+

संरचना बिना ‘क्रेज’ मा रमाइरहेको नेपाली भलिबल

२०८३ साउन  २५ गते २१:५१ २०८३ साउन २५ गते २१:५१

विडम्बना भलिबलको आफ्नै कभर्डहल छैन, हेर्न लायक कार्यालय छैन । राष्ट्रिय खेल भएबापत सरकारले विशेष त्यस्तो कुनै व्यवस्था गरेको छैन ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको राष्ट्रिय खेल भलिबलको संरचनागत विकास नहुँदा खेलले अपेक्षा अनुसारको उपलब्धि हासिल गर्न नसकेको सरोकारवालाहरू बताउँछन्।
  • ग्रासरुटदेखि नै खेलाडीको पहिचान, तालिम र एकेडेमीमार्फत व्यावसायिक विकास गर्न नेपाल भलिबल संघको अग्रसरता आवश्यक छ।
  • संघले चुस्त प्रशासनिक व्यवस्था, क्लब संरचनाको सुदृढीकरण र नियमित अन्तर्राष्ट्रिय सहभागिताका लागि योजनावद्ध काम गर्नुपर्ने देखिएको छ।

भलिबल नेपालको राष्ट्रिय खेल हो । नेपालको ७७ वटै जिल्लामा जिल्ला संघ र सातै प्रदेशमा प्रदेश संघ छ । नेपालको भौगोलिक बनावट सुहाउँदो खेल्न सहज खेल पनि हो । सम्भवत: नेपालभर यति धेरै फैलिएको, हरेक गाउँ हरेक स्कुलमा खेलिने खेल भलिबल नै हो ।

स्थानिय स्तरदेखि राष्ट्रिय स्तरसम्म पनि भलिबलको अनेकौं प्रतियोगिताहरू आयोजना हुँदै आएका छन् । महिला भलिबलको दुई संस्करण फ्रेन्चाइज लिग आयोजना भइसकेको छ भने पुरुष भलिबलको पनि फ्रेन्चाइज लिग हुने तयारीमा छ । भलिबल विस्तारै व्यावसायिक हुने प्रयासमा लागिरहेको पनि छ । खेलाडीले खेलेर केही रकम आर्जन गर्न थालेका छन् ।

नेपाल भलिबल संघले पनि हरेक वर्ष एनभीए च्याम्पियनसिप र एनभीए लिग (महिला र पुरुष दुवै) को ठूला प्रतियोगिताहरू आयोजना गर्दै आएको छ । उमेर समुहको प्रतियोगिताको निरन्तरता छैन ।

नेपालले सेन्ट्रल एसियाको प्रतियोगिता पनि खेल्दै आएको छ । कुनै समय भलिबलको एसियन च्याम्पियनसिप खेलेपनि पछिल्लो समय भने नेपाली टिम त्यसमा छनोट हुन सकेको छैन ।

पछिल्लो पटक नेपालको महिला र पुरुष दुवै टोलीले १९औं एसियन गेम्स खेलेको थियो । अन्तर्राष्ट्रिय रुपमा पनि नेपाली भलिबलको राम्रै चर्चा छ । महिला टोली जापानमा २०औ एसियन गेम्स खेल्ने तयारीमा छ ।

तर विडम्बना भलिबलको आफ्नै कभर्डहल छैन, हेर्न लायक कार्यालय छैन । राष्ट्रिय खेल भएबापत सरकारले विशेष त्यस्तो कुनै व्यवस्था गरेको छैन । (पीएम कप एनभीए लिगमा सरकारले सहयोग गरेको छ) भलिबलको पर्मानेन्ट कुनै प्रायोजक छैन । महिला टोलीको जर्सीमा एक कम्पनीले प्रायोजन गरेपनि पुरुष टोलीको जर्सीमा प्रायोजन छैन ।

