत जन्मऋषि न्यौपानेका अनुसार स्थानीय मैना बम, उनका दुई छोरा र अन्य स्थानीय समेतले आक्रमण गरेको हुन् ।
न्यौपानेका अनुसार मैना बमका १४, १५ वर्षका दुई छोराहरू अस्पतालको ओपीडी अगाडि बसेर मोबाइलमा भिडियो गेम खेलिरहेका थिए । अस्पताल नजिकै घर भएकाले बमका उनीहरू वाईफाई चलाउन अस्पताल आइरहने गर्छन् । डा.अली र नर्स गिरीले उनीहरूलाई बाहिर गएर मोबाइल चलाउन भनेका थिए । त्यसो भनेपछि उनीहरू ‘यहीँ बसेर चलाउँछौँ कसले के गर्छ ?’ भनेर जङ्गिए ।
त्यसपछि सुरक्षा गार्डले बाहिर निकाल्न खोज्दा उनीहरूसहित आमा मैना बम र अन्यले समेत आफूहरुलाई आक्रमण गरेको डा.अलीले बताए ।
वाईफाई चलाउने बहानामा बनाएर उनीहरू नियोजित रुपमै आफूलाई आक्रमण गर्न आएको आरोप डा.अलीको छ ।

स्थानीयले अस्पतालका कर्मचारीहरूलाई विभिन्न तरिकाले सताउने गरेको गुनासो अस्पताल प्रशासन प्रमुख न्यौपानेको छ । अस्पतालभित्रै गाईवस्तु छाडिदिने र केही भने अस्पताल बाहिर निस्किनै दिँदैनौ, बाटो नै हिँड्न दिँदैनौँ भन्दै थर्काउने समेत गरेको उनले बताए ।
यसअघि डा.अली मैना बमकै घरमा डेरा लिएर बस्ने गर्थे । अस्पतालमै कोठा व्यवस्था भएपछि उनी १५ दिनअघि मात्रै अस्पतालभित्र बस्न थालेका थिए । महोत्तरी घर भएका अली करिब १६ महिनादेखि करार सेवामा त्यस अस्पतालमा कार्यरत छन् ।
अस्पतालबाहिरै वाइफाइ टिप्ने भएकाले भित्र आइरहनुनपर्ने न्यौपाने बताउँछन् । दुर्गम ठाउँ हो सबैसँग इन्टनेटको पहुँच हुँदैन । ‘हामीले नचलाऊ कसैलाई भनेको छैन’ न्यौपानेले भने, ‘इन्टनेटन चलाउने बहानामा आएर उल्टै स्वास्थ्यकर्मीलाई आक्रमण गर्नु दुखःद् कुरा हो ।’
नर्स गिरीको पिठ्यु, निधार, अनुहारमा चोट रहेको र डा.अलीको आँखाको डिलमा चोट रहेको उनले बताए ।
कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय थिर्पुमा निवेदन दिएको डा.अलीले जानकारी दिए ।

प्रतिक्रिया 4