+

इन्जिनियर स्वस्तिमाको सिनेमामा हस्तक्षेप

आर्किटेक्चर पढेकी स्वस्तिमा खड्का आंशिक पेशा बनाएर रजतपटमा आएकी थिइन्। तर ‘बुलबुल’ देखि ‘लालीबजार’ को यात्राले उनलाई नेपाली चलचित्र उद्योगको ‘लिडर’ बनायो। ११ वर्षको करिअरमा ‘कमर्सियल’ र ‘आर्टहाउस’ दुवै धारमा सशक्त देखिएकी उनले दुईपटक राष्ट्रिय पुरस्कार जितेकी छन्। नेपाली फिल्म उद्योगमा पुरुष र महिला कलाकार बीचको समान पारिश्रमिक बहसलाई उनले नेतृत्व दिएकी छन्। 
पूरा सूची
Shares
स्वस्तिमा खड्का
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री स्वस्तिमा खड्काले ११ वर्षको अभिनय यात्रामा व्यावसायिक र कलात्मक गरी २१ वटा सफल फिल्ममार्फत नेपाली सिनेमा उद्योगमा आफ्नो बलियो उपस्थिति जनाएकी छन्।
  • आर्किटेक्चर इन्जिनियरिङको पढाइ छाडेर अभिनयमा लागेकी उनले बुलबुल र दिमाग खराबजस्ता फिल्मबाट राष्ट्रिय अवार्डसहित दर्शकको मन जित्न सफल भएकी छन्।
  • नेपाली फिल्म क्षेत्रमा समान पारिश्रमिकको बहस सुरु गरेकी स्वस्तिमाले अब निर्माण क्षेत्रमा समेत प्रवेश गर्दै कलाप्रति इमानदार रहन नयाँ पुस्तालाई सुझाव दिएकी छन्।

११ वर्षअघि डेब्यू फिल्म ‘होस्टल रिटर्न्स’ को वर्कसपमा भेट्दा १९ वर्षीया स्वस्तिमा खड्काको आँखामा अभिनयको हुटहुटी र कौतूहल स्पष्टै देखिन्थ्यो।

जब फिल्म रिलिज भयो, उनी पहिलो फिल्मबाटै एउटा ‘स्टार’ का रूपमा उदाइन्। त्यसयता घरेलु सिनेमाको कथावाचन र शिल्पमा धेरै बदलाव आइसकेको छ। त्यही बदलावको आलोकमा स्वस्तिमा अहिले नेपाली सिनेमा उद्योगकी सर्वाधिक माग भएकी अभिनेत्रीमध्ये एक हुन्।

होस्टल रिटर्न्स’ देखि ‘लालीबजार’ सम्म आइपुग्दा स्वस्तिमाले अभिनय मात्र होइन, फिल्म निर्माण र सामाजिक हस्तक्षेपको पाटोबाट पनि आफूलाई स्थापित गर्दै लगेकी छन्। कमर्सियल (व्यावसायिक) र आर्टहाउस (कलात्मक) दुवै धारका फिल्मलाई काँधमा हालेर सन्तुलित रूपमा अघि बढ्न सक्नु उनको सबैभन्दा ठूलो खुबी हो।

एकातिर उनले समाजलाई नजिकबाट परख गर्ने ‘बुलबुल’, ‘चिसो मान्छे’ र ‘दिमाग खराब’ जस्ता फिल्ममा काम गरिन् भने अर्कोतिर ‘छक्कापञ्जा’ का शृंखला, ‘नाइँ नभन्नु ल ५’, ‘भष्मे डन’, ‘हरिबहादुरको जुत्ता’ र ‘लालीबजार’ जस्ता व्यावसायिक रूपमा सफल फिल्ममा पनि उत्तिकै अब्बल दरिइन्।

११ वर्षको फिल्म करिअरमा उनले कुल २१ फिल्ममा काम गरिन्, जुन या त बक्स अफिसमा हिट छन्, या समीक्षकले रुचाएका मध्ये पर्छन्।

आर्किटेक्ट’ बन्ने रहर, यात्रा अभिनयमा

सैनिक परिवारको पृष्ठभूमिकी स्वस्तिमाको बाल्यकाल सैनिक परिवेशमै बित्यो। सैनिक आवासीय महाविद्यालयको होस्टलमा बसेर पढेकी उनी ‘ठूलो भएर डाक्टर वा पाइलट बन्नुपर्छ’ भन्ने सामाजिक अपेक्षा बीच हुर्किएकी थिइन्। कुनै समय उनलाई एयर होस्टेस बन्ने धोको पनि थियो।

तर, जब उनले टिभीमा मदनकृष्ण र हरिवंश (महजोडी) का शृंखला हेर्न थालिन् र उनीहरूले प्रस्तुत गरेका चरित्रलाई आफैंमा महसुस गर्न थालिन्, त्यही बिन्दुबाट उनको अन्तर्मनमा अभिनयको पालुवा पलायो।

थापाथली क्याम्पसबाट आर्किटेक्चर इन्जिनियरिङमा स्नातक गरेकी स्वस्तिमा शुरुमा अभिनयलाई आंशिक मात्र बनाउन चाहन्थिन्। स्थायी जागिर इन्जिनियरिङकै होस् भन्ने सोच थियो‘, उनी सम्झिन्छिन्।

डेब्यू फिल्म ‘होस्टल रिटर्न्स’ र दोस्रो फिल्म ‘लभ लभ लभ’ गर्दासम्म उनको यो सोच कायमै थियो। तर, जब उनले ब्लकबस्टर ‘छक्कापञ्जा २’ (२०७४) मा काम गरिन्, उनको सोच पूर्णतः बदलियो। त्यसपछि उनले अभिनयलाई नै स्थायी पेशा बनाएर अघि बढ्ने निधो गरिन्। समयले उनलाई यस्तो दिशातिर तान्यो कि उनी देशकै शीर्ष अभिनेत्रीको पंक्तिमा उभिइन्।

भुइँमान्छेका गहिरा चरित्रहरू

लालीबजार’ की मधुवाला हुन् या ‘चिसो मान्छे’ की पुष्पा, वा ‘बुलबुल’ की रणकला। स्वस्तिमाले पर्दामा बाँचेका यी गहिरा चरित्रहरू नेपाली सिनेमाको ‘आर्काइभ’ मा सधैं रहनेछन्।

बुलबुल’ मा टेम्पो चालक रणकलाको भूमिका निर्वाह गरेबापत उनले एक साताको अन्तरमै कोलम्बोमा आयोजित ‘सार्क फिल्म फेस्टिभल’ मा सर्वश्रेष्ठ अभिनेत्री र नेपालको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ जितिन्। त्यस्तै, ‘दिमाग खराब’ बाट उनले सर्वश्रेष्ठ अभिनेत्री विधामा पुनः राष्ट्रिय चलचित्र अवार्ड प्राप्त गरिन्।

विशेषगरी, हालै प्रदर्शनमा आएको ‘लालीबजार’ उनको करिअरको सबैभन्दा ठूलो सोलो हिटफिल्म हो। करिब १० करोड रुपैयाँ हाराहारी कमाइ गरेको यो फिल्मले नेपाली समाजको दबाइएको यथार्थलाई बहसमा ल्याइदियो।

मधुवाला नामक विद्रोही आमाको चरित्र निर्वाह गरेकी स्वस्तिमाको मिहिनेतको चौतर्फी प्रशंसा भइरहेको छ।

यी क्यारेक्टरहरूले मलाई चाँडो दर्शकसँग कनेक्ट गर्न सजिलो बनायोउनी भन्छिन्, ‘बुलबुलको कुरा किन हुन्छ भने त्यो भुइँमान्छेको कथा थियो। चिसो मान्छेमा सुदूरपश्चिम गएर १० दिनजति त्यहाँका मान्छे भेटेर सिकेँ। म आर्किटेक्ट मात्रै भएको भए यो सिकाइ कहिल्यै हुने थिएन।

करिअरको यो दशकमा उनले पाएको सबैभन्दा ठूलो उपलब्धि नै यही ‘सिकाइ’ हो। एक्टर हुनेबित्तिकै समाजलाई धेरै कोणबाट हेर्न सकिन्छ। म एक्टर नभएको भए, यो अनुभव कहिल्यै भोग्न र देख्न पाउँदिनथिएँ‘, उनलाई लाग्छ। उनी हाँस्दै थप्छिन्, ‘अहिले त पढेर एक्टिङमा आउने ठाउँ छ। हाम्रो पालामा त्यस्तो थिएन। म त १० वर्षदेखि पैसा कमाउँदै सिकिरहेकी छु।

समान पारिश्रमिक र सिनेमाको शक्ति

स्वस्तिमाको व्यक्तित्व अभिनेत्रीमा मात्र सीमित छैन। नेपाली फिल्म उद्योगमा सम्भवतः पहिलो पटक पुरुष र महिला कलाकार बीचको समान पारिश्रमिकको बहस उनैले शुरु गरिन्। उनले छेडेको यो बहसमा अहिले घरेलु फिल्मका अन्य अभिनेत्रीहरू पनि सहभागी हुँदै समान ज्यालाको आवाज उठाइरहेका छन्।

यो ठाउँमा आएर मैले ‘नो’ पनि भन्न सक्नुपर्छ। कलाकार बन्ने सपना बोकेर आएको केटी मान्छेलाई मैले सजिलो बनाइदिनुपर्छस्वस्तिमा दृढतापूर्वक भन्छिन्, ‘मैले नोभन्दा आउने पिंढीलाई पनि ‘नो’ भन्न सजिलो होला भनेर यो बाटो रोजेकी हुँ।

स्टारडमको यो उचाइमा आइपुग्दा उनलाई दर्शकको माया, अवार्ड र बक्स अफिसको कमाइ मात्र पर्याप्त लाग्दैन। फिल्म राम्रो चलेको छ तर क्रिटिकल्ली प्रशंसा भएको छैन भने हुँदैनउनी भन्छिन्, ‘राम्रो क्रिएटिभ टिमसँग काम गरेर अर्थपूर्ण नतिजा ल्याउन सकियो भने त्यसले मलाई वास्तविक खुशी दिन्छ।

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘दिमाग खराब’ ले सिनेमाको शक्ति कतिसम्म हुन्छ भन्ने कुरा उनलाई महसुस गरायो। युवा नेतृत्व र हस्तक्षेपको कथावस्तुमा आधारित उक्त फिल्मको रिलिजसँगै फागुन २१ को संसदीय चुनावको माहोल तातिएको थियो। कतिपय नेताले त नाइट बसमा फिल्म देखाएर दर्शकको दिमाग भुटेकोभन्दै आलोचना नै गरे।

हामी खाली पानाबाट सुरुआत गर्छौं, तर त्यसले मान्छेलाई रुवाउँछ र हँसाउँछ पनिसिनेमाको प्रभावबारे उनी भन्छिन्, ‘तपाईंले मान्छेलाई नभेटीकनै सकारात्मक रूपमा उनीहरूको विचार परिवर्तन गर्न सक्नुहुन्छ भने सिनेमाको शक्ति कति पावरफुल होला! दिमाग खराबले त चुनावको नतिजामै प्रभाव पार्‍यो भन्ने कुरा आयो। फिल्म बनाउने यो प्रक्रियाले मलाई एकदम उत्साहित बनाइरहेको छ।

गत वर्ष ‘बेहुली फ्रम मेघौली’ फिल्मबाट उनी निर्माणमा समेत होमिएकी छिन्। भविष्यमा पनि समाजको ध्यान नपुगेको तर महत्त्वपूर्ण हिस्सा ओगटेका चुनौतीपूर्ण चरित्रहरू पर्दामा बाँच्ने उनको रहर छ।

नयाँ पुस्तालाई उनको एउटै सुझाव छ- आउन त आउनुस्, तर इमानदार बन्न नछाड्नुस्। सबै कुरा हुँदाहुँदै पनि कलाप्रति इमानदारी चाहिं चाहिन्छ।

लेखक
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।