काभाको प्रतियोगिताहरू खेल्दै आएपनि नेपालको पुरुष र महिला भलिबल टोलीले एसियन लेभलमा अझै आफ्नै स्थान बनाउन सकेको छैन ।

भलिबलको सिनियर टिम मात्र नभएर विभिन्न उमेर समूहका जुनियर टिम देखि बिच भलिबल पनि अन्तर्राष्ट्रिय स्तरमा नियमित आयोजना हुने गर्छ । तर नेपालको सिनियर टिम र केही फाट्टफुट्ट जुनियर टिम बाहेक अरुले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउँदैन । सिनियर टोलीलाई पनि अन्तर्राष्ट्रिय स्तरमा सहभागिता हुन ठूलै चुनौती छ ।

अर्को महत्वपूर्ण कुरा भनेको नेपालको पुरुष र महिला दुवै टिम केही समयअघिसम्म एफआईभिबीको विश्व वरियतामा समावेश थिएन । घरेलु कोर्टमा भएको काभा महिला च्याम्पियनसिप र पाकिस्तानमा केही समयअघि भएको काभा पुरुष च्याम्पियनसिपपछि मात्रै नेपाली भलिबल टोली विश्व वरियतामा समावेश भएको छ ।

नेपालसँगै काभामा खेल्ने इरान, भारत, उज्वेकिस्तान, काजखस्तान, कीर्गिस्तान जस्ता राष्ट्र वरियतामा नियमित समावेश भइरहेको छ । यसअघि नेपालले एसियन स्तरमा खेल्न नसक्दा र काभाको पनि वरियता प्राप्त प्रतियोगिता नखेल्दा वरियतामा समावेश थिएन ।

राष्ट्रिय खेल, हरेक ठाउँमा खेल्न सकिने, ठूलो सम्भावना भएको र राम्रो चर्चा पाउन सक्ने भएपनि नेपाली भलिबलको संरचनागत विकास हुन नसक्दा भलिबलले अपेक्षा अनुसार उपलब्धी हासिल गर्न सकेको छैन । त्यसका विविध कारण छन् । जसले गर्दा भलिबलको विकास हुन सकेको छैन ।

यदी साँच्चै नेपालको भलिबलको विकास गर्ने हो भने, प्रतियोगिता आयोजना गर्ने र सिमित लेभलमा चर्चा कमाउने विदेशी खेलाडीहरूको भरमा राष्ट्रिय प्रतियोगिता जित्नेमा मात्र सिमित हुनुहुँदैन । यसलाई ग्रासरुट देखि नै संरचनागत रुपमा विकास गर्नुपर्छ र नेपालभित्र भएका प्रतिभावाना खेलाडीहरूको पहिचान गर्दै अगाडि ल्यानुउपर्छ । नियमित रुपमा अन्तर्राष्ट्रिय सहभागिता हुनुपर्छ ।

प्रशासनिक सुधार

अहिले नेपाली भलिबलमा ठूलो अवसर छ र चुनौती पनि उत्तिकै छ । क्रेजी दर्शकको उत्साह, व्यावसायिक रुची बढिरहेको छ भने अर्कोतिर पूर्वाधारको कमी, खेलाडीहरूको पलायन, प्राविधिक जनशक्ति अभाव र संस्थागत रुपमा पनि कमी-कमजोरीहरू छन् । यी विषयमा नेपाल भलिबल संघले गहन ढंगले सोच्नुपर्ने आवश्यकता छ भने योजनावद्ध ढंगले काम गर्नुपर्नेछ ।

त्यसअघि अर्को महत्वपूर्ण विषय भनेको नेपाल भलिबल संघको केन्द्रिय कार्यसमिति देखि प्रदेश र जिल्ला कार्यसमिति समेत एक्टिभ भएर लाग्नुपर्छ । नेपाल भलिबल संघ अन्तर्गत रहेको विद्यालय भलिबल कमिसनले पनि जिम्मेवार भएको आफ्नो काम गर्नुपर्छ ।

