News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक प्रहरीलाई बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासन कायम गर्न निर्देशन दिएका छन् ।
- गजुरेलले ट्राफिक प्रहरीले नागरिकसँग गर्ने व्यवहारमा सुधार आवश्यक रहेको उल्लेख गर्दै केही प्रहरीको गल्तीले सिंगो संगठन बदनामी हुनु नहुने बताए ।
- राष्ट्रिय यातायात नीति २०८३ को प्रभावकारी कार्यान्वयन र ट्राफिक जरिवानासम्बन्धी विषयमा सरोकारवालासँग छलफल भइरहेको उनले स्पष्ट पारेका छन् ।
२४ साउन, काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक प्रहरीलाई बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासन कायम गर्न निर्देशन दिएका छन् ।
आइतबार आयोजित ‘ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू’ विषयक अन्तर्क्रिया तथा छलफल कार्यक्रममा उनले ट्राफिक प्रहरीले नागरिकसँग गर्ने व्यवहारमा सुधार आवश्यक रहेको बताएका हुन् ।
उनले केही ट्राफिक प्रहरीले गरेको गल्तीका कारण आम संगठनले बदनामी भोग्न नहुने बताए ।
उनले कतिपय ट्राफिक प्रहरीले नागरिकलाई ट्राफिक नियम उल्लंघन गर्नेलाई पनि चिट नकाटी पैसा लिएर मात्रै छाड्ने गरेको गुनासो आएको बताए ।
उनले संगठनमा अब यस्ता कुरा अस्वीकार्य हुने बताउँदै प्रहरी कर्मचारीले बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासनलाई अनिवार्य रूपमा पालना गर्नुपर्नेमा जोड दिए ।
ट्राफिक प्रहरीलाई सुरक्षित, प्रविधिमैत्री र आवश्यक सेवा–सुविधासहित अधिकारसम्पन्न बनाउने तर नागरिकसँगको व्यवहार र कर्तव्य निर्वाहमा पनि सुधार गर्नुपर्ने उनको भनाइ छ ।
उनले ट्राफिक व्यवस्थापन सुधारका लागि नीति निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयन पनि आवश्यक रहेको बताए ।
उनले राष्ट्रिय यातायात नीति २०८३ मा सुधारका विषय समेटिएकोले अब त्यसलाई व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘ट्राफिक प्रहरीलाई मैले धेरै प्रसंशा गरिराखेको छु, त्यो आम नागरिकबाट पनि आउनुपर्यो । त्यो कहीँ कतै आएको छैन, धेरैजनाले ट्राफिक प्रहरीले राम्रो व्यवहार गर्नुहुन्न, राम्रो भाषा बोल्नुहुन्न, शिष्टता देखाउनुहुन्न । कति ठाउँमा त हामीले गल्ती गर्दाखेरि पैसा पनि दिएपछि उहाँहरूले हामीलाई छोड्दिनुहुन्छ भन्ने गुनासाहरू आएका छन् । अब बोलाइमा शुद्धता हुनुपर्यो, व्यवहारमा नम्रता हुनुपर्यो र आर्थिक सुशासन हुनुपर्यो ।’
उनले अगाडि थपे, ‘अब यो नयाँ परिवेशमा जनताले आमनागरिकले परिवर्तन खोज्नुभएको समय हो । अहिले राष्ट्रिय यातायात नीति २०८३ मा पनि त्यो रिफ्लेक्सन देख्नुहुन्छ । अब त्यो हामी व्यवहारमा लाग’ गर्नुपर्छ । नीतिमा मात्रै आएर परिवर्तन हुँदैन, त्यसलाई हामीले लाग’ अवश्य पनि गर्नुपर्छ ।’
‘काठमाडौं लगायत अन्य ठाउँमा पनि विभिन्न कुना कन्दराबाट आम नागरिकहरू आउनुहुन्छ, उहाँहरूलाई नियम थाहा हुँदैन, साँच्चै पनि थाहा हुँदैन । तर फेरि हाम्रो कानुनले के भन्छ भन्दा नियम थाहा नभएर भनेर नियम मिच्न पाइँदैन । त्यो भन्दै गर्दा प्रविधिमा विकास गर्ने कुरा, जनचेतनाको कुरा हामीले अगाडि बढाउनुपर्छ,’ उनले भने ।
उनले ट्राफिक नियम उल्लंघनमा एक लाखदेखि डेढ लाख रुपैयाँसम्म जरिवाना गर्ने विषयमा छलफल भइरहेको भए पनि त्यस्तो व्यवस्था कार्यान्वयनमा नआएको गजुरेलले स्पष्ट पारे ।
जरिवानाको रकम निर्धारण गर्नुअघि नागरिक र सरोकारवाला निकायसँग छलफल गर्ने उनको भनाइ छ ।
उनले ट्राफिक नियम कडाइका साथ कार्यान्वयनसँगै जनचेतनामूलक कार्यक्रमलाई पनि प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया 4