News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश प्रदेश सरकारले सिरहाको गोलबजारमा प्रहरीको गोलीबाट मृत्यु भएका गणेश यादवको परिवारलाई दुई कोठे घर, किचन र शौचालय निर्माण गरिदिने निर्णय गरेको छ ।
- शिक्षामन्त्री मनोजकुमार सिंहका अनुसार विपन्नसँग मदन भण्डारी आवास योजनाअन्तर्गत उक्त घर निर्माण कार्य जग्गा प्राप्त हुनासाथ सुरु हुनेछ ।
- मृतकका परिवारको कमजोर आर्थिक अवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकारले यससम्बन्धी आवश्यक प्रक्रिया पूरा गरिसकेको मन्त्री सिंहले बताएका छन् ।
२२ साउन, सिरहा । मधेश प्रदेश सरकारले मृतक गणेश यादवको परिवारलाई दुई कोठे घर, किचन र शौचालय निर्माण गरिदिने भएको छ ।
मधेश प्रदेश सरकारको ‘विपन्नसँग मदन भण्डारी आवास योजना’ अन्तर्गत मृतक गणेश यादवको परिवारका लागि दुई कोठे घर, किचन र शौचालय निर्माण गरिदिने भएको हो ।
मधेश प्रदेशका शिक्षामन्त्री मनोजकुमार सिंह र मृतकका परिवारबीच शुक्रबार साँझ यससम्बन्धी सहमति भएको हो ।
सुनसरी घटनालाई लिएर सिरहाको गोलबजारमा भएको प्रदर्शनको क्रममा १४ साउनमा प्रहरीको गोली लागेर गणेशको मृत्यु भएको थियो ।
मन्त्री सिंहका अनुसार आफूले यसअघि नै गणेशको घरमै पुगेर परिवारलाई भेटी संवेदना तथा सान्त्त्वना व्यक्त गरेका थिए ।
सो क्रममा परिवारको आर्थिक अवस्था कमजोर रहेको पाएपछि प्रदेश सरकारको बैठकमा आवास निर्माणका विषयमा छलफल गरिएको थियो ।
छलफलपछि भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत सञ्चालित ‘विपन्नसँग मदन भण्डारी आवास योजना’बाट घर निर्माण गर्ने निर्णय गरिएको मन्त्री सिंहले बताए ।
मृतकका बुवा रामवृक्ष यादव, भौतिक पूर्वाधार कार्यालय सिरहाका इन्जिनियर रामनारायण यादव, औरही गाउँपालिका–२ का वडाध्यक्ष रामअयोध्या यादव लगायतको उपस्थितिमा सहमति भएको हो ।
´प्रदेश सरकारले गर्नुपर्ने आवश्यक प्रक्रिया पूरा गरिसकेको छ। परिवारले घर निर्माणका लागि जग्गा उपलब्ध गराउनेबित्तिकै निर्माण कार्य सुरु हुन्छ,’ सहमतिपछि मन्त्री सिंहले भने।
प्रतिक्रिया 4