News Summary
Generated by OK AI. Editorially reviewed.- अन्तरजातीय विवाहका कारण हत्या गरिएका अजित मिजारको परिवारले न्यायको माग गर्दै मन्त्री सीता बादी र सचेतक प्रकाशचन्द्र परियारलाई भेटेका छन् ।
- मिजारका परिवारले दश वर्षदेखि त्रिवि शिक्षण अस्पतालमा राखिएको शवको पुन: फरेन्सिक परीक्षण गराई निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
- मन्त्री बादी र सचेतक परियारले मिजार परिवारलाई न्याय दिलाउने प्रक्रियामा राज्यका तर्फबाट आवश्यक सहयोग र पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
२२ साउन, काठमाडौँ। अन्तरजातीय विवाह गरेकै कारण हत्या गरिएका काभ्रेका अजीत मिजारको परिवारले न्यायको याचनासहितमन्त्री र सांसदसँग भेट गरेका छन् ।
१० बर्षदेखि न्यायको खोजीमा रहेको मिजार परिवारले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यकमन्त्री सीता बादी र सत्तारुढ रास्वपाका सचेतक प्रकाशचन्द्र परियारलाई भेटेको हो ।
अजितका बुबा हरिभक्त र आमा कालीले बादी र परियारलाई भेटेर पुन: फरेन्सिक परीक्षणको माग गरे । अन्तरजातीय विवाहको विषयलाई लिएर २०७३ सालमा अजितको रहस्यमय हत्या भएको थियो। अजितको शव अहिले पनि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।
न्याय नपाएसम्म शव नबुझ्ने अडानमा रहेका मिजार दम्पतीले शुक्रबारमन्त्रालयमा भएको छलफलका क्रममा नयाँ सरकारले न्याय दिलाउने आशा रहेको सुनाए। उनीहरूले घटनाको सत्यतथ्य बाहिर ल्याउन र निष्पक्ष छानबिन सुनिश्चित गर्न तथा अजितको शवको फरेन्सिक (विधि विज्ञान) परीक्षणको व्यवस्था मिलाइदिन माग राखे।
सो क्रममा मन्त्री सीता बादी र सचेतक प्रकाशचन्द्र परियारले मिजार परिवारको पीडाप्रति पूर्ण सहानुभूति प्रकट गर्दै न्याय दिलाउने प्रक्रियामा राज्यका तर्फबाट आवश्यक सहयोग र पहल गर्ने आश्वासन दिएका छन्।
काभ्रेका अजितको शव धादिङको गजुरी गाउँपालिकास्थित ठाँटीमा फेला परेको थियो। प्रहरीले परिवारलाई जानकारी नै नदिई शव उठाएर गाडेको थियो। पछि परिवार र अधिकारकर्मीको दबाबपछि शव उधिनेर पोष्टमार्टम गरिएको थियो। अजित हत्याको विषयमा जिल्ला, उच्च हुँदै सर्वोच्च अदालतसम्म पुगिसकेको छ।
तर प्रहरीकै मिलेमतो र प्रमाण संकलनमा कमजोरीका कारण आरोपितहरूले सफाइ पाएका छन्।
प्रतिक्रिया 4