News Summary
Generated by OK AI. Editorially reviewed.- अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को निलम्बनका कारण एन्फाबाट स्रोत नआउँदा देशभरका फुटबल एकेडेमी सञ्चालनमा कठिनाइ उत्पन्न भएको छ ।
- एकेडेमीमा आश्रित सय बढी बालबालिकाको खानपिन, शिक्षा र स्वास्थ्य उपचारसमेत प्रभावित भएको सम्बन्धित सञ्चालकहरूले जानकारी गराएका छन् ।
- एन्फा प्रवक्ता सुरेश शाहले आर्थिक अभावका कारण खेलाडीको नियमित डाइट र आवश्यक सुविधा उपलब्ध गराउन नसकिएको कुरा स्वीकार गरेका छन् ।
२५ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट निलम्बनमा परेसँगै नेपाली फुटबल अहिले शून्य अवस्थामा छ । फुटबल गतिविधि रोकिएका मात्र छैनन् त्यसमा आश्रित व्यक्तिहरूसमेत प्रभावित भएका छन् ।
फिफाको ‘गोल प्रोजेक्ट’ अन्तर्गत नेपालका चार स्थानमा फुटबल एकेडेमी सञ्चालनमा छन् । एन्फा निलम्बनमा पर्दा त्यहाँ रहेका सय बढी बालबालिका बिचल्लीमा पर्ने अवस्थामा पुगेका हुन् ।
‘चना अन्डा खाएर प्रशिक्षणमा जानुपर्ने विद्यार्थी अहिले चिया र बिस्कुट खाएर बस्नुपरेको छ । स्कुल फिदेखि किराना पसलसम्म क्रेडिटमा चलिरहेका छौं,’ एकेडेमीका एक कर्मचारीले भने ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालमा रहेको एकेडेमीमा २१ जना छन् । यहाँका बालबालिका यसअघि मकवानपुरको सिस्नेरीमा थिए ।
तर, दुई वर्षअघि गएको बाढी पहिरोमा परी ६ जना खेलाडीको ज्यान गएपछि उनीहरूलाई हेटौंडा लगिएको थियो । त्यहाँबाट केही समयपछि सातदोबाटोमा ल्याइएको हो ।
त्यहाँ एन्फाबाट स्रोत नआउँदा अहिले उनीहरूको खानपिन र पढाइलेखाइमा समस्या आउन थालेको छ । खेलाडीलाई दिनुपर्ने आवश्यक वस्तुहरू दिन नसकेको एन्फा प्रवक्ता सुरेश शाह स्वीकार गर्छन् ।
‘खेलाडीहरूको जुन नियमित रुटिन हुन्छ नि, जस्तो डाइट, खाना, यो सबै कुराहरू चाहिँ सधैँको अवस्था जस्तो छैन । केही कुराहरूमा समस्या छ । तापनि अहिले हामी चलाइरहेकै छौँ,’ उनी भन्छन् । ललितपुरमा मात्रै एकेडेमी सञ्चालनमा हप्तामा करिब दुई लाख खर्च हुने गरेको र निलम्बनका कारण पैसा पठाउन नसकिएको शाह बताउँछन् ।
ललितपुरमात्र होइन, अन्य ठाउँका एकेडेमीको अवस्था पनि उस्तै छ । बुटवलको एकेडेमीका ३० जना विद्यार्थी, दुई प्रशिक्षक र ४/५ जना कर्मचारी छन् । उक्त एकेडेमीका कार्यवाहक निर्देशक शंकर मल्ल ऋण लिएर एकेडेमी चलाइरहेको बताउँछन् ।
‘स्कुलहरूले पनि अब दशैँ अगाडि पैसा चाहिन्छ भन्छन् । किराना पसलमा पनि ३ महिना नाघ्यो । अब उनीहरूले पनि दिन्नन् । समस्या ठूलो छ, के गर्ने । बच्चाहरू सधैँ बिरामी भइरहेका छन्,’ उनी भन्छन्, ‘कर्मचारीहरूले पनि तलब नपाएर उनीहरूले पनि गुनासो गरिरहेका छन् ।’

