News Summary
Generated by OK AI. Editorially reviewed.- चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाने सडकखण्डमा वन्यजन्तुको जोखिम कम गर्न आजदेखि सडक छेउको झाडी सफाइ कार्य सुरु गरिएको छ।
- निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले यात्रुको सुरक्षालाई ध्यानमा राखी निकुञ्ज, स्थानीय तह र सडक डिभिजनको समन्वयमा काम अघि बढाइएको जानकारी दिए।
२४ साउन, नारायणगढ (चितवन) । चितवनको भरतपुर महानगरबाट चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाने सडकको छेउछाउमा बढेको झाडी सफाइ गर्न थालिएको छ । बर्खाको समयमा सडकको दायाँबायाँ झाडी बढ्दै जाँदा वन्यजन्तु लुकेर बस्ने र सवारीसाधन तथा यात्रुमाथि आक्रमण गर्नसक्ने, दुर्घटनाको जोखिम बढ्ने भएकाले सडक छेउको झाडी फँडानी गर्न थालिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार निकुञ्ज, स्थानीय तह र सडक डिभिजन कार्यालयबीचको समन्वयमा सडक डिभिजनले आजदेखि झाडी सफाइको काम सुरु गरेको हो । निकुञ्जको कसरा चोकबाट रिउखोलासम्मको सडक क्षेत्रमा झाडी सफाइ गरिने उनले जानकारी दिए।
‘सडक छेउछाउमा वन्यजन्तु लुकेर बस्न सक्ने भएकाले यात्रुको सुरक्षालाई ध्यानमा राखेर झाडी फँडानी गर्न अनुमति दिइएको हो’, उनले भने । निकुञ्जभित्रका वन्यजन्तु तथा मुख्य वनस्पतिमा असर नपर्ने गरी आवश्यक क्षेत्रको मात्र झाडी फँडानी गर्न अनुमति दिइएको थापामगरले बताए। सडक डिभिजन कार्यालयले झाडी सफाइसँगै सडकमा रहेका खाल्डाखुल्डी पुर्ने तथा आवश्यक मर्मतसम्भारको कामसमेत सुरु गरेको छ ।
माडी आवतजावत गर्ने मुख्य सडकका रूपमा रहेको उक्त सडकमा वर्षायाममा सडक छेउछाउमा झाडी बढ्ने गरेकाले सवारी चालकलाई वन्यजन्तु देख्न कठिन हुने गरेको छ । झाडी सफाइपछि सडकको दृश्यता बढ्नुका साथै वन्यजन्तु र यात्रु दुवैको सुरक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4