+
+
Shares

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २४ गते ८:०४

२४ साउन, काठमाडौं । नेपाली कांग्रेसले आज आइतबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले आइतबार दिउँसो १ बजेका लागि सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बैठक बोलाएको हो ।

सभापति गगन थापाले थापाले केन्द्रीय कार्यसमिति बैठकबाट पछिल्लो समय पार्टीका सन्दर्भमा गर्नुपर्ने निर्णय गरिने बताएका छन् । उनका अनुसार बैठक केही दिनसम्म जारी रहने छ । ‘केन्द्रीय कार्यसमिति बैठकबाटै पछिल्लो समय पार्टीका सन्दर्भमा गर्नुपर्ने निर्णय गर्ने नै छौं । दुई–तीनदिन बैठक चल्छ’, सभापति थापाले भने, ‘बैठक लगत्तै पार्टीको महाधिवेशन प्रक्रिया अगाडि बढ्ने छ ।’

संस्थापन इतर समूहले २९ साउनका लागि राष्ट्रिय भेला बोलाएपछि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक राखेर छलफल गर्ने तयारी गरेको हो । भेला अघि पार्टी एकताका लागि नेतृत्वबाट ठोस पहल नभए नयाँ दल घोषणासम्म हुने इतर समूहका नेताहरू बताउँदै आएका थिए ।

तर, सर्वोच्च अदालतले आधिकारिकतासम्बन्धी विवाद पुनरावलोकन गर्ने बाटो खोलेसँगै कांग्रेसमा तत्काल पार्टी विभाजन हुने सम्भावना कमजोर बनेको छ ।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले बिहीबार कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवाद फेरि सुरुदेखि नै सुनुवाइ गर्न आदेश दिएको थियो ।

केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न शनिबार पदाधिकारी बैठक बसेको थियो । कांग्रेसमा केन्द्रीय कार्यसमिति बैठक अघि पदाधिकारी बैठक बसेर एजेन्डा तय गर्ने प्रचलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?