News Summary
Generated by OK AI. Editorially reviewed.- कपिलवस्तु नगरपालिकाका पूर्वमेयर ६५ वर्षीय किरण सिंह शुक्रबारदेखि सम्पर्कविहीन भएपछि उनको खोजी कार्य तीव्र पारिएको छ ।
- पूर्वमेयर सिंहले प्रयोग गर्ने मोटरसाइकल गोरुसिङ्गे जंगलभित्र फेला परे पनि उनी भने अहिलेसम्म भेटिएका छैनन् ।
- खोजी कार्यका लागि तालिमप्राप्त कुकुरसहित ८० भन्दा बढी प्रहरी र स्थानीय परिचालन गरिएको कपिलवस्तु प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिनुभयो ।
२४ साउन, कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह सम्पर्कविहीन भएका छन् ।
६५ वर्षीय सिंह शुक्रबारदेखि सम्पर्कविहीन भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
उनी चढ्ने गरेको लु. प्र. ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल कपिलवस्तुको गोरुसिङ्गे जंगल भित्र फेला परे पनि व्यक्ति भने अझै भेटिएका छैनन् । मोटरसाइकल शुक्रबार दिउँसो पूर्व–पश्चिम राजमार्गबाट करिब ८ किलोमिटर भित्र रोकिराखेको अवस्थामा फेला परेको थियो । उनको खोजीमा तालिमप्राप्त कुकुरसहित ८० भन्दा बढी प्रहरी र स्थानीय परिचालन गरिएको कपिलवस्तु प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिए ।
प्रहरीका अनुसार शुक्रबार बिहान सिंह कपिलवस्तु नगरपालिका–३ स्थित आफ्नो घरबाट निर्माणाधीन कृषि फार्ममा जाने भन्दै मोटरसाइकलमा निस्किएका थिए ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार सीसीटिभी फुटेजमा शुक्रबार दिउँसो करिब सवा तीन बजेतिर उनी रामराज पुलसम्म पुगेको देखिएको छ ।
त्यसपछि उनको मोबाइलबाट आफन्तकोमा ‘मैले जंगलमा बाटो बिर्सिएँ’ पनि भनेको पाइएको छ । तर प्रहरीकहाँ भने शुक्रबार साँझ करिब ६ बजेतिर मात्रै उनी हराएको खबर पुगेको थियो ।
यसबारे कल डिटेल लगायतका विवरणको आधारमा समेत खोजी र अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।
उनको पुर्ख्यौली घर विराटनगर भए पनि उनी लामो समयदेखि परिवारसहित कपिलवस्तु नगरपालिका–३ मा बस्दै आएका थिए । उनी कपिलवस्तु नगरपालिकाको मेयरमा अघिल्लो कार्यकाल कांग्रेसबाट निर्वाचित भएका थिए ।
प्रतिक्रिया 4