२३ साउन, बार्सिलोना । बार्सिलोना।सेउटामा भएको ठूलो आप्रवासी आगमनपछि स्पेन र इटालीबीच चर्किएको विवाद अब सीमा नियन्त्रणसम्म पुगेको छ।इटालीले स्पेनबाट आउने यात्रुमाथि लगाएको सीमा जाँच हटाउन अस्वीकार गरेपछि स्पेनले पनि शनिबारदेखि इटालीबाट आउने यात्रुमाथि अस्थायी सीमा जाँच सुरु गरेको छ।
स्पेन सरकारले अगस्ट ८ को मध्यरातदेखि सेप्टेम्बर ७ को मध्यरातसम्म इटालीबाट हवाई वा समुद्रीमार्ग हुँदै स्पेन प्रवेश गर्ने यात्रुमाथि जाँच गर्ने निर्णय गरेको हो।परिस्थितिमा परिवर्तन आए यो अवधि अगावै परिवर्तन गर्न सकिने व्यवस्था पनि गरिएको छ।
नयाँ व्यवस्थाअनुसार विमानस्थल र बन्दरगाहमा यात्रुको पहिचान, राष्ट्रियता तथा पासपोर्ट वा परिचयपत्र जाँच गरिनेछ।गैर–ईयू नागरिकका हकमा आवश्यक परे भिसा वा रेसिडेन्स परमिट समेत हेरिनेछ।स्पेन सरकारले आफ्नो निर्णयलाई अस्थायी र ‘समानुपातिक’ कदम भनेको छ।इटालीले स्पेनबाट आउने यात्रुमाथि लगाएको सीमा नियन्त्रण हटाउन स्पेनले दिएको आग्रह अस्वीकार गरेपछि जवाफी कदम चालिएको हो।
इटालीले गत साता स्पेनबाट आउने यात्रुमाथि अस्थायी सीमा नियन्त्रण सुरु गरेको थियो।त्यसको कारणका रूपमा उसले जुलाई ३० मा सेउटामा भएको ठूलो आप्रवासी आगमनपछि उत्पन्न सुरक्षा र आप्रवासनसम्बन्धी जोखिमलाई देखाएको छ।
स्पेनका विदेशमन्त्री जोसे म्यानुएल अल्बारेसले इटालीको निर्णयको कडा आलोचना गरेका छन्।उनले इटालीको कदमलाई अन्यायपूर्ण र युरोपेली एकताको भावनाविपरीत भएको बताएका छन्।इटालीले भने तत्काल आफ्नो निर्णय फिर्ता नलिने संकेत दिएको छ।रोमले स्पेनबाट आउने यात्रुमाथिको नियन्त्रण कम्तीमा अगस्ट १५ सम्म कायम राख्ने जनाएको छ।
सुरक्षा, आतंकवाद वा नयाँ आप्रवासी लहरको जोखिम नरहेको सुनिश्चित भएपछि मात्र निर्णय पुनर्विचार गर्न सकिने इटालीको भनाइ छ।स्पेनले भने सेउटामा प्रवेश गरेका अधिकांश आप्रवासी मोरक्को फर्किसकेको र स्पेनबाट इटालीतर्फ हुने आप्रवासीको ‘सेकेन्डरी मुभमेन्ट’ अत्यन्त न्यून रहेको दाबी गरेको छ। यही कारणले इटालीको कदम आवश्यक र अनुपातिक नभएको स्पेनको तर्क छ।
यो विवादले सेन्जेन क्षेत्रभित्रको स्वतन्त्र आवागमनलाई पनि चर्चामा ल्याएको छ। सामान्य अवस्थामा आन्तरिक सीमा नियन्त्रण हटाइएका स्पेन र इटालीबीच आप्रवासनको विषयलाई लिएर एकअर्काबाट आउने यात्रुमाथि जाँच सुरु हुनु ईयूभित्रको बढ्दो राजनीतिक तनावको संकेतका रूपमा देखिएको छ।
नेपाली यात्रुलाई के असर पर्छ ?
स्पेनमा बस्ने नेपालीहरू इटाली हुँदै यात्रा गर्ने वा इटालीबाट स्पेन फर्किने भएकाले नयाँ व्यवस्थाबारे जानकारी राख्नु आवश्यक छ।इटालीबाट स्पेन आउने नेपाली यात्रुले पासपोर्ट र वैध रेसिडेन्स कार्ड लगायत आवश्यक कागजात साथमा राख्नुपर्नेछ। सीमा जाँचका कारण विमानस्थल वा बन्दरगाहमा सामान्यभन्दा केही बढी समय लाग्न सक्ने भएकाले यात्रुहरूले पर्याप्त समय छुट्याउनु उपयुक्त हुन्छ।
यो व्यवस्था नयाँ भिसा नियम भने होइन। इटालीबाट स्पेन आउने यात्रुमाथि गरिएको अस्थायी सीमा जाँच मात्र हो।
स्पेन र इटालीबीचको विवाद आगामी दिनमा समाधान नभए यसले सेन्जेन क्षेत्रमा यात्रु आवागमन र ईयूको साझा आप्रवासन नीतिबारे थप बहस निम्त्याउने देखिन्छ।
प्रतिक्रिया 4