अहिले नेपाल भलिबल संघको कार्यसमितिमा ४० भन्दा पदाधिकारी सदस्यहरू छन् । जसमा उपाध्यक्ष ९ र सचिव मात्रै ७ जना छन् । दुवै पदमा हरेक प्रदेशबाट १-१ जना छुट्याएर राखिएपनि काम भने त्यो अनुसार गर्न सकेको छैन ।

भलिबल संघका अध्यक्ष जितेन्द्र चन्द

यस्तै जम्बो कार्यसमितिमा काम गर्ने व्यक्ति भने जम्मा औँलामा गन्न सकिने खालका छन् । भलिबल जस्तो राष्ट्रिय खेल बनिसकेको संघमा काम गर्नका लागि सिइओ लगायत कमर्चारी आवश्यक भएपनि त्यो व्यवस्था गर्न सकेको छैन ।

संघमा हुँदा भोलेन्टियर काम गर्ने भन्ने र ठाउँ ओगेटेर केही काम नगर्ने प्रवृत्ति पनि देखिएको छ ।

भलिबलको हरेक जिल्ला र प्रदेशमा संघ भएपनि उनीहरू नाममा मात्र सिमित छन् कुनै काम गरेको देखिँदैन । यदी हरेक जिल्ला र प्रदेशले १-१ खेलाडी मात्रै उत्पादन गर्ने हो भने पनि राष्ट्रिय स्तरमा ७७ खेलाडी स्वत उत्पादन हुन्छन् । तिनीहरूले सही तरिकाले प्रशिक्षण गराउने हो भने राष्ट्रिय टिम तयार पार्न कुनै समस्या हुँदैन । तर जिल्ला संघ देखि प्रदेशको पदाधिकारीले के गरिरहेका छन् कुनै अत्तोपत्तो छैन ।

ग्रासरुट भलिबलको विकास

यदि भलिबललाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा साँच्चै विकास गर्ने हो भने ग्रासरुट देखि नै ध्यान दिनुपर्छ । स्थानिय तहमा विद्यालयस्तर देखि भलिबल खेल खेलिन्छ । जिल्ला स्तरमा, प्रदेश स्तरमा विभिन्न प्रतियोगिता हुँदै आएका छन् । यस्तै राष्ट्रपति रनिङ शिल्डमा पनि भलिबल समावेश छ र स्थानिय स्तरदेखि नै राष्ट्रिय स्तरसम्म प्रतियोगिता हुन्छन् । तर त्यसमध्ये कतिले निरन्तरता दिन्छन् र राष्ट्रिय स्तरसम्म पुग्छन् भन्ने कुनै टुङ्गो हुँदैछ । यसमा जिल्ला संघले ध्यान दिनुपर्छ । स्थानिय स्तर देखि राष्ट्रपति रनिङ शिल्डसम्म खेल्ने खेलाडीको पहिचान गरी उनीहरूलाई एउटा संरचनामा ल्याएर व्यवस्थापन गर्नुपर्छ ।

यसमा नेपाल भलिबल संघले पनि अग्रसरता लिनुपर्छ । विद्यालय कमिसनलाई एक्टिभ बनाउनुपर्छ । शहरका विद्यालय मात्र नभएर गाउँ गाउँका विद्यालयबाट ट्यालेन्टहरूको खोजी गर्न सकिन्छ । देशैभरबाट छानिएर आएका खेलाडीहरूलाई विभिन्न स्कुल कलेजहरूमा स्कलरसिप दिएर खेल र पढाई दुवैलाई सँगै अघि बढाउन सहयोग गर्न सकिन्छ । भलिबल संघ आफैँले पनि एकेडेमीको कन्सेप्टमा जानु आवश्यकता देखिएको छ । एकेडेमीमा बसेर विभिन्न स्कुलमा कलेजमा अध्ययन गर्ने र भलिबल पनि खेल्ने वातावरण तयार गर्नुपर्छ ।

