News Summary
Generated by OK AI. Editorially reviewed.- लोकप्रिय हास्यकलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’ ले आउँदो गाईजात्रा पर्वलाई लक्षित गर्दै ‘बालेन सरकार’ नामक व्यंग्यात्मक कोसेली सार्वजनिक गरेका छन् ।
- रिजालले समसामयिक राजनीति र नेताहरूलाई व्यंग्य गर्दै आफ्नो २३ औँ गाईजात्रे प्रस्तुति युट्युबमार्फत दर्शकमाझ ल्याएका हुन् ।
- उनले भने, ‘दर्शकको मायाले गर्दा आम्दानी नभएपनि गाइजात्रालाई निरन्तरता दिदै आएको छु ।’
काठमाडौँ । लोकप्रिय हास्यकलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’ ले गाईजात्रे कमेडी ‘बालेन सरकार’ ल्याएका छन् । आउँदो ‘गाईजात्रा’ पर्वलाई लक्षित गर्दै उनले समसामयिक राजनीति र नेतासम्मलाई व्यंग्य गर्दैै यो कोसेली ल्याएका हुन् ।
यस प्रस्तुतिमा उनले सरकारलाई सल्लाह र सुझाव रुपमा खबरदारी गरेका छन् । यो प्रस्तुति युट्युबमा रिलिज भएको छ । दर्शक तथा श्रोतालाई हास्यव्यंग्यको माध्यमबाट विशुद्ध मनोरञ्जन दिन र चेतना प्रवाह गर्ने उद्देश्यले ल्याएको उनले बताए ।
‘गाइजात्रा हास्य कलाकारका लागि एउटा महान उत्सव हो । अहिले यस्ता कोसेलीको ब्यवसायिकता त छैन’, रिजालले भने ‘वर्षेनी दर्शक, श्रोता मेरो कोसेलीको पर्खाइमा बस्नुहुन्छ । दर्शकको मायाले गर्दा पनि आम्दानी नभएपनि यस्तलाई निरन्तरता दिदै आएको छु ।’
लेखन, निर्देशन, प्रस्तुति समेत उनकै रहेको ‘बालेन सरकार’ मा झलकमान गन्र्धवको चर्चित गीत ‘आमाले सोध्लिन् नि’ माथि प्यारोडी पनि बनाएका छन् । जसमा गायक राजु परियारले स्वर दिएका छन् ।
लोकराज अधिकारीको शब्द, अष्ट लामाको संगीत संयोज रहेको प्यारोडीमा एमाले, कांग्रेस, माओवादीदेखि देशका सबै पार्टीमाथि व्यंग्य कसिएको छ । यो कोसेलीमा समन अधिकारीको कोरियोग्राफी, प्रेम शर्माको सम्पादन र हरि ढकालको छायांकन छ ।
रिजालको ‘बालेन सरकार’ २३ औँ गाइजात्रे कोसेली हो । गत वर्ष उनले ‘मिस चौरासी’ ल्याएका थिए । जसको चर्चा राम्रो भएको थियो । २०६१ सालदेखि हरेक वर्ष निरन्तर रुपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइरहेका रिजाल गाईजात्रामा हास्यव्यग्य कार्यक्रम गर्नु, प्रस्तुति ल्याउनु हाँस्यकलाकारको धर्म नै मान्दछन् ।
प्रतिक्रिया 4