अभाव भए पनि विद्यार्थीको आवश्यकता पूरा गरिरहेको मल्लको दाबी छ ।
उनी भन्छन्, ‘ट्रेनिङ त सुचारु छ । स्कुल पनि गइरहेका छन् । हामीले केही कुरामा कमी गरेका छैनौँ । पहिला जे छ त्यही छ । बच्चाहरूलाई समस्या चाहिँ हामीले देखाएका छैनौँ, जे छ हामी अब पदमा बसेकोले कसरी हुन्छ मिलाइरहेका छौँ ।’
भदौंसम्म पनि समस्या समाधान नभए थप ठूलो समस्या उनले मल्लको अनुमान छ । ‘एन्फामा फोन गर्दा अहिलेलाई केही छैन, चलाउनुहोस्, तपाईंहरूको पेन्डिङ बिल निलम्बन खुलेको दिन पाउनुहुन्छ भन्नुहुन्छ,’ उनी भन्छन् ।
२९ जना बालबालिका रहेको रौतहटको एकेडेमीको अवस्था पनि उस्तै छ । एन्फाबाट पैसा नआउँदा आफ्नै नाममा ऋण लिएर एकेडेमी चलाउन सञ्चालकहरू बाध्य छन् ।
एकेडेमीका संयोजक भगवान दर्लामी पनि क्रेडिटमै एकेडेमी चलाइरहेको बताउँछन् । ‘सबै क्रेडिटमा छ । आफ्नै नाममा बजारमा पैसा दिन्छौं भनेर चलाइराखेका छौं,’ उनी भन्छन्, ‘अब सरकारले जति चाँडो खोल्दिन सक्यो । बच्चाहरूले पाउने सेवा सुविधाहरू लगायत सम्पूर्ण कुराहरू चाँडै पाइन्थ्यो । र फुटबलले केही गति लिन्थ्यो भन्ने हो ।’
धरान एकेडेमीका अध्यक्ष किशोर राईकाअनुसार अन्य तीन एकेडेमीको जस्तो समस्या धरानमा छैन । स्थानीय रुपमा साझेदारीका कारण ३० खेलाडी रहेको एकेडेमी सञ्चालनमा अठ्यारो नपरेको राई बताउँछन् ।
‘हाम्रो त अब नगरपालिकाले नियमित बजेट छुट्याउँछ । प्रदेशतिर पनि अलिअलि पैसा छुट्याउँछ त्यसपछि सहयोगी दाताहरू छन् । सबैसँग अलि–अलि गरेर चलाइरहेका छौं,’ उनी भन्छन्, ‘एन्फाले यो थोरै पैसा हामीलाई एउटा साझेदारीमा दिइरहेको छ ।’
‘सरकारले केही गतिविधि नगर्नू भनेको छ’
एकेडेमीमा स्रोत व्यवस्थापन गर्दै आएको एन्फा भने सरकारले गतिविधि गर्न रोक लगाएको भन्दै तर्किन्छ । एन्फाका प्रवक्ता शाह निलम्बनका कारण एकेडेमीलाई सहयोग गर्न नसकेको बताउँछन् । दुई–तीन महिनादेखि एकेडेमीलाई पैसा पनि दिन नसकेको उनको भनाइ छ ।
‘एन्फाले पठाउनुपर्ने पैसालगायत सबै बन्द भएपछि पठाउने कुरा पनि भएन । हामीलाई फेरि कुनै पनि काम नगर्नु भनिरहेको छ सरकारले,’ उनी भन्छन् ।
एकेडेमी सञ्चालनमा सरकारले गम्भीर रुपमा ध्यान दिनुपर्ने एन्फा केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामा बताउँछन् ।
‘यसमा सरकारले गम्भीर रुपमा सोच्नुपर्यो । खेलाडी भोको हुनु भएन । जिम्मेवारी लिएपछि दायित्व पूरा गर्नुपर्छ । प्रधानमन्त्री र खेलकुदमन्त्रीलाई यहि छ मेरो प्रश्न,’ उनले भने ।
प्रतिक्रिया 4