स्थानिय तहर जिल्लामा सम्भव नभएपनि भलिबल संघले हरेक प्रदेश संघसँग मिलेर कम्तीमा सात प्रदेशमा एकेडेमी स्थापना गरेर खेलाडीहरू उत्पादन गर्न सक्छ ।

युवा प्रतिभाको विकासमा लगानी नगरी कुनै पनि खेलको विकास हुन सक्दैन र भविष्य सुरक्षित हुँदैन । त्यसैले भलिबल संघले विभिन्न विद्यालय देखि निजी क्षेत्रहरूसँग साझेदार गर्दै ग्रासरुट प्रोग्राम, ट्यालेन्ट हन्ट प्रोग्राम र ट्रेनिङ क्याम्पहरू आयोजना गर्दै नयाँ प्रतिभाको खोजी गर्नुपर्नेछ । नेपाल भलिबल संघले पनि सरकार र निजी क्षेत्रसँग सहकार्य गरेर आफ्नै एउटा छुट्टै एकेडेमी सञ्चालन गर्दै खेलाडी उत्सादनमा ध्यान दिनुपर्छ । यसले ट्यालेन्टेड खेलाडीहरूको पुल तयार पार्छ र राष्ट्रिय टोलीको लागि आधार तयार पार्दै दीर्घकालिन रुपमा फाइदा गर्छ ।

क्लब संरचनाको विकास

नेपाल भलिबल संघले अहिले आफ्नो फ्ल्यागसिप इभेन्टको रुपमा एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप र पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग गरी दुई प्रतियोगिता आयोजना गर्दै आएको छ ।

एनभीए च्याम्पियनसिपमा विभागीय क्लब देखि काठमाडौंको क्लब र काठमाडौं बाहिरका विभिन्न स्थानबाट प्रदेशको टोली देखि स्थानिय क्लब टोलीहरू समेत सहभागी हुन्छन् । यो खुला प्रतियोगिता भएकोले धेरै टोली सहभागि हुन्छन् ।

एनभीए लिगका लागि यो प्रतियोगिता छनोटको रुपमा रहँदै आएको छ । एनभीए च्याम्पियनसिपबाट उत्कृष्ट ८ पुरुष र उत्कृष्ट ६ महिला टोली एनभीए लिगमा छनोट हुनेछन् । एनभीए लिगमा सबैले सबै टिमसँग खेल्नेछन् र शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

तर दुई महत्वपूर्ण प्रतियोगिता हुँदा पनि भलिबलको क्लब संरचना अझै विकास हुन सकेको छैन । उपत्यकामा जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, ढोरपाटन भलिबल क्लब, न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब, र मोफसलमा एभरेष्ट भलिबल क्लब (महिला), हेल्प नेपाल स्पोर्ट्स क्लबको रुपमा रहेपनि राष्ट्रिय प्रतियोगिता खेल्ने अन्य टिमहरू क्लबको संरचना छैनन् ।

अहिले धेरै क्लबहरू प्रतियोगिता केन्द्रित संरचनामा सीमित छन् । प्रतियोगिता हुने भएपनि स्थानिय र विदेशी खेलाडी (खर्चले धानेमा) खोजेर टिम तयार पारिन्छ र प्रतियोगिता सकिएपछि काम सकिन्छ । धेरैजसो क्लब प्रतियोगिता आउँदा मात्र एक्टिभ हुन्छ । यो मोडलले दीर्घकालीन रुपमा खेलाडी उत्पादन गर्न सक्दैन । प्रत्येक क्लब कानुनी रूपमा दर्ता भएको संस्था, स्पष्ट व्यवस्थापन संरचना, वार्षिक योजना, युवा एकेडेमी, महिला तथा पुरुष टोली, र वित्तीय पारदर्शितासहित सञ्चालन हुनुपर्छ । क्लबहरू केवल प्रतियोगिता खेल्ने मात्र होइन, भविष्यका खेलाडी उत्पादन गर्ने विकास केन्द्र बन्नुपर्छ ।

प्रतियोगिताको स्पष्ट पिरामिड

नेपालमा अहिले भलिबल संघले गर्नेदेखि अन्य विभिन्न संस्थाहरूले भलिबलको प्रतियोगिता आयोजना गर्छन् । भलिबल चर्चित र राष्ट्रिय खेल भएकोले पनि धेरैले प्रतियोगिता आयोजना गर्छन् तर त्यसले संरचनागत विकासमा कुनै टेवा पुर्‍याएको छैन ।

भलिबल प्रतियोगिताको स्पष्ट पिरामिड निर्माण गर्नु महत्वपूर्ण पक्ष हो । भलिबल संघले आयोजना गर्ने एनभीए च्याम्पियनसिप र एनभीए लिगलाई केन्द्रको मुख्य प्रतियोगिताको रुपमा स्थापित गरेर तल्लो तहदेखि नै प्रतियोगिताहरू आयोजना गर्नुपर्छ ।

ग्रासरुटमा विद्यालय स्तरमै प्रतियोगिता हुनुपर्छ । त्यसपछि जिल्ला र प्रदेश भित्र प्रतियोगिता आयोजना गर्ने, प्रदेश स्तरको प्रतियोगिता गर्दै राष्ट्रिय स्तरमा खेल्ने क्लबहरूको छनोट गर्नुपर्छ ।

नेपालभरका विद्यालयलाई केन्द्रित गर्दै विद्यालय च्याम्पियनसिप गर्ने र त्यसबाट आएका खेलाडीहरूबाट उमेर समूहको टिम तयार पार्न सकिन्छ । प्रदेश स्तरमा उमेर समूहको राष्ट्रिय प्रतियोगिता गर्न सकिन्छ ।

ग्रासरुट देखि नै केन्द्रित हुँदै उमेर समूहमा यू-१६ र यू-१९ लेभलको राष्ट्रिय प्रतियोगिता गर्ने र त्यसबाट उत्कृष्ट टोली छनोट गरेर अन्तर्राष्ट्रिय स्तरमा पनि उमेर समूहमा प्रतिस्पर्धा गर्न सकिन्छ । यसो गर्न सके राष्ट्रिय टिमको ब्याकअफ पनि तयार हुन्छ र टिम बलियो बन्छ ।

यो शैलीमा अघि बढेका प्रतिभावना खेलाडीहरूले विभिन्न स्तरमा खेल्दै राष्ट्रिय स्तरसम्म पुग्छन् । उदाहरणका लागि आज कुनै गाउँको विद्यालयमा खेलिरहेको ट्यालेन्ट भोली राष्ट्रिय टिमसम्म पुग्न सक्छ ।

यस बाहेक निजी क्षेत्रसँगको सहकार्यमा महिला र पुरुष दुवैको फ्रेन्चाइज लिगलाई निरन्तर आयोजना गर्नुपर्छ । जसबाट खेलाडीहरूले व्यावसायिक रुपमा खेल्दै आर्थिक आर्जन समेत गर्न पाउँछन् भने भलिबललाई पनि व्यावसायिक रुपमा अघि बढाउन सकिन्छ ।

उमेर समूहको टिम

अहिले नेपालको पुरुष र महिलाको सिनियर टिम मात्र छन् । बेला बेला त्यही टिमका खेलाडीहरू अन्तर्राष्ट्रिय बिच भलिबल पनि खेल्न जाने गरेका छन् । तर बिच भलिबलको छुट्टै टिम छैन ।

यस्तै उमेर समूहमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा नियमित खेल्न सकेको छैन । काभाको यू२० पुरुष र महिला प्रतियोगिता बाहेक नेपालले अन्य उमेर समूहको प्रतियोगिता खेल्न सकेको छैन ।

अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्न र उपलब्धी हासिल गर्न नेपालले उमेर समूहको टिम बनाएर अन्तर्राष्ट्रिय स्तरमा पनि नियमित उमेर समूहको प्रतियोगिता खेल्नुपर्छ । जसले गर्दा युवा खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव र एक्सपोजर पाउँछन् र राष्ट्रिय टिमसम्म पुग्दा धेरै सुधार गर्न सक्छन् । उमेर समूहको प्रतियोगिता नियमित भएमा राष्ट्रिय टिम छनोट गर्नका लागि कुनै कठिनाई हैन ।

क्लबहरूको संरचना विकास हुनुपर्छ । महिला र पुरुषको टोली अनिवार्य हुनुपर्छ । उमेर समूहको टिम पनि निर्माण गर्ने अवधारणाको विकास गरेमा नेपाल भलिबल संघले पनि उमेर समूहको राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै राष्ट्रिय टिम बनाउन सक्छ ।

नियमित अन्तर्राष्ट्रिय सहभागिता

नेपालको पुरुष र महिला टोलीले अहिले काभाले आयोजना गर्ने सेन्ट्रल एसिया भित्रको प्रतियोगिताहरू खेल्दै आएको छ । जसमा पुरुष र महिला सिनियर टिम, पुरुष र महिला क्लब टिम र पुरुष र महिलाको यू२० टिमले खेल्छन् । तर सबै टिमको निरन्तर सहभागि छैन ।

नेपालले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता पनि काभामै सिमित छ । नेपालले एसियन लेभलमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सकेको छैन । नेपालको भलिबलको विकासमा लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि नियमित रुपमा सहभागिता जनाउने गर्नुपर्छ ।

नेपाल (पुरुष टोली)ले सन् ८० र ९० को दशकमा एसियन च्याम्पियनसिप र एसियन गेम्समा नियमित जस्तो सहभागिता जनाउने गरेपनि अहिले त्यो इतिहास बनिसकेको छ ।

पछिल्लो समय काभाको स्थापना भएपछि नेपालले काभाकै प्रतियोगिता मात्र खेल्ने गरेको छ भने एसियन च्याम्पियनसिपमा पुग्न सकेको छैन । यसअघि नेपालको महिला टोलीले एसियन च्याम्पियनसिप खेल्ने तय भएपनि कोभिडका कारण खेल्न पाएन ।

नेपालको पुरुष टोली सन् २०१८ र २०२२ को एसियन गेम्स र महिला टोलीले २०२२ को एसियन गेम्स खेल्नु नै नेपालको सबैभन्दा ठूलो प्रतियोगिता हो । महिला टोलीले अब जापानमा हुने २०औं एसियन गेम्स पनि खेल्दैछ ।

अहिले एसियन स्तरमा सिनियर राष्ट्रिय महिला र पुरुष टोलीको एक मात्र नभएर ३-४ अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदै आएको छ । यस्तै उमेर समूहमा पनि विभिन्न समूहको एसियन लेभलको प्रतियोगिता हुने गर्छ । क्लब लेभलमा पनि एसियन स्तरमा प्रतियोगिता हुन्छ । तर नेपालको घरेलु संरचना बलियो नहुँदा नेपालले काभाकै प्रतियोगिता जित्न संघर्ष गर्नुपरेको छ ।

प्रशिक्षक, रेफ्री र प्राविधिक जनशक्ति

भलिबलको विकास गर्न खेलाडी र प्रतियोगिता मात्र भएर पुग्दैन । यससँगै जोडिएर आउने प्रशिक्षक, रेफ्री लगायत व्यवस्थापनतर्फ पनि जनशक्ति तयार पार्नुपर्छ ।

अहिले विश्वमा हरेक दिन खेलको बारेमा नयाँ नयाँ कुरा आइरहेको हुन्छ । त्यसमा अपडेट हुने खेलाडीलाई सही रुपमा सिकाउन बुझाउन सक्ने र ट्रेनिङ दिन सक्ने प्रशिक्षक, प्राविधिक जनशक्तिहरू तयार गर्नुपर्छ । यस्तै रेफ्रीहरूको पनि गुणस्तर विकास गर्नुपर्छ । अन्तर्राष्ट्रिय कोर्सहरू गर्नुपर्छ । अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभिबी र एसियन भलिबल कन्फेडेरेसन (एभिसी) को मापदण्ड अनुसार नियमित रुपमा कोचिङ कोर्स, रेफ्री कोर्सहरू देखि तथ्याङ्क विश्लेषण, स्पोर्ट्स साइन्स लगायत विषयमा तालिम दिने र अपग्रेड गर्नुपर्छ ।

प्राविधिक जनशक्तिलाई पनि चुस्त रुपमा तयार गरेर नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय प्रतियोगिताहरू पनि कोचिङ गर्न सक्ने र खेल सञ्चालन गर्न सक्ने खालको प्राविधिक नेपालले पनि उत्पादन गर्नुपर्छ । अहिले नेपालमा भएका केही अन्तर्राष्ट्रिय रेफ्रीहरूले काभा देखि एसियन गेम्ससम पुगेर खेल सञ्चालन गरिसकेका छन् । जसले गर्दा उनीहरूले पनि अन्तर्राष्ट्रिय स्तरमा भइरहेको नयाँ अभ्यास र टेक्नोलोजीहरू बुझ्न पाउनेछन् र त्यसलाई नेपालमा आएर साझा समेत गर्न सक्छन् ।

आधुनिक खेलकुद कसरी अघि बढिरहेको छ, विपक्षीहरूले कसरी तयारी गरिरहेका छन् भन्ने विषयमा जान्नु जरुरी छ । जब प्रशिक्षकहरूले वैज्ञानिक शैलीमा आधुनिक रुपमा प्रशिक्षण दिन्छन् अनी रेफ्रीहरू विश्वस्तरीय मापदण्डमा काम गर्छन्, नेपालको खेलको गुणस्तर पनि सोही अनुसार विकास हुँदै जान्छ ।

***

यस बाहेक पनि विभिन्न पक्षमा काम गर्न सकिन्छ । अहिले विस्तारै भलिबलमा ब्रोडकास्डिङ राइट्सहरू आउन थालेका छन् । जसले आर्थिक रुपमा सहयोग गरेको छ ।

आर्थिक रुपमा पनि संघ र खेल सबल हुनुपर्छ । अहिले सबै कुरा डिजिटल भइरहेको समयमा भलिबलमा पनि डिजिटल्ली सुधार गर्नुपर्छ ।

भलिबल संघ भित्र पनि विभिन्न कमी कमजोरीहरू देखिएका छन् । त्यसमा प्रशासनिक रुपमै सुधार गरेर संघ एकजुट भएर अघि बढ्नुपर्छ । संघको कार्यसमितिमा धेरे व्यक्ति बस्ने भन्दा पनि चुस्त कार्यसमिति बनाउने र संघलाई राम्रोसँग सञ्चलान गर्न सिइओ नियुक्ती गर्नुपर्छ । खेलाडी देखि प्रशिक्षकहरूलाई पनि उचित पारिश्रमिक र सम्मानले प्रोत्साहन गर्नुपर्छ ।

नेपाल भलिबल संघले आन्तरिक रुपमा चुस्त प्रशासनिक काम गर्नुपर्छ । नियमित रुपमा वार्षिक क्यालेन्डर तयार गरी त्यसलाई पालना गर्नुपर्छ । भलिबल संघले वार्षिक रुपमा विभिन्न प्रायोजकलाई आवद्ध गर्नुपर्छ । एउटा निश्चित योजना बनाएर त्यसलाई योजनावद्ध ढंगले काम गर्दै जाने हो भने नेपाली भलिबलले अन्तर्राष्ट्रिय स्तरमा छिटै ठूलो उपलब्धी हासिल गर्न सक्छ ।

नेपाली भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय