+

आमाहरूको ज्ञान बढाएर मात्रै सम्भव हुँदैन पूर्ण स्तनपान

२०८३ साउन  २२ गते १३:४४ २०८३ साउन २२ गते १३:४४
Shares
आमाहरूको ज्ञान बढाएर मात्रै सम्भव हुँदैन पूर्ण स्तनपान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कानुनी प्रावधान भए तापनि धेरै कामकाजी महिलाहरूले कार्यस्थलमा स्तनपानका लागि आवश्यक सुविधा नपाउँदा काम र मातृत्वबीच सन्तुलन मिलाउन कठिनाइ भोगिरहेका छन्।
  • स्वस्थ मानव पुँजी विकासका लागि कार्यस्थलमा गोप्य स्तनपान कक्ष, पर्याप्त विश्राम समय र दूध भण्डारण गर्ने सुविधाको प्रभावकारी कार्यान्वयन आजको आवश्यकता हो।

आज स्तनपान सप्ताहको सातौ दिन ।

गएको सात दिनमा आमसञ्चार माध्यम, सामाजिक सञ्जालसम्म स्तनपान प्रवर्दनका कुरा उठे । सार्वजनिक कार्यक्रम तथा विभिन्न गतिविध भए । मेरो मनमा भने एउटै व्यवहारिक प्रश्नले सताइरहेको थियो– कामकाजी महिलाहरूका लागि स्तनपानमैत्री वातावरण ।

स्तनपान सप्ताहको सात दिनमा आएका समाचार, लेख तथा गरिएका भाषण र शिशुलाई स्तनपान गराउन एउटी जागिर आमाले गर्नुपरेको संघर्षबीच तालमेल कम देखिन्छ ।

भर्खरै ४ महिनाकी सुत्केरी मेरी सहकर्मीले कानुनले तोकेको बिदा पाउन पनि पुरूष प्रशासकसँग पटक–पटक अनुरोध  गर्नुपर्‍यो । महिलाहरू आधुनिक भएर बच्चालाई दूध खुवाउन छोडे भन्ने तर्क र कामकाजी महिलाले स्तनपानमैत्री वातावरणका लागि गर्नु पर्ने संघर्षका बीच तादम्यता नमिलेको देखिन्छ।

कार्यस्थलमा स्तनपानमैत्री वातावरणको सुनिश्चतता कुनै महिलालाई विचरा मानेर दिने दयाको भिख हैन, यो त नेपालको संविधानले नै मौलिक हकका रूपमा व्यवस्था गरेको कुरा हो । महिलाको प्रजनन् स्वास्थ्यसम्बन्धी अधिकार र बालबालिकाको उचित पोषण पाउने अधिकारको सुनिश्चचताको एक अभिन्न पक्ष हो ।

स्तनपानको महत्व आमा र शिशुको स्वास्थ्यमा मात्र सीमित छैन । यसको स्वस्थ मानव पुँजीको विकासमार्फत देशको समग्र सामाजिक आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान रहन्छ ।

राष्ट्रिय योजना आयोगले भर्खरै सार्वजनिक गरेको प्रतिवेदनले शिशुलाई दुइ वर्षसम्म निरन्तर स्तनपान गराउँदा परिवारको शिशुको खानामा गर्नु पर्ने खर्च कम हुने र त्यसले समग्र परिवारकै जीविकोपार्जनलाई सहज बनाउने देखाएको छ । किनकि स्तनपान प्रकृतिले आमामार्फत दिएको नि:शुल्क अनुपम उपहार हो । आमाको उचित पोषण र सहयोगी वातावरणमा ध्यान दिन सकेमा स्तनपानले बहुआयामिक सकारात्मक प्रभाव पार्दछ ।

स्तनपान शिशुको जीवनको पहिलो, सुरक्षित तथा सबैभन्दा पूर्ण पोषणको स्रोत हो । जन्मेको पहिलो घण्टाभित्र नै स्तनपान सुरु गर्नु तथा जन्मपछिको पहेंलो दूध (कोलोस्ट्रम) शिशुलाई खुवाउनु पहिलो खोपजस्तै अत्यन्त महत्त्वपूर्ण मानिन्छ ।

कोलोस्ट्रममा प्रशस्त मात्रामा प्रतिरक्षात्मक तत्त्व, प्रोटिन तथा शिशुको वृद्धि र विकासका लागि आवश्यक पोषक तत्त्वहरू पाइन्छन् । आमाको दूधले शिशुलाई संक्रमणबाट जोगाउनुका साथै स्वस्थ शारीरिक, मानसिक तथा बौद्धिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँछ । दीर्घकालीन रूपमा यसले मोटोपना, मधुमेह तथा अन्य केही नसर्ने रोगहरूको जोखिम पनि कम गर्न सहयोग गर्ने प्रमाणित तथ्य हो।

स्तनपानबाट शिशु मात्र नभई आमाले पनि उत्तिकै लाभ प्राप्त गर्छिन् । यसले प्रसूति पश्चात् रक्तस्राव कम गर्न, पाठेघरलाई पूर्वावस्थामा फर्किन सहयोग गर्न तथा स्तन र डिम्बाशयको क्यान्सरलगायत केही रोगहरूको जोखिम घटाउन मद्दत पुर्‍याउँछ ।

यही कारण विश्व स्वास्थ्य संगठनले जन्मदेखि पहिलो ६ महिनासम्म केवल आमाको पूर्ण स्तनपान खुवाउन तथा त्यसपछि उमेरअनुसारको पोषणयुक्त पूरक आहारसँगै कम्तीमा दुई वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपानलाई निरन्तरता दिन सिफारिस गरेका छन् । यसले शिशुको पोषण, रोग प्रतिरोधात्मक क्षमता, भावनात्मक सुरक्षा तथा स्वस्थ वृद्धि–विकासलाई दीर्घकालसम्म सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।

प्रत्येक वर्ष अगस्ट १ देखि ७ सम्म विश्वभर अन्तर्राष्ट्रिय स्तनपान सप्ताह विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइन्छ । नेपालमा पनि यस अवसरमा स्तनपानको महत्त्व, सही स्तनपान अभ्यास तथा स्तनपानमैत्री वातावरण निर्माणसम्बन्धी विविध कार्यक्रम सञ्चालन गरिन्छ ।

स्तनपानको महत्त्वबारे जनचेतना बढ्दै गएको भए पनि धेरै आमाहरूले कार्यस्थल, सामाजिक वातावरण तथा पारिवारिक सहयोगको अभावका कारण स्तनपानलाई निरन्तरता दिन कठिनाइ भोगिरहेका छन् । त्यसैले स्तनपानका सम्बन्धमा आमाहरूको ज्ञान बढाउनु मात्र पर्याप्त हुँदैन; उनीहरूले सहज, सुरक्षित र सम्मानजनक रूपमा स्तनपान गराउन सक्ने वातावरण सुनिश्चित गर्नु अझ आवश्यक हुन्छ ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ ले कार्यस्थलमा स्तनपानमैत्री वातावरण बनाउने विषयलाई स्पष्ट रूपमा सम्बोधन गरेको छ । ऐनअनुसार सरकारी, निजी तथा गैरसरकारी संस्थामा कार्यरत महिला कर्मचारीलाई बच्चा दुई वर्षको नहुँदासम्म कार्यालय समयमा स्तनपान गराउन आवश्यक तथा उपयुक्त व्यवस्था मिलाउनुपर्ने कानुनी प्रावधान रहेको छ ।

यसले स्तनपानलाई केवल स्वास्थ्यसम्बन्धी अभ्यासका रूपमा होइन, आमा र शिशुको मौलिक अधिकारका रूपमा पनि स्थापित गरेको छ । तर व्यवहारमा हेर्दा अझै पनि धेरै महिला कर्मचारीहरूले कानुनले प्रत्याभूत गरेको सुविधा पूर्णरूपमा उपभोग गर्न पाएका छैनन् ।

संविधानले सुनिश्चित गरेको हक पाउने महिलाले सरकारी कार्यलयमै समेत भिख मागेझैं अनुनय गरिरहनु पर्ने र हप्किदप्की सहनु पर्ने बाध्यता छ । निजी क्षेत्रमा त झन् शिशुको हेरचाह र स्तनपानका लागि महिलाले जागिर नै छोड्नु पर्ने र आफ्नो करिअर नै समाप्त गर्नु पर्ने बाध्यता विध्यमान छ । कानुन र कार्यन्वयनमा तादम्यता नमिलेको यो एउटा गतिलो उदाहरण हो ।

प्रसूति बिदा समाप्त भएपछि कार्यालयमा फर्किने धेरै आमाहरू दूध निकालेर सुरक्षित रूपमा भण्डारण गर्ने, शिशुलाई स्तनपान गराउने वा त्यसका लागि छुट्टै, गोप्य र सुरक्षित स्थानको अभावजस्ता समस्यासँग जुधिरहेका छन् ।

विशेष गरी अस्पतालजस्ता संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरू व्यस्त कार्यसमय, सिफ्ट ड्युटी र उच्च कार्यचापका कारण अझ बढी चुनौतीको सामना गरिरहेका छन् । सानो शिशु भएका महिलालाई स्तनपान गराउन तथा शिशुको हेरचाहका लागि पर्याप्त समय, सहयोग र अनुकूल वातावरण आवश्यक हुन्छ । तर धेरै कार्यस्थलमा पर्याप्त विश्राम समय, स्तनपान कक्ष तथा दूध सुरक्षित रूपमा संकलन र भण्डारण गर्ने सुविधा उपलब्ध छैन ।

सरकारले कार्यलयहरूमा स्तनपान कक्ष स्थापनाका लागि बजेट विनियोजन गरिरहेको पनि छ । तर, स्तनपान कक्ष निर्माण मात्र स्तनपानमैत्री वातावरणका लागि पर्याप्त हुँदैन ।

ती कक्षहरू गोपनीय, सफा, सुरक्षित, आरामदायी तथा आवश्यक बालमैत्री सामग्री सहितको हुनुपर्छ । साथै दूध सुरक्षित रूपमा भण्डारण गर्ने सुविधा र स्तनपानसम्बन्धी आवश्यक परामर्श सेवा उपलब्ध गराइनु पनि उत्तिकै आवश्यक छ ।

कार्यस्थलमा स्तनपानमैत्री वातावरण निर्माण गर्नु केवल आमा र शिशुको हितका लागि मात्र होइन, स्वस्थ परिवार, स्वस्थ समाज र समृद्ध राष्ट्र निर्माणका लागि दीर्घकालीन लगानी पनि हो ।

स्तनपानलाई सफल बनाउन परिवार, स्वास्थ्यकर्मी, रोजगारदाता, नीतिनिर्माता तथा सम्पूर्ण समाजको समान जिम्मेवारी र सक्रिय सहभागिता अपरिहार्य हुन्छ । कार्यस्थलमा स्तनपानमैत्री नीतिको प्रभावकारी कार्यान्वयन, पर्याप्त प्रसूति बिदा, स्तनपान कक्ष, दूध सुरक्षित भण्डारणको व्यवस्था र सहयोगी कार्यसंस्कृतिको विकासले मात्र आमाहरूले पूर्ण स्तनपान र स्तनपानको निरन्तरता दिन सक्छन् ।

स्तनपान केवल एउटी आमाको व्यक्तिगत जिम्मेवारी होइन, यो प्रत्येक शिशुको आधारभूत मानवीय अधिकार र प्रत्येक आमाको सम्मानजनक प्रजनन् स्वास्थ्य अधिकार हो । त्यसैले स्तनपानलाई सफल बनाउन परिवार, स्वास्थ्यकर्मी, रोजगारदाता, नीति निर्माता तथा सम्पूर्ण समाजको समान सहभागिता र सहयोग अपरिहार्य छ ।

प्रत्येक घर, समुदाय र कार्यस्थललाई स्तनपानमैत्री बनाउँदै आमाहरूलाई सुरक्षित, सहज र सम्मानजनक वातावरण उपलब्ध गराउनु आजको आवश्यकता हो ।

कार्यस्थल पोषण शिशु स्तानपान
वर्षा भट्टराई
लेखक
वर्षा भट्टराई
पोषणविद्

अध्ययन : एमएस्सी पोषण र आहारशास्त्र (पूर्वाञ्चल विश्वविद्यालय) हाल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आहार अधिकृतको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय